२६ वर्षमा पनि बनेन सडक

डम्बरसिं राई

खोटाङ — झन्डै तीन दशकअघि सुरु भएको गाईघाट–दिक्तेल सडक (सगरमाथा लोकमार्ग) अझै पूरा हुन सकेको छैन । सडकलाई राष्ट्रिय गौरवको आयोजनामा पारिए पनि काम भने ज्यादै सुस्त गतिमा भइरहेको भन्दै आलोचना हुने गरेको छ । जनप्रतिनिधिले उति ध्यान नदिँदा सडक पूरा हुन नसकेको सरोकारवाला बताउँछन् ।

२६ वर्षमा पनि बनेन सडक

‘जनप्रतिनिधिले प्रभावकारी रूपमा पहल गरेको भए गाईघाट–दिक्तेल सडक उहिल्यै बनिसक्थ्यो,’ नेपाल चेम्बर अफ कमर्स खोटाङका अध्यक्ष खुसनारायण सैंजूले भने, ‘२६ वर्षमा पनि यो सडक अपूरै छ ।’ यो सडक ०५१ सालमा सुरु भएको थियो । पछिल्लो समय निर्माण कम्पनीको लापरबाहीका कारण अझै पनि अपूरै रहेको स्थानीयको गुनासो छ । यो सडकअन्तर्गत महुरे–फोक्सिङटार सडक निर्माण कम्पनीको लापरबाहीका कारण अपूरै रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाअध्यक्ष दिनेश राईले बताए ।


यसमा विशेषगरी महुरे–सिम्पानी सडक (२२ किलोमिटर) र सिम्पानी–फोक्सिङटार सडक (२७ करिब किलोमिटर) अलपत्र छ । महुरे–सिम्पानी सडक निर्माणको ठेक्का भारत कन्स्ट्रक्सन/सिद्धि शाही जेभी निर्माण कम्पनीले लिएको थियो । उक्त निर्माण कम्पनीले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला माहुरेदेखि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीसम्मको सडक कालोपत्रको काम लिएको थियो । करिब ४६ करोड लागतमा गत असारसम्म सक्ने गरी ०७३ असारमा सम्झौता भएको हो ।

निर्माण कम्पनीले कामदारलाई रकम नदिएपछि काम छाडेकाले समस्या आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष राईले सुनाए । सडक पनि गुणस्तरहीन भएको भन्दै स्थानीयले पटकपटक बन्द गराएको उनको भनाइ छ । उक्त सडक खण्डमा कार्यरत कामदारले पारिश्रमिक नपाएको आक्रोशमा गत पुस २० देखि झन्डै महिना दिन सडक निर्माणको काम ठप्प पारेका थिए ।


निर्माण कम्पनीले कामदारको रकम नदिएकाले समस्या आएको भन्ने गुनासा आएको गाईघाट–दिक्तेल सडक योजनाका प्रमुख गोपालप्रसाद ठकुरेलले बताए । उक्त सडक खण्डमा करिब ४० प्रतिशत मात्र काम भएको उनको भनाइ छ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सिम्पानीदेखि खोटेहाङ गाउँपालिकाको लिच्किराम्चे फोक्सिङटारसम्मको (करिब २६ किलोमिटर) सडक पनि अलपत्र छ । करिब ४९ करोड रुपैयाँ लागतमा गत साउन ११ भित्र सक्ने गरी जयनारायण पवन, मैनाचुली र खाम्पाचे जेवी कम्पनीसँग ०७३ साउनमा सम्झौता भएको थियो । उक्त सडक खण्डमा करिब ६५ प्रतिशत काम सकिएको ठकुरेलले बताए ।

प्रकाशित : आश्विन ३, २०७७ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?