कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गाडीका आधा सिट पनि भरिएनन्

लामो दूरीका ३० प्रतिशत सवारी मात्र सञ्चालनमा
विमल खतिवडा

काठमाडौँ — ६ महिनापछि लामो दूरीका सवारी सञ्चालनमा आए पनि यात्रुको संख्या भने अति न्यून छ । असोज १ देखि सरकारले लामा दूरीका सवारी पनि चलाउने निर्णय गरेको थियो । यति बेला बसपार्क र टिकट काउन्टर प्रायः सुनसान छन् । लामा दूरीका गाडी चलेको पहिलो दिन उपत्यकाबाट ५६ यात्रु बस बाहिरिएका थिए । ६९ वटा उपत्यका भित्रिएका थिए । अहिले पनि सोचेअनुरूप यात्रु नहुँदा गाडीको संख्या उल्लेख्य बढ्न सकेको छैन ।

गाडीका आधा सिट पनि भरिएनन्

सुरुको दिनको तुलनामा यात्रुको संख्या केही बढेको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरले जानकारी दिए । ‘लामो दूरीका सवारी सञ्चालनमा आएपछि जुन रूपले यात्रु बढ्लान भन्ने थियो,’ उनले भने, ‘त्योअनुसार आएनन् ।’ जति सवारी बाहिरिएका छन्, तिनमा कुल सिटको आधामा मात्र यात्रु राखिएको छ ।

‘अहिले विदेशबाट आउनेहरू सिधै बसपार्कमा आई टिकट काटेर जाने गरेका छन्,’ उनले भने, ‘त्यसैले सामान्य रूपमा आवतजावत गर्ने यात्रु २० प्रतिशत र विदेशबाट आई गाडी चढेर घर जाने ८० प्रतिशत छन् ।’ दसैंका लागि टिकट बुकिङ खुला गर्नेबारे अहिलेसम्म छलफल भएको छैन । ‘दसैं आउन अझै समय छ,’ उनले भने, ‘तर त्यति बेलाको अवस्था के हुन्छ, यसै भन्न सकिन्न ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि सोचेअनुसार यात्रु नभएको बताउँछन् । ‘गाडीको समस्या छैन, देशभर सञ्चालनमा छन्,’ उनले भने, ‘तर गाडी भए पनि यात्रु भएनन् ।’ लकडाउनले गर्दा लामो समयदेखि बाहिर रहेका सवारी धमाधम काठमाडौं भित्रिरहेका छन् । तर यात्रु नभएर समस्या भएको उनले गुनासो गरे । ‘कुल सिट क्षमताको आधा मात्र यात्रु बोक्न भनिएको छ,’ उनले भने, ‘तर सिट भरिने गरी पनि यात्रु छैनन् ।’

गाडी सबै चलाउन सक्ने अवस्था भए पनि यात्रु नहुँदा ३० प्रतिशतभन्दा बढी सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य मापदण्ड अपनाएर गाडी चलाइएको उनको भनाइ छ । काठमाडौंबाहिर जानुपर्ने मान्छे भए पर्खिएर बस्नुपर्ने अवस्था नरहेको उनले बताए । ‘दसैंका लागि अग्रिम टिकट खुल्ने/नखुल्ने निश्चित छैन,’ उनले भने, ‘त्यसैले दसैंमा खुल्छ भनेर नपर्खिंदा हुन्छ, अहिले काम नभए एउटा सिटमा सहजै घर पुग्न सकिन्छ ।’

सबैतिर चल्ने सवारीमा स्वास्थ्य मापदण्ड कडाइसाथ लागू गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘मापदण्डका कुरामा कसैलाई पनि कम्प्रोमाइज गरिएको छैन, सुरक्षा निकायदेखि स्थानीय तहसम्म अनुगमन संयन्त्र बनाएर परिचालन गरिएको छ,’ उनले भने, ‘त्यस्तै विभागको अनुगमन टोली बसपार्क र टिकट काउन्टर क्षेत्रमा अनुगमनका लागि दैनिक खटिएको छ ।’

केही यात्रु भने कोभिड–१९ का कारण उपत्यकाबाहिरै छन् । ‘असोज १० गतेसम्मको अवस्था के हुन्छ, हेर्छौं,’ हमालले भने, ‘यात्रु कत्तिका हुन्छन्, त्यो पनि हेरिनेछ, त्यसपछि दसैंका लागि के गर्ने भनेर योजना बनाई अघि बढ्छौं ।’ उनका अनुसार अहिले यात्रु नभएकाले गाडी खालीखाली उपत्यका आउने र बाहिरिने गरेका छन् । ‘सोचेअनुरूप यात्रु छैनन्,’ उनले भने, ‘दसैंमा घर जाने यात्रु धेरै हुन्छन्, त्यसैले असोज १५ पछि बिस्तारै यात्रुको संख्या बढ्ला भन्ने छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार शनिबार मात्र साँझ ६ बजेसम्म ४ सय ६८ यात्रु बस काठमाडौं भित्रिएका छन् । उपत्यकाबाट बाहिरिने गाडीको संख्या भने ३ सय २९ छ । ‘उपत्यका प्रवेश गर्ने नाकानाकामा निगरानी बढाइएको छ,’ उनले भने, ‘सिटमा कति यात्रु राखिएको छ, स्वास्थ्य मापदण्ड पालना गरिएको छ, छैन सबै हेरिन्छ ।’

उपत्यकामा जोरबिजोर प्रणालीमार्फत सवारी सञ्चालन गरिएको छ । यहाँ पनि गाडी चढ्ने यात्रुको संख्या कम छ । एक घण्टासम्मको दूरीमा प्रायः सर्वसाधारण पैदल हिँड्ने गरेको पाइएको छ । देशभर करिब साढे ३ लाख गाडी सञ्चालनमा छन् ।

प्रकाशित : आश्विन ४, २०७७ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?