कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

झापामा चिया श्रमिकको ज्याला ३० रुपैयाँ बढाउने सहमति

पर्वत पोर्तेल

काँकडभिट्टा — चिया उद्योगी र श्रमिकबीचको न्यूनतम ज्यालासम्बन्धी विवाद तत्काललाई टुंगिएको छ । झापाका चिया मजदुर संगठन र नेपाल चिया उत्पादक संघबीच बुधबार भद्रपुरमा चारबुँदे सहमति भएको हो ।

झापामा चिया श्रमिकको ज्याला ३० रुपैयाँ बढाउने सहमति

दुवै पक्ष न्यूनतम दैनिक ज्यालामा ३० रुपैयाँ बढाउन सहमत भएका छन् । श्रमिकले न्यूनतम ज्याला २ सय ३१ र महँगी भत्ता १ सय ५४ गरी दैनिक ३ सय ८५ रुपैयाँ पाइरहेका थिए । अब न्यूनतम ज्याला २ सय ६१ पुगेको छ । महँगी भत्तासमेत जोड्दा श्रमिकले दैनिक पाउने रकम ४ सय १५ रुपैयाँ हुनेछ । बढेको रकम गत साउनदेखि नै लागू हुने सहमति भएको श्रमिक नेता दीपक तामाङले जानकारी दिए । उनका अनुसार आगामी साउनदेखि ज्यालामा पुनः २० रुपैयाँ थप गरिनेछ । ‘यो सहमति कार्यान्वयन भएपछि मजदुरको दैनिक ज्याला ४ सय ३५ रुपैयाँ पाउनेछन्,’ तामाङले भने ।

सहमतिअनुसार चिया प्रशोधन वा कारखानामा काम गर्ने श्रमिक तथा बगानमा काम गर्ने नाइके, सरदार र चौकीदारको ज्यालामा अतिरिक्त दैनिक भत्ता ४२ रुपैयाँ रहेकोमा थप १३ रुपैयाँ वृद्धि गरी ५५ रुपैयाँ बनाइएको छ ।

वार्तापछि जारी गरिएको निर्णयमा चिया उद्यमी सुरेश अग्रवाल, जेपी शर्मा, चण्डी पराजुली, विनय गोयल र रमेश पराजुलीलगायत र चिया श्रमिकका पक्षबाट सहीकुमार राई, सन्तकुमार राई, नेत्रप्रसाद दाहाललगायतले हस्ताक्षर गरेका छन् । झापामा साना–ठूला गरी २८ वटा चिया उद्योग सञ्चालित छन् । तिनमा ५० हजार हाराहारी श्रमिक छन् ।

प्रकाशित : आश्विन १, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?