कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

टाइगर प्यालेसले हटायो ३ सय ९३ कामदार

बुटवल — कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रूपन्देहीको तिलोत्तमा–१३ मा सञ्चालित पाँचतारे होटल टाइगट प्यालेस रिसोर्टले कर्मचारीलाई कामबाट निकालेको छ । कामबाट निकालिनेमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३ सय ९३ कर्मचारी छन् । सेप्टेम्बर ९ तारिखमा इमेल पठाएर प्यालेसले अब करार सम्झौता नवीकरण नहुने बताएको हो ।

टाइगर प्यालेसले हटायो ३ सय ९३ कामदार

अस्ट्रेलियन सिल्भर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित रिसोर्टले कर्मचारीलाई दुईवर्षे करार सम्झौता सकिएको भन्दै अब करार सम्झौता नवीकरण नहुने स्पष्ट पारेको छ । ‘करार सम्झौता नवीकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्नुहोला,’ इमेलमार्फत पठाइएको पत्रमा भनिएको छ, ‘भविष्यमा होटल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिनेछ ।’ कोरोनाका कारण होटल बन्द भएपछि ५ महिनायता रिसोर्टले कर्मचारीलाई ५० प्रतिशत तलब दिँदै आएको थियो । ‘कोरोना महामारीले निम्त्याएको अकल्पनीय परिस्थितिमा होटल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको थियो,’ इमेलमा भनिएको छ, ‘अब दिइनेछैन । करार सम्झौता नवीकरण हुनेछैन ।’

सबै कर्मचारीको कन्ट्याक्ट रिन्यु नहुने भनेर इमेल आएको होटलका एचआर म्यानेजर इन्द्र भट्टराईले बताए । ‘मलाई पनि इमेल आएको छ,’ उनले भने, ‘कम्पनीको सिनियर टिम अस्ट्रेलिया र हङकङमा हुनुहुन्छ । सम्पर्क भएको छैन ।’ केही कर्मचारीको ५ महिनाअघि नै सम्झौता सकिए पनि एकै पटक अहिले इमेल आएको उनको भनाइ छ । रिसोर्टमा हाल निजी क्षेत्रका सुरक्षाकर्मी र केही विदेशी कर्मचारी मात्र छन् । नेपाली कामदारलाई कामबाट निकाल्दा विदेशी कामदारलाई भने ननिकालिएको कर्मचारीको भनाइ छ । भिसाको म्याद सकिएका विदेशी कामदारलाई पनि कामबाट ननिकालिएको कर्मचारी विशाल कार्कीले बताए ।

‘मासिक ५ लाख रुपैयाँभन्दा धेरै तलब खाने विदेशी कर्मचारीलाई हटाइएको छैन, नेपालीलाई मात्र हटाइएको छ,’ उनले भने, ‘हामीमाथि घोर अन्याय भो ।’ कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासि इमेल पठाएर जागिरबाट हटाएको कर्मचारी चित्र भण्डारीले बताए । पूर्वसूचनाबिना कर्मचारी निकालेकाले पुनर्बहाली हुनुपर्ने मागसहित कर्मचारी आन्दोलनमा उत्रिएको उनको भनाइ छ । ‘नेपालको श्रम ऐनअनुसार दुई वर्षभन्दा बढी अवधि काम गरेका कामदारलाई निकाल्न पाइँदैन,’ उनले भने, ‘त्यसैले आन्दोलनमा उत्रिएका छौं ।’

कम्पनीले अहिले करार समय सकिएको बताए पनि कर्मचारीको करार अवधि सकिएको एक वर्ष पुग्न थालिसकेको कर्मचारीको दाबी छ । यही दाबीसहित कामबाट निकालिएका केही कर्मचारीले पुनर्बहालीको माग गर्दै सोमबार रिसोर्ट घेराउ गरेका थिए । झन्डै दुई सय जनाको संख्यामा उपस्थित कर्मचारीले अन्यायमा परेको भन्दै आफूहरूलाई पुनर्बहाली गर्न माग गर्दै नाराबाजीसमेत गरेका थिए । तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले लगानीकर्तालाई नकारात्मक असर नपर्ने गरी समस्या समाधान खोज्न सहजीकरण गर्ने बताए ।

प्रकाशित : आश्विन ४, २०७७ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?