एनआईसीको कर्जाको आवेदन खल्तीबाट- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनआईसीको कर्जाको आवेदन खल्तीबाट

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया बैंकका सुपर चामत्कारिक कर्जाहरूको आवेदन खल्ती डिजिटल वालेटबाट दिन सकिने भएको छ ।

यो कर्जा योजनाअन्तर्गतका सुपर चामत्कारिक घर कर्जा, सवारी कर्जा र व्यवसाय कर्जाको आवेदन खल्तीबाट दिन सकिने व्यवस्था गरिएको हो ।

यसका लागि बैंकको मोबाइल बैंकिङ भएका ग्राहकले आफ्नो बैंक खातामा खल्तीलाई लिंक गरे असोज १४ सम्म ५० रुपैयाँ नगद उपहार प्राप्त गर्ने व्यवस्था खल्तीले गरेको छ ।

प्रकाशित : आश्विन ४, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्

‘रंगशाला नै बिरानो लाग्न थाल्यो’

‘विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित व्यायाम गर्नुपर्छ भनेका छन् । तर सरकारले चाहिँ खेलकुदको प्रशिक्षण नै रोकेर दोहोरो चरित्र देखाइरहेको छ ।’
कुशल तिमल्सिना

काठमाडौँ — घरेलु भूमिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक जितेका कराते खेलाडी मन्डेकाजी श्रेष्ठ खेल्नकै लागि रंगशाला नपुगेको ९ महिना हुन लाग्यो । मंसिर १५ देखि २४ सम्म आयोजित साग सम्पन्न भएयता खेलाडीहरू आराममा थिए । प्रशिक्षण सुरु गर्ने तयारी हुँदै गर्दा कोरोना महामारी रोक्नका लागि चैत दोस्रो सातादेखि देशभर लकडाउन भयो ।


त्यसयताका ६ महिना मन्डेकाजीसँगै सबै खेलाडीका लागि खेलमैदान बिरानो भइरहेको छ । ‘रंगशाला नै बिरानो भइसक्यो,’ कान्तिपुरसँग मन्डेकाजीले भने, ‘प्रतियोगिता हुने सम्भावना त तत्कालका लागि रहेन, प्रशिक्षणसमेत गर्न पाइएको छैन । यसले हाम्रो आत्मविश्वास घटेको छ ।’ वर्षौं लगाएर तयार पारिएका अन्तर्राष्ट्रिय खेलाडीले यति लामो समयसम्म प्रशिक्षण गर्न नपाएपछि उनीहरूको स्तर खस्कने चिन्ता सुरु भएको छ ।

कोरोना भाइरसको महामारी रोक्ने उद्देश्यले चैत ११ देखि लागू गरिएको लकडाउनसँगै निषेध गरिएकामध्ये अधिकांश क्षेत्रहरू सरकारले असोज १ देखि खुला गरेको छ । सडक यातायातदेखि हवाई सेवादेखि रेस्टुरेन्ट र होटल व्यवासाय सञ्चालन गर्ने अनुमति मिल्दा खेलकुद गतिविधि भने अझै निषेधको सूचीबाट हटाइएको छैन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ जारी गरेको आदेशमा खेलकुद गतिविधिमा मात्र होइन, अन्तर्राष्ट्रिय खेलकुदका लागि गरिने प्रशिक्षणमा समेत रोक लगाइएको उल्लेख छ । यसको अर्थ अर्को वर्ष जापानमा हुने ग्रीष्मकालीन टोकियो ओलम्पिकको छनोट प्रतियोगिताको तयारीमा रहेका खेलाडीले पनि प्रशिक्षण गर्न पाउने छैनन् । गत साउन ७ गतेदेखि देशभर लकडाउन हटाइएपछि राष्ट्रिय खेलकुद परिषद्ले खेलकुद प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । क्रिकेट र फुटबल संघले राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्न तयारी अन्तिम चरणमा पुर्‍याइसकेका थिए । ब्याडमिन्टनको प्रशिक्षण सुरु भइसकेको थियो । राजधानीमा कोरोना संक्रमितको दर गुणात्मक रूपमा बढ्न थालेपछि भदौ ३ देखि निषेधाज्ञा लागू भएको हो । त्यसयता खेल गतिविधि पुनः शून्यमा पुग्यो ।

‘मैले पहिलो लकडाउनका बेलामा पनि भनेको थिएँ र अहिले पनि भन्दैछु कि बिनाप्रशिक्षण खेलाडीले स्तरवृद्धि गर्ने त कुरै छाडौं भएको आत्मविश्वास पनि गुमाउँछ । अहिले सबै खेलाडीमा नकारात्मक असर परिरहेको छ । यस्तै अवस्था कहिलेसम्म हो थाहा छैन,’ साग स्वर्णधारी मन्डेकाजीले भने, ‘घरमा गरिने व्यायाम खेलाडीको फिटनेसलाई पनि पर्याप्त हुँदैन । प्राविधिक रूपमा आफूलाई चुस्त राख्न हामीले प्रशिक्षकको प्रत्यक्ष निगरानीमा प्रशिक्षण गर्न पाउनुपर्छ ।’

सागमा एथलेटिक्सको १० हजार मिटर दौडमा स्वर्ण जितेकी सन्तोषी श्रेष्ठलाई पनि यस्तै लागेको छ । ‘प्रशिक्षकबिना घरमै गरिएको कसरतले अन्तर्राष्ट्रिय प्रतियोगितालाई कसरी तयार गर्न सकिएला र ?’ उनी अर्को वर्ष टोकियो ओलम्पिकका लागि एथलेटिक्सबाट छनोट हुने खेलाडीमध्ये प्रमुख दाबेदार हुन् । एथलेटिक्स संघले ओलम्पिकको अनिवार्य कोटामा पठाउने खेलाडीको नाम अहिलेसम्म सिफारिस गरेको छैन ।

‘हाम्रो खेलमा समूह र स्पाइरिङ पार्टनर नचाहिने भएकाले घरमै व्यायाम गरिरहेकी छु, बिहान दौडिन्छु । सकेसम्म आफूलाई फिट राख्ने प्रयासमा छु र प्रशिक्षकको निगरानीमा समय, स्पिड र इन्डोरेन्स जाँच गरी अभ्यास गर्न पाएको छैन,’ सन्तोषीले थपिन्, ‘कोरोनाले निषेध गरिएका धेरै क्षेत्रहरू खोलिँदा खेलकुद नपरेकोमा नराम्रो लाग्यो । प्रतियोगिता नभए पनि प्रशिक्षण त सुरु गर्न सकिन्थ्यो कि ?’

कोरोनाले क्षति पुर्‍याएका देशहरूमा प्रशिक्षणमात्र होइन, खेल गतिविधि नै सुरु भएको छ । फ्रान्स, इटाली, स्पेन र बेलायतमा फुटबल लिगहरू सञ्चालन भइरहेका छन् । कोरोनाले सबैभन्दा बढी आक्रान्त अमेरिकामा ग्रान्ड स्लाम टेनिस आयोजना भइसकेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु भएको छ । दुईदेशीय शृंखलाहरू भइरहेका छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी प्रशिक्षण सुरु गरिनुपर्ने आवाज उठ्न थालेको छ । ‘हाम्रो देशमा कोरोनाको असर भर्खरै देखिन थालेको छ । त्यसैले जोखिम सबैमा हुन्छ । जोखिमलाई सम्भव भएजति कम गरी प्रशिक्षण सुरु गर्नु राम्रो होला । एकल खेलमा भन्दा समूहगत खेलमा जोखिम बढी हुन्छ । प्रतियोगिता गर्ने अवस्था अहिल्यै नहोला तर प्रशिक्षण सुरु गर्न असम्भव हुन्छ जस्तो लाग्दैन,’ पब्लिक हेल्थमा स्नातक गरेकी सन्तोषीले भनिन् । खेलकुद गतिविधि सञ्चालन गर्न सरोकार निकायको नेतृत्वले आवश्यक पहल गर्न नसकेको आरोप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले लगाएका छन् । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अन्य क्षेत्र खोल्न हुँदा खेलकुदको प्रशिक्षण सुरु गर्न किन नहुने ?’ उनले प्रतिप्रश्न गरे ।

करातेका पूर्व साग स्वर्णधारी तथा हालका प्रशिक्षक श्रेष्ठले ओलम्पिक तयारीमा रहेका कराते खेलाडीको प्रशिक्षण गराइरहेका छन् । सरकारी निर्णयले उनले प्रशिक्षण सुरु गर्न पाएका छैनन् । सरकारले डब्लूएचओको सुझावसमेत बेवास्ता गरेको उनको बुझाइ छ ।

‘डब्लूएचओ र नेपालको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित व्यायाम गर्नुपर्छ भनेका छन् । सरकारले चाहिँ खेलकुदको प्रशिक्षण नै रोकेर दोहोरो चरित्र देखाइरहेको छ । यसले हाम्रो देशमा खेलकुदलाई हेर्ने दृष्टिकोण पनि प्रतिविम्बित गरेको छ,’ उनले थपे, ‘लकडाउनसँगै निषेध गरिएका क्षेत्रका सम्बन्धित व्यवसायीले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्न पहल गरे र उनीहरूको सुनुवाइ भयो । हाम्रो खेलकुदका नेतृत्वले पनि प्रशिक्षण सुरु गर्न पहल गरेको अहिलेसम्म सुनिएको छैन । यसको अर्थ हाम्रा नेतृत्व नै अहिले खेलकुदलाई चलायमान बनाउनु हुँदैन भनेर बसेको बुझिन्छ ।’

उनले काठमाडौं जिल्ला प्रशासनको आदेशमा प्रशिक्षणसमेत गर्न निषेध गरिएकोप्रति विरोध जनाए । ‘अहिले प्रतियोगिता सुरु गर्न सम्भव छैन भन्ने हामीले पनि बुझेका छौं । तर प्रशिक्षण गर्न नपाउँदा अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नाम फिर्ता लिनुपर्ने अवस्था आउन सक्छ,’ खेलाडीको भविष्य नै अन्धकार हुन लागेकोतर्फ संकेत गर्दै उनले भने, ‘लामो समय प्रशिक्षण गर्न नपाउँदा खेलाडीको स्तर खस्किइसकेको छ । यसलाई अझै निरन्तरता दिइयो भने खेलाडी पलायन हुने खतरा हुनेछ ।’

प्रशिक्षण सुरु गर्न पहल गरिदिन केही दिनअघि अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अनुरोध गरेको थियो । एन्फा अध्यक्ष कर्मा शेर्पाले मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्ने विषय भएकाले राखेप र मन्त्रालयमार्फत कोभिड–१९ उच्चस्तरीय समितिमा प्रस्ताव पेस गर्न लागिएको जानकारी दिए ।

‘हामीले साउन अन्तिम सातादेखि नै प्रशिक्षण सुरु गर्न तयारीलाई अन्तिम रूप दिइसकेका थियौं । निषेधाज्ञा लागू भएपछि पछि हट्नुपर्‍यो । अन्तर्राष्ट्रिय प्रतियोगिता नजिक आउन लागिसकेको छ । त्यसैले हामीलाई प्रशिक्षण सुरु गर्न ढिला भइसक्यो,’ शेर्पाले भने ।

पहल गरिरहेका छौं : सदस्यसचिव

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले सरकारले शिक्षा, मनोरञ्जन, खेलकुदलगायतका क्षेत्रलाई अझै सञ्चालनको अनुमति नदिएकाले खेल गतिविधि गर्न समस्या परेको बताएका छन् । ‘राखेपले खेल गतिविधि सुरु गर्न पहल नगरेको छैन । हामीले नगरे कसले गर्ने हो र ? हामीलाई सरकारको निर्देशन पनि मान्नुपर्ने र खेलाडीको भविष्यमा पनि खेलबाड गर्न नहुने जिम्मेवारी छ । साउन महिनामा सरकारको अस्वीकृतिका बाबजुत हामीले क्रमशः प्रशिक्षण सुरु गर्न अनुमति दिएका थियौं । भदौमा पुनः निषेधाज्ञा भएपछि रोकिएको हो,’ सिलवालले भने ।

उनले खेलकुद मन्त्रालयमा पनि खेल प्रशिक्षण सुरु गर्ने उपायबारे छलफल गरेको र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) मा समेत खेल प्रशिक्षण खुला गरिदिन अनुरोध गरिएको जानकारी दिए । ‘सम्भव भएजति सबै प्रयास हामीले जारी राखेका छौं । म स्वयं खेलकुद प्रतियोगिता आयोजना गर्न नसकिए पनि अन्य गतिविधि सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा छु,’ सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा खेलकुद खुला गर्न अनुरोध गर्ने बताए ।

सदस्यसचिव सिलवालले खेलकुद गतिविधि ठप्प हुँदा खेलाडीलाई परेको मारबारे आफू पूर्ण जानकार रहेको भन्दै विकसिल देशमा जस्तो नेपालमा खेल गतिविधि अहिले नै सञ्चालन गर्न सहज नरहेको तर्क गरे । ‘नेपालमा खेल गतिविधि सञ्चालन किन भएन भन्ने कुरामा विदेशको उदाहरण दिइन्छ । युरोप/अमेरिकामा पर्याप्त पूर्वाधार छ । उनीहरूको खर्च गर्न सक्ने हैसियत छ,’ उनले थपे, ‘हामीमा पूर्वाधार र बजेट दुवैको कमी छ । खेल संघहरू आफैं खर्च गर्नसक्ने अवस्थामा छैनन् ।’

‘खेलाडीको भविष्यमा खेलबाड भयो’

लामो समयसम्म प्रशिक्षण सुरु गर्न नदिएर सरकार र सरोकार निकायले खेलाडीको भविष्यप्रति खेलबाड गरेको आरोप खेल विज्ञले लगाएका छन् । राखेपका एथलेटिक्स पूर्व प्रशिक्षक तथा खेलविज्ञ सुशील नरसिंह राणाले खेलकुद प्रशिक्षण एक दिन स्थगित हुन नहुनेमा ९ महिनासम्म प्रशिक्षणविहीन हुँदा उनीहरूको प्रदर्शन क्षमता नकारात्मक दिशामा ह्रास आइरहेको दाबी गरे ।

‘हामी घरेलु खेलकुदमै केन्द्रित रहने हो भने ९ महिनामात्र होइन जति समय प्रशिक्षणबेगर राखे पनि समस्या नहोला । तर अन्तर्राष्ट्रियस्तरमा पहिलेभन्दा राम्रो नतिजाको आस गर्ने हो भने एकदिन पनि प्रशिक्षण रोकिनुहुन्नथ्यो,’ उनले भने, ‘हाम्रो खेलाडीले हासिल गरेको क्षमतामध्ये यसबीचको समयमा ८० प्रतिशत ह्रास आइसकेको छ । तत्कालै प्रशिक्षण सुरु गर्दा यसलाई परिपूर्ति गर्न कम्तीमा एकदेखि डेढ वर्ष लाग्छ ।’ नेपालले अर्को वर्ष ओलम्पिक र १४औं दक्षिण एसियाली खेलकुद तथा सन् २०२२ मा एसियाली खेलकुदमा सहभागिता जनाउने तालिका छ । त्यसका लागि तयारी सुरु गर्ने समय ढिला भइसकेको छ । कोरोनाको कहरबीच खेलाडीहरू घरमै थुनिएका छन् ।

‘यसपल्टको सागमा हामीले हामीले हासिल गरेको सफलता भनेको बृहत राष्ट्रिय खेलकुद समयमै हुनु र नियमित प्रशिक्षणको नतिजा हो । लामो लक्ष्य र विशेष उद्देश्य निर्धारण गरी खेलाडीको प्रशिक्षण भएको हुन्छ । घरमा बसेर पुसअप/सेटअप गरेको भरमा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन पठाउनुको औचित्य हुँदैन,’ राणाको असन्तुष्टि छ, ‘हाम्रो खेलकुदको निर्णायक तहमा बस्नेले प्रशिक्षणको महत्त्व नै बुझेनन् । उनीहरूले सोचिरहेका होलान् कि प्रतियोगिताको १–२ महिनाअघि प्रशिक्षण सुरु गर्दा खेल्न सक्ने भइहाल्छ ।’

प्रशिक्षक राणाले खेलाडीलाई आम मान्छेसँग तुलना गरी घरभित्रै थुनेर राख्दा भविष्यमा देखिने समस्याबारे सचेत हुन पनि आग्रह गरेका छन् । उनले भने, ‘खेलाडी भनेको सामान्य मानिसभन्दा फरक र अतिरिक्त हुन्छ । उनीहरू शारीरिक र मानसिक रूपमा अरूभन्दा तीक्ष्ण हुन्छन्/हुनुपर्छ । एउटा सानो स्किल सुधार्न एक वर्ष महिनेत गरिएको हुन्छ । उनीहरूको प्रतियोगिता केन्द्रित शक्ति नियमित प्रशिक्षणले मात्र सञ्चित गराउने हो । लामो समय रंगशाला जान नपाउँदा उनीहरूको आत्मविश्वास हराउँछ । र त्यसको पूर्ति गर्न धेरै लामो समय लाग्छ । कतिपय खेलाडीको त यत्तिकै करिअर समाप्त भइसकेको हुन्छ ।’ राणा आफू कार्यरत रहँदादेखि नै प्रतियोगितालाई हेरेर प्रशिक्षण सुरु गर्ने परिपाटीको विरोधी हुन् । अहिले पनि उनले प्रशिक्षण नियमित बनाउनुपर्ने पक्षमै वकालत गरिरहेका छन् ।

नेपाली खेलकुदमा गैरव्यावसायिक व्यक्तिहरूको हालीमुहाली रहेकाले प्रशिक्षण जस्तो बृहत कुरालाई बुझ्न नसकेको आरोप उनले लगाए । ‘युगान्डाका एकजना धावकले हालै ५ हजार मिटर दौडमा विश्व कीर्तिमान राखे । उनले सन् २०२८ को बर्लिन म्याराथनमा विश्व कीर्तिमानको लक्ष्य निर्धारण गरेका छन् । अब भन्नुस् कि नेपालमा यसरी लक्ष्य निर्धारण गरी प्रशिक्षण र तयारीको परम्परा छ ? न खेलाडीमा न त अफिसियल वा खेल नेतृत्व कसैसँग पनि छैन,’ राणाले थपे, ‘प्रतियोगिताको २ महिनाअघि प्रशिक्षण गर्ने अनि ठूलो सफलताको अपेक्षा गर्नु मूर्खता हो र खेलाडीमाथिको अन्याय हो ।’

प्रकाशित : आश्विन ४, २०७७ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×