बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो

 फिर्ता गर्ने प्रक्रियामा छौं : प्रबन्ध निर्देशक
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमको बिलिङ प्रणालीमा शनिबार बिहान समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

‘केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको रहेछ,’ उनले भने,‘प्रणालीमा आएको समस्या समाधान भइसकेको छ ।’

बिलिङ प्रणाली बिग्रिँदा डेटा सब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मेन ब्यालेन्सबाट रकम काटिने समस्या आएको थियो । डेटा प्याक लिएर भन्दा नियमित ब्यालेन्सबाट डेटा चलाउँदा महँगो पर्ने भएकाले उपभोक्ताहरुले धेरै रकम काटिएको गुनासो गरेका थिए ।

सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापत्को रकम फिर्ता गरिएको महाप्रबन्धक अधिकारीले बताए । ‘मेन ब्यालेन्सबाट काटिएको रकम पनि डेटा प्याककै दर लगाएर बाँकी रकम ब्यालेन्सको रुपमा फिर्ता गर्ने प्रक्रियामा छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा ५२ वर्षीय कोरोना संक्रमितको मृत्यु 

उपचारका लागि बुटवल र भैरहवा पुर्‍याएर फिर्ता ल्याइएका बिरामीको मृत्यु भएको हो ।
माधव अर्याल

पाल्पा — तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।

पाल्पाको तानसेनस्थित वृद्धाश्रम आइसोलेसन । तस्बिर : माधव अर्याल/कान्तिपुर

तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

शंकास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । चार दिनअघि उनमा कोरोना पुष्टि भएको थियो । कलेजोको समेत बिरामी भएका उनलाई कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलका विभिन्न अस्पतालका साथै भैरहवासम्म एम्बुलेन्समार्फत् लगिएको मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले बताए । बुटवल र भैरहवाका कुनै पनि अस्पतालमा भर्ना नलिएपछि मंगलबार उनलाई पुन: तानसेनकै वृद्धाश्रम ल्याएर उपचार गरिएको मिसन अस्पतालले जनाएको छ ।

कोरोना संक्रमित बिरामीलाई उपचार गर्न तोकेका अस्पतालले बिरामी राख्न नमान्दा बिरामीसँगै एम्बुलेन्स चालकले पीडा बेहोर्नु परेको थियो । मिसन अस्पतालले कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि बुटवलको धागो कारखानास्थित कोभिड अस्पतालमा पठाएको थियो । धागो कारखानाले प्रादेशिक अस्पतालबाट प्रक्रिया पुर्‍याएर ल्याउन भन्यो । प्रादेशिकले बेड नभएको भन्दै राख्न मानेन ।

एम्बुलेन्स चालकले भीम अस्पताल भैरहवा लिएर गए । त्यहाँ पनि राख्न बेड अभाव भएको जानकारी पाएपछि बुटवलको मुटु अस्पताल ल्याए । त्यहाँ पनि राख्न नमानेपछि पुन: पाल्पा फिर्ता ल्याएको चालक सुरज खत्रीले बताए । मिसन अस्पतालका प्रमुख व्यवस्थापक जीवन भट्टराईले कोरोना संक्रमित बिरामीको थप उपचार गर्नुपर्ने भएकाले पाल्पा अस्पतालको समन्वयमा बुटवल पठाएको बताए ।

प्रकाशित : आश्विन १, २०७७ ०९:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×