भारतबाट मल ल्याएर कालोबजारी

प्रदेश ब्युरो

बुटवल — रूपन्देहीको रोहिणी गाउँपालिका–२ पोखरभिन्डीका योगेन्द्रप्रसाद चौधरीले ११ बिघामा धान खेती गरेका छन् । धान पसाउने बेला भएपछि उनले ६ बोरा युरिया मल छरे । त्यो मल उनले सजिलै पाएका भने होइनन् । ‘१० दिनसम्म स्थानीय सहकारीमा धाउँदा एक बोरा मल पाइयो,’ उनले भने, ‘भारतबाट ल्याएर बिक्री गर्नेहरूसँग किनेर ६ बोरा छरेको हुँ ।’

भारतबाट मल ल्याएर कालोबजारी

यहाँ युरिया मलको प्रतिबोरा ७ सय ८० रुपैयाँ पर्छ । तस्करी गरेर ल्याउनेसित खरिद गर्दा प्रतिबोरा १४ सय रुपैयाँ तिरेको उनले बताए । दुवै मुलुकका प्रहरीले कडाइ गर्न थालेपछि मल ल्याउन नपाएको उनको भनाइ छ । उनी जस्तै ८ बिघामा धान लगाएका जयप्रकाश यादवले पनि सीमाछेउका विक्रेताबाट मल खरिद गरेको बताए । ‘सहकारीमा डीएपी चाहिँदा युरिया, युरिया चाहिँदा डीएपी मात्र उपलब्ध हुन्छ,’ उनले भने । पर्याप्त नपाएपछि भाइहरूलाई समेत आफूले १/१ बोरा युरिया मल दिएर धानमा छरे जस्तो गरेको उनको भनाइ छ । सीमावर्ती भारतीय बिचौलियाले राति मल नेपाल ल्याउँछन् । ‘राति नै यताकाले घरमा ल्याएर राख्छन्,’ उनले भने, ‘त्यही मल धेरै मूल्य लिएर बेच्ने गरेका हुन् ।’ केही दिनयता प्रहरीले कडाइ गरेपछि यस्तो बिक्री कम भएको उनले बताए ।

धानलाई अहिले प्रशस्त युरिया चाहिने बेला हो । मल नपाएपछि बाला कम लाग्ने समस्या हुन्छ । स्थानीयले १ हजार ६ सय रुपैयाँसम्म तिरेर तिनै बिचौलियाबाट खरिद गरेको चौधरीको भनाइ छ । सरकारले मल, बीउ समयमा र पर्याप्त उपलब्ध नगराउँदा किसानलाई भोकमरी लाग्ने स्थानीयको चिन्ता छ । धानले गाँज हाल्दा मल नपाएपछि भारतीय बजारबाट मल ल्याउने गरेका छन् । तर अहिले भारतीय बजारमा मल अभाव भएपछि रोकिएको सशस्त्र प्रहरी बल मैनहिवाका प्रहरी निरीक्षक सुरज पाण्डेले बताए ।

‘पहिले राति ल्याउने गरेका थिए,’ उनले दाबी गरे, ‘तर अहिले बन्द छ ।’ दुई साताअघि प्रहरीले सीमावर्ती गाउँमा छापा मारेर ५० बोरा मल बरामद गरेर भन्सारमा बुझाएपछि तस्करी कम भएको उनको भनाइ छ । रूपन्देहीका दक्षिणी मैनिहवा, टिकरी, अमुवा, विष्णुपुरा तथा उत्तर भेगको बगौली, खैरा, टन्टनपुर, बोगडीमा मलमा कालोबजारी भएको किसानले बताए । भारतबाट ओसारेको मल महँगो मूल्य तिरेर किनेको उनीहरूको भनाइ छ ।

गत ३२ साउनमा ५६ बोरा अवैध युरिया मलसहित तुलसीपुरमा एक महिला पक्राउ परिन् । तुलसीपुर उपमहानगरपालिका–७, शिवनगर टोलकी गौरी न्यौपाने अवैध मल बेचेको अभियोगमा समातिएकी थिइन् । उनले सञ्चालन गरेको आचार्य ट्रेडर्सबाट अवैध रूपमा भारतीय युरिया मल बिक्रीवितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा अवैध मल बरामद भएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । गत ९ भदौमा गढवा बजारबाट मलको कालोबजारी गरेको अभियोगमा तीन जना पक्राउ परे । गढवा बजार र आसपासको क्षेत्रमा रहेका रासायनिक मलका विक्रेताहरूले बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गढवा गाउँपालिका–५ का सुनील पोख्रेल, गढवा–६ का राजकुमार गुप्ता र युवराज पाण्डेले प्रतिबोरा ७ सय २१ रुपैयाँ पर्ने युरियालाई २ हजार ४ सयका दरले बेचेर कालोबजारी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा १४ बमोजिम मुद्दा चलाइएको उनले जानकारी दिए । जिल्लामा रासायनिक मलमा कालोबजारी भइरहेको र यस्तो काममा संलग्नलाई निगरानी राखिरहेको खड्काले बताए । संलग्न भएको पाइएमा तत्काल पक्राउ गरी कारबाही थालिने उनले दाबी गरे ।

एकातिर यसरी व्यापारीहरूले कालोबजारी गरिरहेका छन् भने अर्कोतिर किसानहरूले मल पाइरहेका छैनन् । मल नपाएको भन्दै घोराही उपमहानगरपालिका–२, रामपुरका किसानले केही दिनअघि हलोजुवासहित प्रदर्शनसमेत गरे । उनीहरूले वडा कार्यालय घेराउ गरी मलको व्यवस्था गर्न माग गरे । धान रोपेको लामो समयसम्म मल नपाएपछि वडा कार्यालय पुगेर दबाब दिएको किसान निमबहादुर चौधरीले बताए । मलमा व्यापारीले कालोबजारी गर्ने तर किसानले नपाउने अवस्था आएको उनको भनाइ छ । मल वितरक कम्पनीहरूले भने मल अभाव नरहेको दाबी गरिरहेका छन् ।

अहिले जिल्लामा किसानले सहजै मल पाइरहेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखा प्रबन्धक विष्णुप्रसाद केसीको भनाइ छ । गत वर्षभन्दा बढी नै मल आएको उनले बताए । गत वर्ष ७ हजार मेट्रिक टन मात्रै मल बिक्री भएकामा अहिले १५ हजार टन बिक्री गरिसकेको केसीले जानकारी दिए । पश्चिम नवलपरासीमा रासायनिक मल भने सहज रूपमा उपलब्ध भएको छैन । १०/२० किलो मलका लागि यहाँका किसानले जोखिम मोलेर भारत जानुपर्ने बाध्यता छ । नेपाल–भारत सीमा सिल गरिएका कारण लुकीछिपी रातको समयमा भारत जानुपर्ने वा महँगो मूल्य तिर्नुपरेको छ । धान रोपाइँको समयमा रासायनिक मल नपाएपछि घरको जैविक मल राखेर रोपाइँ गरेको रामग्राम–५ का देवेन्द्रबहादुर महतोले बताए ।

धान गोडमेल गरेपछि युरिया मल छर्ने उनको योजना पूरा हुन सकेन । धान गोडेर अहिले पसाउने समय हुन लाग्दासमेत मल नपाएपछि उनले प्रतिबोरा १ हजार ५ सय तिरेर मल खरिद गर्नुपरेको गुनासो गरे । बजारमा ८ सय रुपैयाँ पर्ने २५ किलो मललाई महतोले कालोबजारी गर्नेसँग महँगोमा खरिद गर्नुपर्‍यो । ‘मल वितरण गर्दै आएका सहकारीमा न्यून मात्रामा मल आउने र त्यो पनि आफ्ना चिनजानका मानिसलाई बिक्री गरेपछि सर्वसाधारण मर्कामा परेका छन्,’ उनले भने, ‘यो कोरोना महामारीमा भारतसम्म पुगेर जोखिम मोल्नुभन्दा महँगोमा मल खरिद गरेर खेतमा छर्नुपर्‍यो ।’ महतोले मात्र होइन, जिल्लाका अधिकांश किसानको समस्या उस्तै छ । सहजै मल नपाइने तर कालोबजारी गर्ने गिरोहले महँगोमा मल बिक्री गरिरहेको छ । किसानले युरिया मल नपाएर भौतारिरहँदा पश्चिम नवलपरासीमा भने प्रहरीले दिनहुँ रासायनिक मल नियन्त्रणमा लिँदै भन्सार कार्यालयलाई बुझाउने गरेको छ ।

केही समयअघि बर्दियाको बढैयाताल–८ का ७७ वर्षीय किसान टीकाराम सुवेदीले भारतबाट बेच्न ल्याएको युरिया मल गुलरियास्थित भादा पुल नजिक खरिद गरे । मल खरिद गरी मोटरसाइकल चालकसहित पछाडि बोकेर लैजाने क्रममा प्रहरीले रोक्यो । उनको मल प्रहरीले जफत गर्‍यो । ८ सय रुपैयाँमा पाइने मल उनले १ हजार ४ सय रुपैयाँमा खरिद गरेको बताए । निकै अनुरोध गरे पनि माथिको आदेश भएकाले छाड्न नमिल्ने भनेपछि निकै निराश भएर घर फर्केको उनले गुनासो गरे । सुवेदीजस्ता सयौं किसानले भारतीय सीमाबाट ल्याउने मल प्रहरीले यति खेर धमाधम पक्राउ गर्दै आएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गत साउन २५ गतेदेखि हालसम्म ५ सय २० बोरा मल किसानले भारतीय सीमाबाट ल्याउँदै गर्दा पक्राउ गरी भन्सारमा पठाएको छ ।

– सन्जु पौडेल (तिलोत्तमा), दुर्गालाल केसी (दाङ), नवीन पौडेल (परासी) र कमल पन्थी (बर्दिया)

प्रकाशित : भाद्र २१, २०७७ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?