साल्ट ट्रेडिङको मलले केही राहत

सुरेशराज न्यौपाने

नयाँदिल्ली — मल आपूर्तिको जिम्मा पाएका कम्पनीहरूले लापरबाही गरिदिएका कारण यस वर्ष पनि किसानका लागि पुरानै नियति दोहोरिएको छ । हरेक वर्ष कहिले ढुवानी समस्या, कहिले अन्तर्राष्ट्रिय मूल्यमा हुने उतारचढाव त कहिले सरकारी निकायबीचको समन्वय अभावका कारण यस वर्ष पनि किसानले समयमै मल पाएनन् ।

साल्ट ट्रेडिङको मलले केही राहत

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मौज्दात नपुग्ने भएपछि थप बजेटको व्यवस्था गर्दै बर्खे बालीका लागि ७५ हजार मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी आपूर्ति प्रक्रिया अगाडि बढाएको थियो । सोहीअनुरूप कृषि सामग्री कम्पनीले शैलुङ र होनिकोसँग २५/२५ हजार र साल्ट ट्रेडिङ कर्पोरेसनले छुट्टै २१ हजार ५ सय टनको ठेक्का सम्झौता गरेको थियो । जुन हिउँदका लागि थियो । साल्टले जसोतसो मल आपूर्ति गरे पनि कृषि सामग्री कम्पनीका तर्फबाट लागेको ठेक्काअन्तर्गतको मलको आपूर्ति भने अझै अनिश्चित बनेको छ ।

हाल कोलकाताबाट वीरगन्ज ढुवानी भइरहेको युरिया मल साल्टले खरिद गरेको हो । कोलकातास्थित महावाणिज्य दूतावासका अनुसार बिहीबार साँझ १३ हजार मेट्रिक टन युरिया रेलबाट वीरगन्जका लागि छुटिसकेको छ । सामान्य अवस्थामा कोलकाताबाट छुटेको रेलको र्‍याक वीरगन्ज पुग्न ३८ देखि ४३ घण्टा लाग्छ । यसबाहेक ट्रकबाट समेत करिब पाँच सय टन बराबरको मल वीरगन्ज र विराटनगरसम्म ढुवानी भइसकेको छ ।

हालसम्म करिब १४ हजार टन मेट्रिक टन युरिया मल नेपाल पुर्‍याइएको छ । अब कोलाकातामा करिब १८ हजार टन बाँकी छ । एक र्‍याकमा करिब २६ सय टन अर्थात् ५२ हजार बोरा बराबर हुन्छ । जसलाई लोड गर्न करिब १८ घण्टा लाग्ने गरेको छ । कोलकातामा रहेको मललाई चाँडोभन्दा चाँडो नेपाल पठाउन पहल गरिरहेको महावाणिज्यदूत ईश्वर पौडेलले जानकारी दिए । त्यसका लागि पोर्ट अथोरिटी र नेपालका निकायसँग समन्वय भइरहेको उनले बताए । ‘यहाँ आइपुगेको मल नेपाल पठाउन कृषि मन्त्रालय र सबै निकायसँग समन्वय भइरहेको छ,’ उनले भने ।

बाँकी मल आपूर्ति गर्न करिब २० दिन लाग्ने साल्टका नायब महाप्रबन्धक पंकज जोशीले बताए । ‘मौसम धेरै प्रतिकूल नभएको खण्डमा २० दिनसम्म कोलकातामा भएको सबै मल वीरगन्ज पुगिसक्नेछ,’ उनले भने । कम्पनीले बर्खे बालीका लागि भनेर ल्याएको २१ हजार पाँच सय र आगामी हिउँदे बालीका भनेर ल्याएको ११ हजार टन गरी कुल ३२ हजार पाँच सय टन युरिया कोलकातामा ल्याएको हो ।

कृषि सामग्री कम्पनीले ठेक्का लगाएको मलको भने अत्तोपत्तो छैन । शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलसँग गरेको ठेक्का सम्झौताअनुसार ११७ दिनभित्र २५/२५ हजार टन युरिया आपूर्ति गर्नुपर्ने थियो । त्यसअनुसार भदौ २० मा आपूर्ति गर्ने म्याद सकिन्छ । कोलकातामै मल आइनपुगेको हुँदा यस वर्ष पनि किसानले चर्को अभाव खेप्नुपर्ने भएको छ ।

समयमै मल उपलब्ध नहुनुमा साल्ट ट्रेडिङ पनि दोषी देखिन्छ । कम्पनीको लापरबाहीका कारण गत वैशाखमा बर्खे बालीका लागि भनेर मगाएको २१ हजार ५ सय टन मलको आपूर्ति करिब तीन महिना ढिला गएको हो । साल्टले लकडाउन सुरु हुनुअघि नै दुबईस्थित मल्टी कमोडिटिज नामक कम्पनीमार्फत ओमनमा उत्पादित २१ हजार पाँच सय मेटन युरिया खरिद प्रक्रिया अगाडि बढाएको थियो । अरू बेला कोलकातासम्म ल्याउने गरिए पनि यस पटक भने कम्पनीले गुजरातको कान्डला (महारावो खेन्गर्जी) बन्दरगाह पुर्‍यायो । तर, कान्डला बन्दरगाहबाट नेपाललाई तेस्रो मुलुक व्यापार छुट नभएकाले त्यहाँको पोर्ट अथोरिटीले मललाई यार्डमा अनलोड गर्न दिएन् ।

काँगडा पुगेको मल करिब तीन महिना त्यहीं रोकियो । भारतबाट अनुमति नपाउने देखेपछि आपूर्तिकर्ताले बाध्य भएर करिब तीन महिनापछि मललाई कोलकाता नै डाइभर्ट गर्‍यो । हाल डाइभर्ट गरिएको त्यही मल साल्टले आपूर्ति गरिरहेको छ ।

प्रकाशित : भाद्र २०, २०७७ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?