१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्याज लुकाएर कालोबजारी गर्ने दुई व्यापारीलाई प्रहरीको जिम्मा

'गोदाममा निरीक्षण गर्दा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा लुकाएको भेटिएको थियो'
राजु चौधरी

काठमाडौँ — प्याजको मूल्य आचाक्ली बढेपछि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिकाको बेग्लाबेग्लै टोलीले बल्खु तरकारी बजारमा अनुगमन गरेका छन् । 

प्याज लुकाएर कालोबजारी गर्ने दुई व्यापारीलाई प्रहरीको जिम्मा

महानगरपालिका अन्तर्गत कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, प्रहरी र उपभोक्ता अधिकारीकर्मीसहित भएको अनुगमनमा कालोबजारी गर्ने दुई व्यवसायीलाई प्रहरीको जिम्मा लगाइएको छ ।

‘बल्खुमा ४/५ वटा प्याजको होलसेल पसलमा अनुगमन गरियो । ५०/५५ रुपैयाँमा खरिद गरेको प्याज ११०/१२० रुपैयाँसम्ममा बिक्री गरेको देखियो,’ भण्डारीले भने, ‘खरिद बिल,मूल्य सूची नराखेको कसुरमा ती फर्महरुलाई थप कारबाही गर्न वाणिज्यको जिम्मा लगाएका छौं ।’

चुली सगरमाथा इन्टरप्राइजेज र एस के सप्लार्यसका सञ्चालकलाई भने कालीमाटी प्रहरीको जिम्मा लगाएको उनले बताए । ‘सञ्चालक एउटै भएपनि दुई/तीन वटा फर्म बनाएर कृत्रिम अभाव गरेको देखियो । १५/२० दिनअघि ४८ रुपैयाँ त्यसपश्चात ६१ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० रुपैयाँसम्मा बिक्री गरेको देखियो,’ भण्डारीले भने, ‘आयात नभएपछि केही दिनपछि महँगो हुनसक्ला प्राकृतिक अभाव हुनसक्ला । तर, आजकै भोलि मूल्यबढ्नु पर्ने अवस्था छैन । कृत्रिम अभाव गराइएकाले प्रहरीलाई जिम्मा लगाएका छौं ।’

अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चाका अध्यक्ष माधव तिम्सिनाका अनुसार ती व्यापारीले प्याज नभएको बताएका थिए । त्यसपश्चात गोदाममा निरीक्षण गर्दा चुली इन्टरप्राइजेजमा २ सय र एसकेमा १९ बोरा लुकाएको भेटिएको थियो । ‘प्याज लुकाएर कृत्रिम अभाव गरि कालोबजारी गरेको देखियो,’अध्यक्ष तिम्सिनाले भने, ‘मुचुल्का बनाएर कालीमाटी प्रहरीलाई जिम्मा लगाएका छौं ।’

बल्खुकै अनुगमन गरिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि अनुगमनमा सहभागी भएका थिए । यस्तै, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले मंगलबार ६ पसलमा अनुगमन गरेको थियो । जसमध्ये कालिमाटीको ४ प्याज पसलमा पनि अनुगमन गरेको थियो ।

ती व्यवसायीलाई व्यवसायसँग सम्बन्धित कागजात तथा खरिद बिक्री बिल सहित विभागमा ३ दिनभित्र उपस्थित हुन निर्देशन दिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए ।

प्रकाशित : भाद्र ३१, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?