कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

२ वर्षदेखि वनमै थन्कियो खोटो

विप्लव महर्जन

सल्यान — व्यापारीको लापरबाहीले जिल्लाका विभिन्न सामुदायिक वनबाट संकलन गरिएको झण्डै ४० हजार किलो सल्लाको खोटो अलपत्र परेको छ ।

२ वर्षदेखि वनमै थन्कियो खोटो

विभिन्‍न सामुदायिक वनबाट मनकामना रोजिन कम्पनी तथा केमिकल्स उद्योगले संकलन गरेको खोटो २ वर्षदेखि शारदा नगरपालिका–२ शान्तिनगर नजिकै अलपत्र परेको हो ।

उद्योगले शारदा नगरपालिका–४ स्थित सालघारी, १३ नम्बर वडाको घोरनेटी, बाघपाली, साजखर्क र सरस्वती सामुदायिक वनबाट खोटो संकलन गरेको थियो । सालघारी वन उपभोक्ता समितिका अध्यक्ष रोमप्रकाश थापाले कम्पनीले खोटो संकलन गरेबापतको रोयल्टीसमेत नदिएको बताए । कम्पनीका सञ्चालक अभिनन्दप्रसाद गुप्तालाई बारम्बार रोयल्टी बुझाउन आग्रह गरे पनि बेवास्ता भएको उनको गुनासो छ ।

खोटो संकलनमा संलग्‍न कामदारले पनि लामो समयदेखि पारिश्रमिक पाउन सकेका छैनन् । अध्यक्ष थापाका अनुसार कम्पनीका सञ्चालक गुप्ता ६ महिनादेखि सम्पर्क विहीन छन् । ‘व्यवसायीको लापरबाहीले सामुदायिक वनमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘न मजदुरले ज्याला पाए, न वनले रोयल्टी नै ।’कम्पनीले शारदा नगरपालिका–१३ स्यानीखालस्थित घोरनेटी सामुदायिक वनसँग पनि ८ वर्षदेखि खोटो संकलनको सम्झौता गरेको छ ।

समूहका अध्यक्ष छविलाल रोकाले कम्पनी सञ्चालक बेपत्ता भएपछि संकलन भएको खोटो अलपत्र परेको बताए । डिभिजन वन कार्यालयका सूचना अधिकारी मनोज शर्माले कम्पनीले विभिन्न वन समूहसँग गरेको सम्झौता तोड्न प्रक्रिया थालिएको जनाए । ‘कम्पनीले कार्यालयको निर्देशनलाई पनि लामो समयदेखि बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘ठेकेदारसँगको सम्झौता रद्द गरेपछि अलपत्र परेको खोटो लिलाम बिक्री गरिनेछ ।’

प्रकाशित : आश्विन ३, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?