कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिँचाइ नहुँदा खेत बाँझै

विप्लव महर्जन

सल्यान — बन्गाडकुपिण्डे नगरपालिका–१ नाम्राका ५५ वर्षीय पृथ्वीलाल शर्माले १० वर्षअघि वर्षभरि पुग्ने अन्न उत्पादन गर्थे । उनको बारीमा वर्षाको समयमा धान र मकै तथा हिउँदमा गहुँ र तोरी गरी ३ बाली फल्थ्यो ।

सिँचाइ नहुँदा खेत बाँझै

छिपछिपे सिँचाइ योजनाको पानी अन्यत्र लगिएपछि उनले दशकयता धानबाली लगाउन पाएका छैनन् भने आधा जग्गा बाँझो बनेको छ ।

उनी मात्र होइन गाउँका अधिकांश किसानको घरमा अहिले वर्षभरि पुग्ने अन्न फल्दैन । बन्गाडकुपिण्डे नगरपालिका–३ स्थित इरोखोला मुहानको सिँचाइको पानी पोखरीका स्थानीयले नयाँ योजनामार्फत लिएपछि नाम्राका अधिकांश जग्गा बाँझै बनेका हुन् । सिँचाइ अभावमा करिब १ हजार २ सय रोपनी खेतीयोग्य जग्गा बाँझो बनेको उनले बताए । उनका अनुसार गाउँका ४ सय घरधुरीमा सिँचाइ समस्या छ ।

वर्षभरि खान पुग्ने खेत बाँझै भएपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान खुम ओलीले बताए । ‘परम्परागत खेतीमा निर्भर भए पनि वर्षेनि जीविकोपार्जनको चिन्ता हुन्छ,’ उनले भने, ‘सिँचाइ भए व्यवसायिक तरकारी खेती पनि गर्न सकिन्थ्यो ।’ उनका अनुसार स्थानीयको जनश्रमदानबाट २०४२ सालमा सिँचाइ योजना निर्माण गरिएको थियो । राजनीतिक पहुँच नहुँदा सिँचाइ योजना अलपत्र परेको उनको गुनासो छ ।

बन्गाडकुपिण्डे नगरपालिकामा पानीको स्रोत कम भएकाले सिँचाइ र खानेपानी योजनामा वर्षौदेखि विवाद हुँदै आएको वडाध्यक्ष शान्तकुमार यरीले बताए । ‘बजेट अभावमा सिँचाइ योजना सुचारु गर्न सकिएको छैन,’उनले भने, ‘गाउँमा लिप्ट सिँचाइबाहेक अरु योजनाको विकल्प छैन, स्थानीय सरकारको सीमित बजेटले सबै ठाउँमा सिँचाइ सुविधा पुर्‍याउन समस्या भयो ।’ उनका अनुसार मुहानबाट पानी लैजाने विषयमा दुवै गाउँबीच २०४३ सालदेखि विवाद थियो ।

प्रकाशित : भाद्र २९, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?