२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

विकल्प खोज्दै होमस्टे व्यवसायी

गाभर भ्याली होमस्टेका प्रायः सञ्चालक अहिले कृषि र पशुपालनतिर मोडिएका छन्
मधु शाही

बाँके — होमस्टे व्यवसायमा सम्भावना देखेपछि बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गंगादत्त जैसीले बैंकबाट २० लाख रुपैयाँ ऋण निकालेर लगानी गरे । व्यवसाय फस्टाइरहेको थियो । आम्दानी भएपछि ऋण चुक्ता गर्न सहज थियो । ५ लाख रुपैयाँ बुझाउन बाँकी थियो । आन्तरिक र बाह्य पर्यटक आउँथे । स्वागत सत्कारमा परिवार व्यस्त हुन्थे ।

विकल्प खोज्दै होमस्टे व्यवसायी

पाँच महिनायता उनीहरूको दैनिकी परिवर्तन भएको छ । पाहुना आउँदा डराउनुपर्ने स्थिति छ । गत चैतमा लकडाउन भएपछि मासिक ५ हजार तिर्न पनि मुस्किल परेको जैसीले बताए ।

कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालकले आम्दानीको विकल्प रोज्न थालेका छन् । ५० वर्षे जैसीको पाहुना घर खाली छ । यो समयमा उनी पाहुना कुरेर बस्नुभन्दा आयआर्जनको विकल्पका रूपमा कृषि पेसा अँगाल्न थालेका छन् । यसै महिना उनले ३० वटा बाख्रा खरिद गरे । सँगै भैंसी, कुखुरा पनि पाल्ने योजना बनाएका छन् । भाडामा लिएको तीन बिघा जग्गामा टमाटर खेती गर्न लागेका छन् । ९ जनाको परिवार सबै खेतीपातीमा खटिएका छन् । ‘पाहुनासँग डराउनुपर्ने स्थिति आयो, पेट पाल्न विकल्प रोज्नै पर्‍यो,’ उनले भने, ‘होमस्टेलाई एग्रो फार्मका रूपमा विकास गर्दै छु ।’

गाभर भ्याली होमस्टेका प्रायः सञ्चालक अहिले कृषि र पशुपालनतिर मोडिएका छन् । बाँके राष्ट्रिय निकुञ्जसँगै जोडिएको गाभर भ्याली होमस्टे ७ वर्षदेखि सञ्चालनमा छ । खास गरी सुदूरपश्चिमका पर्यटकीय स्थल रारा, खप्तड, धनगढी, कञ्चनपुर, बर्दिया निकुञ्जलगायत स्थलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटक विश्राम गर्ने केन्द्र यही हो । १७ घर होमस्टे रहेको यहाँ अहिले पाहुना आउँदा स्वागत त के डराएर राख्ने स्थिति छैन । ऋण गरेर लगानी गरेको व्यवसायमा घाटा खेप्नुपरेपछि अहिले विकल्प खोज्न थालिएको हो ।

होमस्टे व्यवसायी कर्णराज रोकायले दुई वर्षअघि होमस्टेमा प्रशस्त सम्भावना देखेर लगानी लगाए । उनले सोचेजस्तै राम्रो आम्दानी भएको थियो । थप लगानी लगाएर होमस्टेलाई व्यवस्थित गर्ने सोचसमेत बनाएका थिए । वन डिभिजनमा करारको जागिर छोडेर उनले व्यवसायमा हात हाले । अहिले भने उनी लगानी डुब्ने चिन्तामा छन् । झन्डै २२ हजार रुपैयाँ बैंकको ब्याज तिर्नुपर्दा सकस छ । ‘आम्दानी सुको छैन,’ उनले भने, ‘अब तरकारी खेती गर्ने सोचमा छु ।’

बाँकेमा तीन वटा सामुदायिक होमस्टे र ४ वटा निजी होमस्टे सञ्चालित छन् । जसमध्ये गाभर भ्याली होमस्टेमा १७ वटा घर आबद्ध छन् । राप्ती सोनारी गाउँपालिकामा पर्ने नयाँगाउँ होमस्टेको अवस्था पनि उस्तै छ । यहाँका प्रायः व्यवसायी विकल्पका रूपमा कुखुरापालन र तरकारी खेती गर्न थालेका छन् । दुई वर्षदेखि होमस्टे सञ्चालनको अनुभव बटुलेकी नानीकला जैसीले होमस्टे चलाउन नसकेपछि तरकारी खेती गर्न थालेको बताइन् । ‘पहिला पाहुनाकै सत्कारमा समय दिन भ्याइनभ्याइ हुन्थ्यो,’ उनले भनिन्, ‘तरकारी बेचेर भए पनि घर खर्च चलाउन थालेकी छु ।’

प्रकाशित : भाद्र २५, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?