कोरोना बिमाको संख्या र दाबी दुवै बढे- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना बिमाको संख्या र दाबी दुवै बढे

करिब ८ लाख ९५ हजार जनाले गरे बिमा
१ लाख ५ सय ४८ वटा बिमालेख बिक्री
५० करोड ३७ लाख ३० हजार रूपैयाँ बिमा शुल्क संकलन
कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को संक्रमण बढेसँगै कोरोना बिमा गर्ने बिमितको संख्या र दाबी दुवै बढेका छन् । बिमा समितिको तथ्यांकअनुसार सोमबारसम्म करिब ८ लाख ९५ हजार जनाले कोरोना बिमा गरिसकेका छन् ।

यस अवधिमा १ लाख ५ सय ४८ वटा बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट ५० करोड ३७ लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । राष्ट्रिय बिमा कम्पनीलगायत केही संस्थाबाट बिमा भएको संख्या आउन बाँकी छ । त्यो तथ्यांक पनि जोड्दा करिब १० लाख जनाको बिमा भएको र त्यसबाट ६० करोड रुपैयाँभन्दा धेरै शुल्क संकलन भएको जनाइएको छ ।

पछिल्ला दिनमा बिमा कम्पनीमा बिमाको दाबी ह्वात्तै बढेको छ । गत सोमबारसम्म १ हजार १ सय ८ जनाको दाबी परेको छ । परेका दाबी कुल १० करोड ४८ लाख रुपैयाँ बराबरको हो । सोमबारसम्म परेका दाबीमध्ये १ सय ८३ जनाले भुक्तानी पाइसकेका छन् । जसमा १ सय ६३ जनालाई प्रतिव्यक्ति एक लाख गरी १ करोड ६३ लाख रुपैयाँ र २० जनालाई प्रतिव्यक्ति ५० हजार गरी १० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

परेका दाबीमध्ये ९ सय २५ वटाको भुक्तानी बाँकी छ । जसमा ८ सय २५ वटा प्रतिव्यक्ति एक लाख बिमांक भएका दाबीको ८ करोड २५ लाख रुपैयाँ र एक सय वटा प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिमांकको १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा समितिको निर्देशनअनुसार कागजात पुगेका दाबीलाई बढीमा एक साताभित्र भुक्तानी दिइसक्नुपर्छ । तर पछिल्ला सातामा दाबी भुक्तानी नभएर थुप्रिने क्रम बढी छ । आवश्यक कागजात नभएकाले केही दाबी भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए ।

खासगरी कर्पोरटबाट आउने दाबीमा सबै कागजात आउन ढिलाइ भएको उनले बताए । उनका अनुसार कर्मचारी बिरामी भएर बसेपछि अरूलाई कागजात जुटाउन गाह्रो भएको हो । बाँकी दाबी भुक्तानी बढेपछि अब कर्पोरेट कार्यालयको जमानीमा कागजात पछि दिने गरी भुक्तानी दिने कि भन्नेबारे पनि छलफल भए पनि निर्णय भइनसकेको उनले बताए । ‘कम्पनीहरू दाबी भुक्तानी ढिलाइ गर्ने पक्षमा छैनन्, कसरी हुन्छ छिटो दाबी भुक्तानी होस भनेर लागिरहेका छौं,’ उनले भने, ‘तर, धेरै दाबीको कागजात नै आइपुगेन ।’ परेका दाबीको तुलनामा भुक्तानी कम देखिएको बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । ‘कागजात पुगेका दाबी भुक्तानीमा ढिलाइ हुँदैन,’ उनले भने, ‘बाहिर आवतजावतमा समस्या भएकाले डकुमेन्ट नआएको होला ।’ कोरोना बिमासम्बन्धी मापदण्डको व्यवस्थाअनुसार कोभिड–१९ रोगको संक्रमण देखिएको प्रमाण पेस भएको सात दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिसक्नुपर्छ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री सुरु गरिएको थियो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् । चालु आर्थिक वर्षदेखि सरकारले सबै राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमा गरिएको छ । हाल निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षकलगायत सबै गरी करिब सवा ५ लाख सरकारी कर्मचारी छन् । सरकारले यी कर्मचारीको एक लाख रुपैयाँको निःशुल्क बिमा गर्ने व्यवस्था छ ।

कोरोना बिमालेखमा एक लाख र ५० हजार गरी दुई प्रकारको बिमांक तोकिएको छ । व्यक्तिगत, सामूहिक (परिवार, कार्यालयका कर्मचारी आदि) रूपमा पनि यो बिमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बिमाका लागि व्यक्तिले एक हजार रुपैयाँ प्रिमियम (बिमा शुल्क) तिर्नुपर्छ । तर, सामूहिक रूपमा घरपरिवार वा कार्यालयका कर्मचारीको बिमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ तिरे पुग्छ । यसमा पनि सरकारबाट ५० प्रतिशत अनुदान पाइने भएपछि प्रतिव्यक्ति ३ सय रुपैयाँमै बिमा गर्न सकिन्छ ।

५० हजार रुपैयाँ बिमांकको बिमा गर्दा प्रतिव्यक्ति ५ सय र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँमा बिमा गर्न सकिन्छ । हालसम्म भएका बिमामध्ये करिब ९५ प्रतिशतले एक लाख रुपैयाँको रहेको बताइएको छ । तीन महिने बच्चादेखि ९९ वर्ष उमेर समूहका व्यक्तिका लागि यी बिमा गर्न सकिन्छ ।

प्रकाशित : भाद्र १७, २०७७ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका ९० प्रतिशत संक्रमित स्थानीय

अतुल मिश्र

काठमाडौँ — उपत्यकामा मंगलबार साँझसम्म कोरोना भाइरसका ५ सय ६० नयाँ संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले अपराह्न ४ बजे भने उपत्यकामा ४ सय ८१ संक्रमित थपिएको जनाएको थियो ।

‘मंगलबार अबेर साँझसम्म उपत्यकामा ५ सय ६० जना संक्रमित फेला परेका छन् । नयाँ संक्रमितमा ९० प्रतिशतभन्दा बढी स्थानीय छन्,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले भने ।

उपत्यकामा निषेधाज्ञा जारी भएको दुई साता भए पनि यसको प्रभाव केही समयपछि मात्रै देखिने विज्ञहरूले बताएका छन् । उपत्यकामा अझै केही दिन देखिने संक्रमितको संख्याको विश्लेषणपछि मात्र जनस्वास्थ्यको दृष्टिले जनजीवन खुकुलो बनाउने विकल्पबारे सोच्न सकिने उनीहरूको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ९ सय १७, भक्तपुरमा ५ सय ४८ र ललितपुरमा ७ सय ४२ जना गरी उपत्यकामा ६ हजार २ सय ७ जनामा कोरोना संक्रमण भइसकेको छ । काठमाडौंमा २३, भक्तपुरमा ८ र ललितपुरमा ६ गरी उपत्यकामा ३७ जनाको संक्रमणले मृत्यु भइसकेको छ । केही दिनयता मुलुकमा दिनहुँ देखिने संक्रमितमा आधा जति काठमाडौं उपत्यकाकै हुने गरेका छन् । मंगलबार देशभरिमा ३ सय ४४ महिला र ७ सय २५ पुरुष गरेर १ हजार ६९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । ‘उपत्यकामा निषेधाज्ञा जारी भएको २ साता भए पनि संक्रमित देखिने क्रम बढी नै रहेको छ,’ ईडीसीडीका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘निषेधाज्ञा नगरेको भए संक्रमण देखिने दर अझ धेरै हुन्थ्यो ।’

डा. पाण्डेले साउन ६ गते लकडाउन खुलेसँगै मानिसको गतिविधि बढेकाले अहिले असर देखिएको बताए । उनका अनुसार साउन ६ गतेपछि उपत्यकामा भित्रभित्रै संक्रमण व्यापक विस्तार भइरहेको थियो । जनस्वास्थ्यको न्यूनतम मापदण्ड पूरा नगरी बाहिर निस्किने जमातले संक्रमण चारैतिर तीव्र गतिले फैलिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको अवलोकन अध्ययनले काठमाडौंमा करिब ७० प्रतिशतले मास्क प्रयोग गरेको पाइएको थियो । त्यसमध्ये ७० प्रतिशतले मात्र राम्ररी मास्क लगाएका थिए ।

उपत्यकाका अस्पतालमा प्रसूति, शल्यक्रियालगायतका स्वास्थ्य समस्या भएर उपचारका लागि जानेहरूमा संक्रमण देखिएको डा. पाण्डेले बताए । उपत्यकामा सरदर करिब एक तिहाइ महिलामा संक्रमण देखिनुले संक्रमण समुदायतिर फैलिन लागेको संकेत गर्ने उनको भनाइ छ । हाल मुलुकभरका संक्रमितमध्ये ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला छन् । ‘निषेधाज्ञामा कोभिड संक्रमण सार्ने १४ दिनको एउटा चक्र लगभग पूरा भयो । केही दिनपछि संक्रमण कम हुँदै गए लकडाउन अर्को मोडालिटीमा गर्न सकिन्छ,’ ईडीसीडीका निर्देशक डा. पाण्डेले भने ।

उनले संक्रमण रोक्न जनस्वास्थ्यको अधिकतम मापदण्ड उपत्यकावासीले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिए । ‘हाल उपत्यकालगायत देशभरमा सबै व्यक्तिका लागि मास्कको अधिकतम र सही उपयोग संक्रमणको विस्तार रोक्ने पहिलो सर्त हो,’ उनले भने, ‘सही रूपमा मास्कको उपयोग, दुई मिटरको भौतिक दूरी, नियमित हातको सफाइ साबुनपानीले गरे मात्र हाल संक्रमणको सम्भावनालाई रोक्न सकिन्छ ।’ निषेधाज्ञा खुलिहाले पनि अनावश्यक रूपमा जनस्वास्थ्यको मापदण्ड नअपनाई घरबाहिर नहिँड्न उनले सुझाव दिए ।

हाल काठमाडौंमा ४ हजार ४ सय ८५, भक्तपुरमा ४ सय १० र ललितपुरमा ६ सय ६३ गरी उपत्यकामा ५ हजार ५ सय ५८ संक्रमित उपचाररत छन् । यस्तै उपत्यकाका अस्पतालहरूका आइसोलेसनमा १ हजार ३ सय ७५ जना, आईसीयूमा ६४ जना र भेन्टिलेटरमा १४ जना छन् ।

प्रकाशित : भाद्र १७, २०७७ ०७:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×