कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघु जलविद्युत्‌को लगानी, बालुवामा पानी

राष्ट्रिय प्रसारण लाइनको बिजुली गाउँगाउँ पुगेपछि साना आयोजनाको विद्युत् उपयोग भएन, तिनको लगानी पनि खेर गयो
कुम्भराज राई

ओखलढुंगा — १० वर्षअघि मानेभन्ज्याङ गाउँपालिका–५ का स्थानीयले १२ किलोवाट क्षमताको माइक्रोहाइड्रो (लघु जलविद्युत्) सञ्चालन गरे । गाउँमा बत्ती बल्दा कम्ता खुसियाली छाएन । सर्वसाधारणले ब्याजमा ऋण काढेर, गहना बेचेर र दुहुना गाई बेचेर पनि लगानी गरे । दातृ निकायको सहयोग र गाविसको बजेट त्यसैमा खन्याए । एक करोडभन्दा बढी खर्च भयो ।

लघु जलविद्युत्‌को लगानी, बालुवामा पानी

पानीको मात्रा घट्दा विद्युत् उत्पादन केही घट्यो । मेसिनले उत्तिकै काम गरिरहेको छ । जनश्रमदानमा बगाएको पसिना अझै ओभाएको छैन । तर यस वर्षदेखि उनीहरूको यो लगानी खेर जाने भएको छ । गाउँमा राष्ट्रिय प्रसारण लाइन जडानको काम भइरहेको छ । स्थानीय लघु जलविद्युत् आयोजना विद्युत् प्राधिकरणलाई हस्तान्तरण नगरेसम्म राष्ट्रिय प्रसारण नजोडिने भएपछि उनीहरूले कागज गरेरै हस्तान्तरण गरे ।

‘विद्युत् प्राधिकरण मातहत हामीले जिम्मा दिइसक्यौं । अब हाम्रो पोल, ट्रान्सफर्मर र तार प्राधिकरणले प्रयोग गर्ने भनेको छ । मेसिनचाहिँ त्यसै बिग्रेर जाने भयो,’ रुम्दुखोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष मानबहादुर पुलामीले भने, ‘राष्ट्रिय प्रसारण लाइनको बिजुली आए पनि विकल्पका रूपमा हामीले आयोजना सञ्चालन गर्न पाएको भए हुने थियो । तर प्राधिकरणले दिएन ।’

यो समस्या मानेभन्ज्याङको मात्रै होइन । समग्र पूर्वी पहाडकै हो । एक दशकयता लघु जलविद्युत् आयोजना निर्माण गरेर बत्ती बाल्ने लहर चलेको थियो । यस अवधिमा ओखलढुंगामा ५० भन्दा बढी लघु जलविद्युत् आयोजना निर्माण भए । हाल ४० भन्दा बढी सञ्चालनमा छन् । कतिपय आयोजना सञ्चालनमा आएको एक वर्ष पनि बितेको छैन । ५ किलोवाटदेखि १ सय किलोवाटसम्मका लघु जलविद्युत् आयोजना छन् । जिल्लाभरिका आयोजनाबाट उत्पादित कुल विद्युत् क्षमता जोड्ने हो भने करिब १ मेगावाट पुग्छ । लगानी जोड्ने हो भने एक अर्ब हाराहारी छ । तर राष्ट्रिय प्रसारण लाइन जोडिएपछि यो लगानी बालुवामा पानीसरह हुने खिजिदेम्बा गाउँपालिका–५ का स्थानीय प्रदीप सुनुवारले बताए । ‘उपभोक्ताले ९० दिनसम्म श्रमदान गरेका छन् । पैसा हालेका छन् । सबै लगानी अब खेर जाने भयो,’ सुनुवारले भने, ‘कम्तीमा यी आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने र उपभोक्तालाई लगानीअनुसार मुनाफा दिनुपर्ने हो ।’

प्राधिकरणले उल्टै लघु जलविद्युत् आयोजनाकै पोल, ट्रान्सफर्मर र तार प्रयोग गर्ने अनि नाफा लिने गरेको उनले बताए । खिजिदेम्बा गाउँपालिका जिल्लाकै सबैभन्दा बढी लघु जलविद्युत् आयोजना भएको गाउँपालिका हो । यहाँ हाल १२ वटा लघु जलविद्युत् सञ्चालनमा छन् ।

विद्युत् प्राधिकरणले लघु जलविद्युत् आयोजना जिम्मा लिएर त्यही लाइनमा राष्ट्रिय प्रसारणको विद्युत् जोड्ने काम भइरहेको जनाएको छ । ‘हामीलाई आवश्यकस्तरको पोल, तार, ट्रान्सफर्मर हामी प्रयोग गर्छौं । मर्मत सम्भार पनि हामी नै गर्छौं,’ प्राधिकरणको वितरण शाखा ओखलढुंगाका प्रमुख सञ्जीवकुमार साहले भने, ‘तर त्यहाँ उत्पादित बिजुलीलाई जोड्ने र उपभोक्तालाई कुनै किसिमको भुक्तानी गर्ने भन्ने प्रावधान छैन ।’

यस विषयमा प्राधिकरण केन्द्रको सञ्चालक समितिमा समेत छलफल भएको सुनिएको तर नयाँ कुनै निर्णय भएको नबुझेको साहले जानकारी दिए । हालसम्म ओखलढुंगाका आठवटा लघु जलविद्युत् आयोजना प्राधिकरण मातहत आइसकेका छन् । लिखु गाउँपालिकाका दुईवटा आयोजना उपभोक्ताले हस्तान्तरण गर्न नमानेपछि काम रोकिएको छ ।

उज्यालो ओखलढुंगा अभियान जारी

आठ स्थानीय तहमध्ये सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकाका अधिकांश भूभागमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ । यसै वर्ष गाउँपालिका क्षेत्रभरि विद्युत् विस्तार गर्ने योजनाका साथ मानेभन्ज्याङ गाउँपालिकामा काम भइरहेको छ । त्यसका लागि सोलु करिडोरले प्रसारण लाइन आसपास पर्ने तीन किलोमिटर क्षेत्रमा २० करोड बजेट विनियोजन गरी विद्युत् वितरणको काम गरेको छ ।

सोलु करिडोरको बजेटबाट अपुग क्षेत्रमा लाइन विस्तार गर्न प्राधिकरणले एक करोड पाँच लाख बजेट विनियोजन गरेको छ । बाँकी अपुग क्षेत्रमा गाउँपालिकाले बजेट छुट्याएर यसै वर्षभित्र विद्युत् प्रसारण गाउँपालिका क्षेत्रमा विस्तार गरिसक्ने जनाएको छ । सबै स्थानीय तहले विद्युतीकरणका लागि बजेट विनियोजन गरेका छन् । सुनकोसी गाउँपालिकाका लागि गतवर्ष विद्युत् प्राधिकरणले एक करोड सात लाख बजेट विनियोजन गरेको साहले बताए । सुनकोसी गाउँपालिकाको कोषभन्ज्याङमा सबस्टेसन बनाउन आवश्यक काम भइरहेको छ । कोषहाट र खिजिफलाँटेमा सबस्टेसन निर्माण गर्न सके जिल्लाकै लागि पर्याप्त हुने अनुमान छ । आगामी दुईदेखि तीन वर्षभित्र पूरै जिल्लाभरि राष्ट्रिय प्रसारण लाइन जोडेर उज्यालो ओखलढुंगा बनाउने अभियानकै रूपमा काम भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित : भाद्र २१, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?