१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोगवनी नाकाबाट आयातनिर्यात सामान्य हुँदै

विनोद भण्डारी

विराटनगर — सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालनमा आएसँगै जोगवनी नाकाबाट हुने आयातनिर्यात सामान्य अवस्थामा फर्किंदै छ । लकडाउन खुकुलो भएको र नजिकिएको दसैंका कारण करिडोरका प्रायः सबै उद्योग सञ्चालनमा छन् ।

जोगवनी नाकाबाट आयातनिर्यात सामान्य हुँदै

पछिल्लो समय कन्स्ट्रक्सन, हाइड्रोपावर र स्टिलसँग सम्बद्धबाहेक करिडोरका सबै उद्योग सञ्चालनमा छन् । उद्योगी एवं मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भने उद्योग सञ्चालनसँगै बजार पनि चलायमान भएपछि औद्योगिक नगरीमा आर्थिक चहलपहल सुरु भएको छ ।

चैतदेखि असारसम्म प्रायः सबै उद्योग बन्द रहे । साउनदेखि आंशिक रूपमा खुलेका उद्योग भदौ तेस्रो सातासम्म सबै खुले । अवस्था हेरेर यहाँका उद्योगले अहिले ५० देखि ९० प्रतिशतसम्म उत्पादन गर्न थालेको मुन्दडाले जानकारी दिए । लकडाउनको सुरुवाती चार महिना मजदुरी गर्न उद्योगमा नजाँदा र गएकालाई पनि कोरोना संक्रमण पुष्टि हुँदा करिडोरका प्रायः उद्योग बन्द थिए । नजिकिएको दसैंलाई लक्ष्य गरी अब बजारलाई पनि सुरक्षित किसिमले नियमित खुला गर्ने प्रयास भइरहेको मुन्दडाको भनाइ छ ।

औद्योगिक कच्चा पदार्थसहित व्यापारिक सामान आयात र स्थानीय उत्पादन निकासी बढेपछि जोगवनीबाट हुने आयातनिर्यात सामान्य अवस्थामा फर्किएको विराटनगर भन्सार प्रमुख शिव भण्डारीले बताए । सामान्य अवस्थामा विराटनगर भन्सारले दैनिक सरदर १५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएको थियो । तर चैत ११ देखिको लकडाउनले असारसम्म दैनिक बढीमा १५ लाख रुपैयाँसम्म मात्र राजस्व उठायो । साउनदेखि लकडाउन खुकुलो भएसँगै आयातनिर्यात बढ्दा राजस्व संकलन पनि सामान्य अवस्थामा फर्किएको उनले जानकारी दिए ।

भन्सार विभागले विराटनगर भन्सारलाई साउनमा २ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । कार्यालयले भने साउनमा २ अर्ब २४ करोड रुपैयाँ राजस्व असुली गर्‍यो । भदौमा ३ अर्ब २३ करोड असुली गर्ने लक्ष्य छ । तेस्रो सातासम्म करिब दुई अर्ब रुपैयाँ राजस्व उठिसकेको भण्डारीले जानकारी दिए ।

लकडाउनको चार महिना यो नाकाबाट औद्योगिक कच्चा पदार्थ र तेस्रो मुलुकबाट आउने कुनै पनि सामान आएनन् । अहिले तेस्रो मुलुकका सामान पनि आयात सुरु भएको छ । पछिल्लो समय तेस्रो मुलुकका सामानसहित औद्योगिक कच्चा पदार्थ फलामका बिलेट, एचआर सिट, एचआर कोइल, पेट्रोलियम पदार्थ, एलपी ग्यास, भटमासको कच्चा तेल, सूर्यमुखी तेल, चिनी, प्लास्टिकका दाना, खाद्यान्नलगायत सामानको आयात बढेको भण्डारीले बताए ।

प्रकाशित : भाद्र २८, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?