कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आलुको मूल्य अकासियो

ताप्लेजुङमै किलोको सय रूपैयाँ
वार्षिक २ अर्बभन्दा बढीको उत्पादन

ताप्लेजुङ/इलाम — फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे । घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए । उसिनेर खान मिल्ने किसिमका ठुल्ठूला दाना आलु पाएका आचार्य सदरमुकाम फुङलिङको तोक्मेडाँडामा प्रतिकिलो एक सय रुपैयाँ पुगेपछि खरिदका लागि यहाँ पुगेका थिए ।

आलुको मूल्य अकासियो

नजिकैको सदरमुकाममा किलोको २० रुपैयाँ बढी भएपछि क्रिक्याले पनि भदौ तेस्रो सातादेखि आलुको मूल्य बढाएका छन् । गाउँसमाजमा सबैले बजार मूल्यअनुसार बेच्नुपर्ने बताएपछि समान बनाइएको उनले बताए । ‘घरमै आउनेलाई एकदुई पैसा त कम भइहाल्छ नि,’ उनले भने, ‘तर यति नजिकै किलोकै २० रुपैयाँ धेरै नै फरक भयो । त्यसैले एक सय नै भन्न थालेका छौं ।’ आलुको पकेट क्षेत्र बुङकुलुङको दूरी सदरमुकाम फुङलिङबाट नौ किलोमिटर छ । ८ किलोमिटर पक्की सडक छ । एक किलोमिटर मात्रै कच्ची छ ।

आलुको मात्रै खेती हुने हिमाली क्षेत्रमा यति बेला धमाधम उत्पादन भइरहेको छ । सदरमुकाम फुङलिङकै माथिल्लो फेदी क्षेत्र, फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा, वडा नम्बर ७ ओलाङचुङगोला र याङमामा आलु उत्पादन हुन थालेको छ । यी क्षेत्रमा एक सिजनमा आलु र अर्को सिजनमा जौ, गहुँ, उवा, फापरलगायतको खेती हुन्छ ।

यो आलु खन्ने र थन्क्याउने सिजन हो । विदेशी पर्यटक आउने र उनीहरूले उपयोग गर्ने आलु पर्यटकीय क्षेत्रमा यो वर्ष खपत हुँदैन । कोरोना संक्रमणका कारण पर्यटक आउने सम्भावना छैन । कञ्चनजंघा हिमालको आधार शिविर क्षेत्रमा उत्पादित आलु स्थानीय आफैंले र पर्यटकका लागि प्रयोग गर्दै आएका थिए । कञ्चनजंघा क्षेत्रमा आउने १३ सय हाराहारीका विदेशी, उनीहरूसँगै आउने गाइड, भरिया, सबैको मुख्य तरकारी आलु खपत नभए पनि सदरमुकाम आसपासमा मूल्य अचाक्ली बढेको छ । विगतमा कात्तिक–मंसिरका बेला पर्ने मूल्य यसपाला भदौमै परेको स्थानीय बताउँछन् ।

उत्पादन घट्नु र लकडाउनका बेला बढी खपत हुनु मूल्यवृद्धिको मुख्य कारण भएको आलु पकेट क्षेत्रका पाशाङरिता शेर्पाको भनाइ छ । ‘गत वर्ष जस्तो राम्रो उत्पादन भएन, लकडाउनमा घरमा बस्नेले खाजा र तरकारीका रुपमा धेरै प्रयोग गरे,’ उनले भने, ‘पहिलो चरणको लकडाउन खुल्नासाथ घरमा गुम्सियौं भनेर हाम्रोमा उसिनेर खानेहरू पनि धेरै आउनुभयो ।’ लकडाउनको समयमा पनि आलु धेरै नै बिक्री भएको उनले बताए । जिल्लामा ४२ सय मिटर उचाइको खम्बाछेन, याङमासम्म आलुखेती हुने गरेको छ ।

अर्बौंको उत्पादन

एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा वार्षिक २ अर्ब रुपैयाँभन्दा बढीको आलु उत्पादन हुने गरेको छ । जिल्लाका प्रत्येक वडामा धेरथोर आलु फल्छ । अरु कुनै बाली नलाग्ने ओलाङचुङगोलामा पनि फल्ने एक मात्र बाली हो, आलु । हिमाली क्षेत्रको कञ्चनजंघा आधार शिविरदेखि खोला गड्तिरसम्मै आलु खेती गरिन्छ । तर आफ्नो उत्पादनले नपुगेर बाहिरी जिल्लाबाट पनि पर्याप्त मात्रामा आयात हुन्छ ।

जिल्लामा वार्षिक ५० हजार ट्रनसम्म आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्यांक छ । धेरै तापक्रम हुने औल, मध्यमखालको भाग र उच्च हिमाली क्षेत्र सबैतिर गरी वर्षभरि नै उत्पादन भइरहन्छ । अहिलेसम्मको आलुको बजार मूल्य प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम एक रुपैयाँ किलोसम्म छ । कात्तिक–मंसिरमा सबैभन्दा बढी महँगी हुन्छ ।

आलुको औसत मूल्य प्रतिकिलो ४० रुपैयाँ मात्रै राखे पनि १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ बराबर हुने वातावरण संरक्षण तथा विकास मञ्चका कृषिविज्ञ हरिश्चन्द्र चिलवालले बताए । तर औसत मूल्य ५० रुपैयाँभन्दा बढी छ । प्राविधिकहरूका अनुसार असिना पानी, हुरी बतास, रोगकीराको प्रकोपले उत्पादनमा घटबढ भए पनि धेरै अन्तर चाहिँ नहुने कृषि प्राविधिक सहायक एकनाथ भण्डारीको भनाइ छ । ‘कहिले हिमाली क्षेत्रमा बढ्छ तर कहिले तराईमा,’ उनले भने, ‘उत्पादन घटे मूल्य बढ्ने भएकाले उत्पादक किसानले निराश हुनुपर्ने अवस्था भने छैन ।’

आलुले जगायो आशा

व्यावसायिक उत्पादन गर्ने गरे पनि मूल्य नपाउँदा निराश बन्ने गरेका किसान यो पटक कोरोना कहरमा पनि आलुले आशालाग्दो कमाइ गरेकामा दंग छन् । विगतमा लागत पनि नउठेको भन्दै खेती घटाउँदै लगेका इलामका लेकाली क्षेत्रका किसानले यो पटक अपेक्षा गरेअनुसार मूल्य पाए । अन्य तरकारी बिक्री नभएर बारीमै सडेको अवस्थामा भित्री गाउँमा उत्पादित आलु खरिद गर्न व्यवसायी घरघर पुगे ।

यो पटक आलुले राम्रो मूल्य पाउनुपर्ने कारण पनि कोरोना सन्त्रास नै रह्यो । बर्खे आलु उत्पादन सुरु हुँदै गर्दा कोरोना महामारीबाट जोगिन भन्दै सरकारले लकडाउन गर्‍यो । भारतबाट आयात हुने आलु पनि रोकियो । जसका कारण यहाँको चिसो मौसममा फलेको गुणस्तरीय र विषादीरहित आलु तराईका बजारमा छ्यापछ्याप्ती पुग्ने मौका पायो ।

चैत ११ देखि लकडाउन सुरु भएपछि पनि उपभोग्य सामग्री निर्यात गर्ने गाडीलाई छुट दिइयो । सोही मौकामा अघिल्लो वर्ष मुस्किलले प्रतिमन ७/८ सय रुपैयाँमा बिक्री गर्नुपर्ने आलु सदरमुकामसहित तराईका बजारसम्म पुर्‍याउँदा किसानले १ हजार ५ सय रुपैयाँभन्दा धेरै मूल्य पाए ।

विगतमा यहाँ उत्पादित आलु भारतीय बजारमा सस्तो मूल्यमा बिक्री हुने गरेको थियो । तर ठूला बजारमा भारतबाटै आएको आलु महँगोमा उपभोक्ताले खरिद गर्नुपर्ने बाध्यता थियो । यो पटक गुणस्तरीय आलु किसानबाट सिधै उपभोक्तासम्म पुगेको हो । ‘छिमेकी जिल्लामा उत्पादित यति स्वादिलो आलु यसअघि उपभोग गर्न पाइएकै थिएन,’ झापा धुलाबारीका दीपक खनालले भने, ‘यसको स्वाद मीठो हुने र गुणस्तरीय भएको थाहा पाएपछि उपभोक्ताले खोजीखोजी प्रयोग गरे ।’ यो पटक नेपालकै उपभोक्ताले यहाँको आलुको स्वाद चाखेकाले आगामी वर्षमा पनि माग हुने किसानको विश्वास छ ।

अहिले एक मन आलु बेचेको पैसाले एक मन चामल आउने गरेको प्याङका रघु राई बताउँछन् । खुद्रा बजारमा प्रतिकिलो ७० रुपैयाँसम्ममा आलु बिक्री भइरहेको छ । व्यवसायी भने भारतीय आलु नआउँदा महँगिएको गुनासो गर्छन् । आलुको भाउ आए पनि उत्पादन कम भएकाले बजारको माग पूरा गर्न नसकिएको इलामका व्यापारी पासाङ शेर्पाको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?