कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

सुरज कुँवर

काठमाडौँ — आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हटेको छ ।

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

मन्त्रालयले शुक्रबार यसबारे निर्णय गर्दै नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले बुधबार तोकिएको ‘आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर उड्नुपर्ने नियम’ हटाउने निर्णय गरेको हो । यो नियम सार्वजनिक भएपछि आपत्ति जनाउदै आन्तरिक वायुसेवा संचालक संघमा आबद्ध निजी वायुसेवाले मन्त्रिपरिषद्ले तोकेको दिन असोज १ गतेदेखि उडान गरेनन् । उनीहरुले पर्यटन मन्त्री भट्टराईसहित सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाई उडान नगर्ने निर्णय गरेका थिए ।

अब आन्तरिक उडान गर्ने वायुसेवाले सोमबारदेखि जहाजको यात्रु क्षमताअनुसार पुरै सिट भर्न पाउने भएका छन् । ‘सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु उडाउने नियमबाट मन्त्रालय पछि हटेको छ,’ वायुसेवा संचालक संघका प्रथम उपाध्यक्ष अनुज रिमालले कान्तिपुरसँग भने । तर, वायुसेवाहरुले अहिले सबै सेक्टरमा लकडाउनअघि जस्तो उडान गर्न पाउने छैनन् । मन्त्रालयले प्राधिकरणलाई लकडाउनअघिको बजार हिस्साका आधारमा वायुसेवाहरुलाई २५ प्रतिशत उडान हुने गरी उडान तालिका स्वीकृत गर्न निर्देशन दिएको छ ।

आन्तरिक उडानबाट यात्रा गर्ने यात्रुले आफू स्वस्थ रहेको हेल्थ डिक्लेरेसन फाराम अनिवार्य भर्नु पर्ने छ । मन्त्रालयले आन्तरिक उडानको माग र औचित्य हेरि अक्टोबर १ (असोज १५ गते) तारिखपछि उडान तालिका थप गर्न निर्देशन दिएको छ ।

यसैबीच संघका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले तोकेका स्वास्थ्यसम्बन्धी नियमपूर्ण परिपालना गर्दै ६ महिनादेखि बन्द आन्तरिक नियमित उडान सोमबारदेखि उडान सुचारु गर्ने जनाएका छन् ।

यो पनि

प्रकाशित : आश्विन २, २०७७ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?