१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रेल आउँदा परर्र ताली

हजारौंको संख्यामा उपस्थित जनकपुरवासीले थपडी बजाएर रेलको स्वागत गरे । उनीहरुमा यतिबिघ्न खुसी थियो कि धेरैले रेललाई छोए, कतिले चुमे ।
अजित तिवारी

जनकपुर — कोरोना संक्रमणको बढ्दो दर रोकथामका लागि धनुषामा जारी निषेधाज्ञाको अवधि आगामी आइतबारसम्म छ । तर निषेधाज्ञाको बेवास्ता गर्दै शुक्रबार बिहान जनकपुरधामको रेलवे प्लेटफार्ममा थामिनसक्नु भीड थियो । सर्वसाधारणसँगै निषेधाज्ञा जारी गर्ने प्रमुख जिल्ला अधिकारी पनि भीडमै उपस्थित थिए । एउटै प्रतीक्षा थियो– नेपाली रेल कति बेला आइपुग्छ । सबैका अनुहारमा उत्साह देखिन्थ्यो ।

रेल आउँदा परर्र ताली

अगाडि थिए, नेपाल रेलवे कम्पनीका महानिर्देशक गुरु भट्टराई, वरिष्ठ इन्जिनियर देवेन्द्रप्रसाद साह र धनुषा–महोत्तरीका सुरक्षा निकायका अधिकारीहरू । रेल कहाँ आइपुग्यो भन्नेमा सबैले चासो लिइरहेका थिए । नभन्दै राष्ट्रिय झन्डाको रातो र नीलो रङले पोतिएको रेल प्लेटफार्ममा आइपुग्दा सबै हर्षित भए । सिठी बजाउँदै रेल नजिकै आउँदा हजारौंको संख्यामा उपस्थित जनकपुरवासीले परर्र थपडी बजाएर स्वागत गरे । खुसी यतिबिघ्न थियो कि धेरैले रेललाई छोए, कतिले चुमे ।

रेल हेर्न प्लेटफार्ममा उर्लिएको भीडलाई व्यवस्थापन गर्न प्रहरीलाई धेरैबेर सकस भयो । नेपाल सरकारले करिब ८५ करोड रुपैयाँमा खरिद गरेका दुई सेट रेल बिहारको हाजीपुर स्टेसनबाट बिहीबार राति नै जयनगर आइपुगेका थिए । शुक्रबार करिब १२ बजे त्यहाँबाट हिँडेका रेल २६ किलोमिटर पार गर्दै झन्डै दुई घण्टापछि जनकपुर आइपुगे । रेलवे ट्र्याकमै ठूलो संख्यामा मानिस उभिएकाले तीव्र गतिमा गुडाउन नसकिएको रेल निर्माता कम्पनी भारतीय रेलवेको कोंकण रेलवे कर्पोरेसनका प्रमुख इन्जिनियर दीपक त्रिपाठीले बताए ।

‘दुईटा कारणले रेल ढिलो जनकपुर आइपुग्यो । पहिलो कारण, रेलका लागि ट्र्याक नयाँ थियो । ट्र्याकको अवस्थासँग हामी अनभिज्ञ थियौं । त्यसैले हाम्रा प्राविधिक टिम ट्रलीमा अघिअघि ट्र्याक चेक गर्दै हिँडे । हामीले बिस्तारै पछ्यायौं,’ उनले भने, ‘अर्को कारण, ट्र्याकभरि मानिसको भीड । जति हर्न थिच्दा पनि अहँ नहट्नेवाला भीड थियो । अनि बिस्तारै हाँक्नुको विकल्प भएन ।’ तीव्र गतिमा जयनगरबाट रेल हिँडेको भए करिब २० मिनेटमै जनकपुर आइपुग्थ्यो ।

जनकपुर–जयनगर न्यारोगेज रेल सेवा बन्द भएयता नयाँ ट्र्याक निर्माण सुरु हुँदै यस क्षेत्रका बासिन्दालाई रेलको प्रतीक्षा थियो । त्यसैले नेपाली सीमामा प्रवेश गरेदेखि नै ठूलो भीडले गाउँगाउँबाट रेल हेरेको थियो । त्यसैले १३० किमि प्रतिघण्टा रफ्तारको रेल बिस्तारै ल्याउनुपरेको उनले बताए । नेपालले खरिद गरेको रेल डेमु ट्रेन सेट हो । ‘नेपाल रेलवेका लागि यो ऐतिहासिक दिन हो,’ कोंकण रेलवेका महानिर्देशक जीवी नागेन्द्रले भने, ‘नेपालमा रेल चलाउने धेरैथरी योजना बने । कहिले भाडामा त कहिले लिजमा सञ्चालन गर्ने कुराकानी पनि भयो । तर नेपाल सरकारले आफ्नै रेल गुडाउने निर्णय गर्‍यो । त्यसैअनुसार नेपालको अर्डरमा तयार पारिएको रेल पुर्‍याउन हामी जनकपुर आएका हौं ।’ नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरको रेल हुनुपर्ने भनेकाले डेमु ट्रेन सेट निर्माण गरिएको उनले बताए । ‘यो अब नेपाल सरकारको सम्पत्ति हो । यसको सञ्चालनले नेपाल र भारत दुवैलाई मद्दत पुग्ने हाम्रो विश्वास छ,’ नागेन्द्रले भने ।

रेलका दुवै सेट कोंकणको चेन्नईस्थित कारखानामा निर्माण भएको लामो समय भए पनि कोभिड–१९ का कारण डेलिभरी दिन ढिलाइ भएको भारतीय पक्षले जनाएको छ । कोंकणका प्रमुख मेकानिकल इन्जिनियर त्रिपाठीका अनुसार नेपाल रेलको दुवै सेट अत्याधुनिक छ । ‘रेलका दुवै इन्जिन अटो कन्ट्रोल छन्, कम्प्युटरीकृत छन् । एयर कन्डिसन र रेल तीव्र रफ्तारमा चल्दा बस्नेलाई स्मुथ महसुस हुन्छ,’ उनले भने ।

१ हजार ३ सय यात्रु क्षमताको रेलका सबै बोगी आधुनिक र आरामदायी छन् । एउटा एसी र तीनवटा जनरल बोगी रहेको दुवै सेटका इन्जिन रहेको डिब्बामा पनि यात्रु राख्ने ठाउँ छ । एसी बोगीमा दुईवटा सिटलाई भने टेबलजडित बनाइएको छ ।

एउटा बोगीबाट अर्को बोगीमा प्रवेश गर्ने सेन्सर गेट राखिएको छ । सिट आरामदायी र बोगी आनन्ददायी रहेको जनकपुरबाट कुर्थासम्म एसी बोगीमा यात्रा गरेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रतिक्रिया दिए । भारतको राजधानीमा मेट्रो रेलमा यात्रा गरेझैं महसुस भएको धनुषाका एसपी रमेश बस्नेतले बताए ।

दुवै सेट रेल जनकपुर आएपछि कोंकणका प्रमुख मेकानिकल इन्जिनियर त्रिपाठीले नेपाल रेलवे कम्पनीका महानिर्देशक भट्टराईलाई कागजपत्रसहित रेल हस्तान्तरण गरेका थिए । त्रिपाठीले रेल खरिदको पत्र र रेलको क्याटलग बुक भट्टराईलाई दिए । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको सपना हो नेपालमा रेल गुडाउने । त्यो आज पूरा भएको छ,’ महानिर्देशक भट्टराईले भने ।

भारतको निर्माण कम्पनीले हस्तान्तरण गरेका दुवै रेल सबै बन्दोबस्त मिलाएर करिब दुई महिनाभित्र नियमित सञ्चालन हुने रेलवे विभागका वरिष्ठ इन्जिनियर देवेन्द्रप्रसाद साहको दाबी छ । पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म नेपालको रेल गुड्नेछ । दोस्रो चरणमा भने कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल चल्ने जनकपुरका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिए । उनका अनुसार कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलवे लिक निर्माण अन्तिम चरणमा छ । यो डिजेल र विद्युत् दुवैबाट चल्ने रेल हो ।

प्रकाशित : आश्विन ३, २०७७ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?