कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेप्सेको सिस्टममा समस्या भएपछि सेबोनले गुहार्‍यो सरकार

नेप्सेलाई पटकपटक स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो नआएपछि सहजीकरणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको हो
यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीमा पटक–पटक समस्या आउन थालेपछि सहजीकरण गरिदिन भन्दै धितोपत्र बोर्ड (सेबोन) ले अर्थ मन्त्रालय गुहारेको छ । नेप्सेलाई पटक–पटक स्पष्टीकरण सोधे पनि चित्तबुझ्दो जवाफ नआएपछि सहजीकरणका लागि अर्थ मन्त्रालयलाई आग्रह गरिएको स्रोतले बताएको छ ।

नेप्सेको सिस्टममा समस्या भएपछि सेबोनले गुहार्‍यो सरकार

‘नेप्सेमा सरकारको पनि ठूलो लगानी छ, यसकारण पनि अर्थ मन्त्रालयलाई आग्रह गरिएको हो,’ स्रोतले भन्यो । नेप्सेको कारोबार प्रणालीमा आएको समस्या सम्बन्धमा सेबोनबाट पत्र आएको अर्थ मन्त्रालय स्रोतले स्विकारेको छ । ‘सिस्टममा पटक–पटक समस्या आउन थालेपछि के रहेछ भनेर वास्तविकता बुझ्न सोमबार सरोकारवालासँग छलफल राखेका छौं,’ स्रोतले भन्यो, ‘त्यसबाट केही निष्कर्ष निक्लिएला ।’

यसअघि भदौ १४ मा स्पष्टीकरण सोधेको सेबोनले आइतबार पनि नेप्सेसँग स्पष्टीकरण मागेको छ । भदौ १४ को जवाफ नेप्सेले पठाइसकेको छ । जवाफमा ‘टीएमएसमा समस्या थियो, त्यो समाधान भइसक्यो अब आउँदैन’ भनिएको छ । तर आइतबार पनि सोही समस्या दोहोरिएपछि पुनः स्पष्टीकरण सोधिएको सेबोनका प्रवक्ता नीरज गिरीले जानकारी दिए । ‘पटक–पटक समस्या देखिन थालेपछि वास्तविकता के हो, दोष कसको हो, समाधान हुन्छ कि हुँदैन, यसको विकल्प के हुन सक्छ लगायत विषयमा अविलम्ब जवाफ पठाउन निर्देशन दिएका छौं,’ उनले भने ।

नेप्सेको कारोबार प्रणालीमा समस्या आउँदा आइतबार निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो (दिउँसो सवा २ बजे) देखि मात्र लगानीकर्ताले कारोबार गर्न पाए । सोही कारण कारोबार समय बढाएर सवा ५ बजेसम्म बजार खुला राखिएको थियो । यही भदौ दोस्रो सातायता नेप्सेमा तीन पटक एकै प्रकारको समस्या देखिएको छ । यसअघि यही भदौ १४ र २५ गते पनि यस्तै समस्या भएपछि लगानीकर्ताले निर्धारित समयमा सेयर किनबेच गर्न पाएका थिएनन् ।

धितोपत्र ब्रोकरमार्फत भएका खरिदबिक्री अर्डर नेप्सेको मुख्य कारोबार प्रणाली (म्याचिङ सिस्टम नट्स) मा पुर्‍याउने सिस्टम टीएमएसमा समस्या भएपछि आइतबार पनि निर्धारित समयमा लगानीकर्ताले सेयर किनबेच गर्न नपाएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘सधैं एकै प्रकारको समस्या देखिनु गम्भीर हो,’ उनले भने, ‘समस्या पहिचान गरी छिटोभन्दा छिटो समाधान खोज्न लागेका छौं ।’ सफ्टवेयर प्रदायक कम्पनी वाइकोका अनुसार यसअघि भदौ १४ र २५ मा देखिएको जस्तै समस्या आइतबार पनि देखिएको उनको भनाइ छ ।

वाइकोले एकै प्रकारको समस्या बताए पनि वास्तविकता बुझ्न नेप्सले आफ्नै संयोजकत्वमा स्वतन्त्र विज्ञसहितको एक अध्ययन समिति गठन गरेको छ । त्यसले काम पनि सुरु गरेको उनले बताए । ‘अध्ययन समितिको सुझाव नआई समस्याको कारण पत्ता लगाउनै सकिएन,’ साउदले भने, ‘हामी दीर्घकालीन समाधान खोज्ने प्रयासमा छौं ।’

कार्यकारी अधिकृत साउदले समस्या पत्ता लगाउन नसकिएको बताए पनि सिस्टमप्रदायक कम्पनी वाइको कमजोर क्षमताको भएकाले पटक–पटक समस्या आएको स्रोतले बताएको छ । ‘समस्या वाइकोमै छ, अहिले निरन्तर अनलाइनमार्फत अर्डर बढ्दो छ,’ स्रोतले भन्यो, ‘त्यो भारलाई वाइकोको सिस्टमले धान्न सकेन ।’ यसकारण वाइको कम्पनीको विकल्प खोज्नेबारे पनि नेप्सेमा छलफल सुरु भएको ती अधिकारीले बताए ।

‘पुँजी बजारलाई थेग्न सक्ने क्षमता नेप्सेको सफ्टवेयरमा देखिएन,’ स्रोतले भन्यो, ‘यसकारण वाइको कम्पनी छनोट प्रक्रियामै प्रश्न उठ्ने देखिएको छ ।’ वाइकोसँगै ब्रोकर पनि दोषी रहेको स्रोतले दाबी गरेको छ । सबै ब्रोकरले आवश्यकताअनुसार सिस्टम अद्यावधिक नगर्दा पनि समस्या आएको उनका भनाइ छ । यसबारे वाइकोसँग पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि सफल भएन ।

नियामक निकायले पर्याप्त चासो नदिएकै कारण लगानीकर्ता मर्कामा परेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले बताए । ‘यो समस्या पुरानै हो, पटक–पटक समाधान भयो भनेर भनिन्छ,’ उनले भने, ‘फेरि त्यही समस्या दोहोरिन्छ । लगानीकर्ताले यसलाई कसरी बुझ्ने ?’ निरन्तर समस्या आउँदा बजारप्रतिको विश्वास नै गुम्न लागेको उनको भनाइ छ । ‘लगानीकर्ता निरुत्साहित भएका छन्, कारोबार सिस्टममै विश्वास नभएपछि कसरी आफ्नो सम्पत्ति सुरक्षित छ भनेर कसरी आश्वस्त हुनु,’ उनले थपे । त्यसो त नेप्सेको कारोबार सिस्टम खरिद प्रक्रियामै अनियमितता भएको धितोपत्र बोर्डकै एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा धितोपत्र बोर्डले गठन गरेको ‘नेप्सेको विद्युतीय प्रणाली तथा डिस्प्ले बोर्ड खरिदसम्बन्धी छानबिन’ समितिले स्वचालित विद्युतीय कारोबार प्रणालीका लागि सफ्टवेयर खरिदमा अनियमितता भएको निष्कर्ष निकालेको थियो । नेप्सेले अनलाइन सञ्चालनका लागि सफ्टवेयर खरिद गर्दा सार्वजनिक खरिद ऐनको उल्लंघनका साथै कम गुणस्तरको लिएको छानबिन समितिले औंल्याएको छ ।

‘नेप्सेबाट विद्युतीय कारोबार प्रणाली स्थापना गर्ने क्रममा सार्वजनिक खरिद ऐन नियमका व्यवस्था पूर्ण रूपमा पालना गरी स्तरीय प्रणाली, सफ्टवेयर तथा डिस्प्ले बोर्ड खरिद गर्न खुला, पारदर्शी, वस्तुनिष्ठ तथा विश्वसनीय प्रक्रिया अवलम्बन गरेको नदेखिएको,’ अध्ययन प्रतिवेदनमा उल्लेख छ । करिब सवा ११ करोड रुपैयाँ लागतमा वाइको प्रालिले सफ्टवेयर बनाएको हो । ‘अनलाइन प्रणाली सञ्चालनमा ल्याएको लामो समयसम्म पनि प्रयोगकर्ता स्वीकार परीक्षण (युजर एसेप्टेन्स टेस्ट– यूएटी) कै चरणमा रहेको तथा गम्भीर प्रकृतिका कमीकमजोरी देखिएको,’ प्रतिवेदनमा उल्लेख छ, ‘ग्राहकले धितोपत्र खरिदबिक्रीका लागि आदेश दिएपछि ग्राहकको बैंक खाता तथा डिम्याट खाताको वास्तविक स्थितिअनुसार आदेश कार्यान्वयन हुनुपर्नेमा सो पूर्ण रूपमा हुन नसकेकाले नेप्सेले खरिद गरेको सफ्टवेयर स्तरीय भन्न सकिने अवस्था नभएको ।’ पुरानो कारोबार प्रणाली हटाई नयाँ नेप्से अनलाइन ट्रेडिङ सिस्टम (नट्स) लागू गर्नुपर्नेमा पुरानैलाई नयाँले प्रतिस्थापन गरेको पनि प्रतिवेदनको निष्कर्ष छ । धितोपत्र बजारका लगानीकर्ताको हित तथा धितोपत्र बजारको संवेदनशीलतालाई बेवास्ता गर्दै ०७५ असार ३२ को आफ्नै निर्णयविपरीत नेप्सेले यूएटी सम्पन्न गरी आईएसओ सर्टिफिकेट नलिई परीक्षणका क्रममा रहेको प्रणालीलाई औपचारिक रूपमा उद्घाटन र सञ्चालनमा ल्याएको आरोप पनि अध्ययन प्रतिवेदनमा छ । नट्स खरिद प्रक्रियामा पनि पूर्ण प्रतिस्पर्धा नगराई आफूले चाहेको कम्पनीलाई जिम्मा दिएकाले सार्वजनिक खरिद ऐनविपरीत भएको प्रतिवेदनले देखाएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?