होलसेलमा ७० रुपैयाँमा किनेको प्याज १५० मा बिक्री

बुधबार कालीमाटी र बल्खुमा अनुगमन भएपछि त्यहाँका होलसेल व्यापारीले प्याज यता पठाइ दिए, बिल पठाएका छैनन् । - व्यापारी

काठमाडौँ — हरित सामुदायिक कृषि बजार तीनकुनेमा तरकारी बिक्री गर्दै आएकी नाज्दा अञ्जुले बिहीबार बिहान १५० रुपैयाँ किलोमा प्याज बेचिन् । उनले त्यो प्याज तल्लो तलाका होलसेल व्यापारी शालिकराम दुलालबाट किनेकी थिइन् ।

होलसेलमा ७० रुपैयाँमा किनेको प्याज १५० मा बिक्री

त्यो प्याज शालिकरामले कति मूल्यमा किने त ? बिल भेटिएन । उनी आफूले फरक-फरक समयमा कहिले ६५ रुपैयाँमा र कहिले ७० रुपैयाँमा किनेको बताइरहेका थिए । ‘गाडीमा प्याज बोकेर आउँछन्, बेच्छन्,’ दुलालले भने, ‘पैसा लिएर जान्छन् । उनीहरु बिल नै दिँदैनन् ।’

यति सोधखोज गर्दा अनुगमन टोली हो भन्ने थाहा पाएर नाज्दाले किलोको ५० रुपैयाँ घटाएर १०० रुपैयाँमा प्याज बिक्री गर्न थालिन् । यो कारोबारमा कसैले बिल लिएको वा दिएको छैन ।

तीनकुनेको कुषि बजारमा १ सय २८ वटा तरकारीका स्टल छन् । बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुद्रा व्यापार हुन्छ ।

काठमाडौं महानगरपालिकाका कृषि शाखाका प्रमुख हरिबहादुर भण्डारीले हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता नभएको बताए । ‘स्टलमा परिचय पाटी पनि राखिएको छैन,’ उनले भने, ‘खरिद बिक्री बिलबिना कारोबार भइरहेको छ । नापतौलको प्रमाण पत्रसमेत छैन । ’

दर्ता नगरी सञ्चालन गरिएकामध्ये बिहीबारबाट ३ वटा होलसेल पसलको कारोबार रोक्का गरिएको उनले बताए । रोक्का हुनेमा शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्योतिनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमका स्टल हुन् । उलक सब्जी भण्डारमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो ।

महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त तीनकुनेका प्रहरी नायब निरीक्षक विनोद विक्रम बस्नेत, सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालको रोहबरमा, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट लिखित रुपमा व्यवसाय सञ्चालन गर्ने अनुमति नलिएसम्मका लागि कारोबार रोक्का गरेको हो ।

प्याजको भाउ बढेपछि कहाँबाट प्याज ल्याउने भनेर सोचिरहेका बेला कालीमाटीका व्यापारीले प्याज पठाइदिएको त्यहाँका तीनकुनेका व्यापारीको भनाइ छ । बुधबार नै कालीमाटी र बल्खुमा अनुगमन भएको भनेर पछि थाहा पाएको व्यापारीहरु बताउँछन् । उनीहरुले आफ्नो बचाउ गर्दै भने, ‘प्याज पठाए तर बिल पठाएनन् । हामी आफैं अन्यौलमा छौं । उनीहरुले गर्दा हामी पो फस्यौं ।’

प्रकाशित : आश्विन १, २०७७ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?