प्रदेशसभा गाडी खरिद प्रकरण : मर्मतमा पनि मनलाग्दी खर्च

प्रदेशसभाले किनेका गाडीको तीन वर्षको मर्मत खर्च ६३ लाख ३३ हजार रूपैयाँ
घनश्याम गौतम

रूपन्देही — बजार मूल्यभन्दा महँगोमा खरिद गरेर विवादमा तानिएको प्रदेश ५ को प्रदेशसभाका सवारीसाधनको मर्मत खर्च पनि विवादमा परेको छ । नयाँ गाडीमा पनि मनलाग्दी खर्च गरेपछि खरिदमा देखिएको अनियमितता मर्मतमा बल्झिएको हो ।

प्रदेशसभा गाडी खरिद प्रकरण : मर्मतमा पनि मनलाग्दी खर्च

प्रदेशसभाले खरिद गरेका गाडीको तीन वर्षको मर्मत खर्च ६३ लाख ३३ हजार रुपैयाँ देखिएको छ । प्रदेशसभाले खरिदमै अनियमितता गरेको टाटा स्ट्रोम गाडीको दुई वर्षको मर्मत खर्च सबैभन्दा बढी छ । टाटा स्ट्रोम गाडी ०७५ मंसिरमा खरिद भएका हुन् ।

प्रदेशसभाले ०७५ मंसिरमा सचिवालयका लागि ११ वटा टाटा स्ट्रोम गाडी खरिद गरेको थियो । बजार मूल्य ६८ लाख ५५ हजार रुपैयाँ रहे पनि सचिवालयले ७१ लाख ९४ हजार ९ सय ९९ रुपैयाँका दरले खरिद गरेको थियो । खरिदमा अनियमितता भएको खबर सार्वजनिक भएपछि प्रदेशको सार्वजनिक लेखा समितिले छानबिन गर्दा प्रतिगाडी ३ लाख ४० हजार रुपैयाँ बढी दिएको ठहर गरेको थियो । अहिले तिनै टाटा स्ट्रोम गाडीको मर्मत खर्च अचाक्ली बढी देखिएको हो ।

प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रयोग गर्दै आएको लु१झ ४४२ नम्बरको गाडीको दुई वर्षको मर्मत खर्च ४ लाख ५५ हजार ९ सय ६५ रुपैयाँ छ । गाडी खरिद गरेको पहिलो वर्षमा १ लाख ४७ हजार खर्च भएको छ । दोस्रो वर्ष ०७६/७७ मा त्यही गाडीको खर्च ३ लाख ८ हजार ९ सय ३६ रुपैयाँ भएको देखाइएको छ । प्रदेशसभाकै नेकपाका प्रमुख सचेतक भूमीश्वर ढकालले प्रयोग गर्ने गरेको लु१झ ४५६ नम्बरको टाटा स्ट्रोम गाडीको खर्च सबैभन्दा धेरै छ । दुई वर्षमा ८ लाख १९ हजार ७ सय २१ रुपैयाँ मर्मतमै खर्च गरिएको छ । पहिलो वर्ष ३७ हजार मर्मत खर्च भएको गाडीमा दोस्रो वर्ष ७ लाख ८२ हजार खर्च देखाइएको छ । उनी चढ्ने गरेको गाडी घरमै राखेको बेला अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

विस्फोटमा गाडीसँगै घरमा पनि क्षति भएको थियो । गाडीको ढोका, छत, सिट, टायरलगायत अधिकांश सामग्री फेर्नुपरेकाले ठूलो खर्च देखिएको ढकालले बताए । ‘पहिलो वर्ष खासै खर्च थिएन,’ उनले भने, ‘दोस्रो वर्ष विस्फोटकै कारण खर्च देखिएको हो ।’ यादवले भने आफू बुटवलदेखि नेपालगन्जसम्म नियमित आउजाउ गरिरहनुपर्ने भएकाले गाडी पनि धेरै गुडेको र खर्च पनि धेरै आएको दाबी गरे ।

०७५ मंसिरदेखि ०७६ जेठसम्ममा २७ लाख ६८ हजार २ सय ३४ रुपैयाँ टाटा स्ट्रोममा मात्र खर्च भएको छ । पहिलो वर्ष आर्थिक वर्ष ०७५/७६ मा खरिद भएको ८ महिनामा ६ लाख ३७ हजार ६ सय ४७ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७६/७७ मा २१ लाख ३० हजार ६ सय ५ रुपैयाँ मर्मतमा मात्र खर्च भएको छ । प्रदेशसभामा कार/जिप १८, मोटरसाइकल ७, स्कुटर ५ र साइकल २ गरी ३२ वटा सवारी साधन छन् । अन्य गाडीको तुलनामा टाटा स्ट्रोमका नयाँ गाडीमै धेरै मर्मत खर्च आएको सचिवालयकै कर्मचारीले बताए । सार्वजनिक लेखा समितिले छानबिन थालेकाले स्रोत उल्लेख गरेर कोही बोल्न मान्दैनन् । नयाँ गाडीको वास्तविक खर्चको खोजी हुनुपर्ने गाडीको मर्मत खर्चमा पूर्ण जानकार रहेका एक कर्मचारीले बताए । ‘हामी पनि दंग नै छौं,’ उनले भने, ‘माननीयहरूले गाडी बिग्रियो भनेपछि मर्मतका लागि स्वीकृत दिन्छौं, पछि खर्चको बिल आउँदा अनौठो मान्नुपर्ने अवस्था छ ।’ ११ टाटा स्ट्रोमबाहेक सभामुख पूर्णबहादुर घर्तीले तीन गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गर्ने बा१झ ९७२९ नम्बरको फोर्ड गाडीको मर्मत खर्च पनि तीन वर्षमा ७ लाख ९१ हजार ६ सय ५१ रुपैयाँ छ । घर्तीले प्रयोग गर्ने अर्को बा१झ १९४८ नम्बरको टाटा सुमो गाडीका लागि पनि गत आवमा २ लाख ४५ हजार खर्च भएको छ । आर्थिक वर्ष ०७५/७६ मा त्यही गाडी मर्मतका लागि २ लाख १३ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । सभामुख घर्तीले प्रयोग गर्ने तीन गाडीका लागि तीन वर्षमा ११ लाख ६३ हजार रुपैयाँ खर्च भएको छ । अन्य ४ जिप/कार, ७ मोटरसाइकल, २ स्कुटर मर्मतमा तीन आवमा २४ लाख रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष ०७४/७५ मा ५ गाडी मर्मतमा २ लाख ९९ हजार, ०७५/७६ मा १५ लाख ८६ हजार र गत आवमा ४५ लाख १६ हजार रुपैयाँ खर्च भएको छ ।

प्रदेशसभाले सभाका सभामुख, उपसभामुख, विषयगत समितिका सभापति, विपक्षी दलका नेता, नेकपाका प्रमुख सचेतक, कर्मचारीका लागि सवारीसाधन उपलब्ध गराएको छ । तीमध्ये सभामुख, समितिका सभापतिले प्रयोग गर्ने सवारीसाधनको खर्च बढी देखिएको छ । सचिवालयले गाडी मर्मतका लागि बुटवल आसपासका ७ ग्यारेजलाई सूचीकृत गरेको छ । तीनै सूचीकृत ग्यारेजमा गाडी मर्मत हुने गर्छ । बुटवल पेरिफेरिकै ग्यारेज कम्पनी सूचीकृत भएको र तिनैमा गाडी मर्मत हुने गरेको सचिवालका जिन्सी शाखा प्रमुख पुनाराम पौडेलले जानकारी दिए । ‘बुटवल पेरिफेरिकै ग्यारेजमा गाडी मर्मत गर्ने गरिएको छ,’ उनले भने, ‘समितिले छानबिन गरिरहेकाले धेरै बोल्न मिल्दैन ।’

लेखा समितिले अध्ययन गर्दै

टाटा स्ट्रोम गाडीको खरिदमा महँगो ठहर गरेको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अहिले तीन वर्षको मर्मत खर्चको पनि अध्ययन सुरु गरेको छ । मर्मतमा अचाक्ली बिल पेस भएको गुनासो बढेपछि ती बिलसहितका अन्य विषयमा सार्वजनिक लेखा समितिले अध्ययन गरिरहेको समितिका सभापति डिल्लीबहादुर चौधरीले बताए ।

प्रकाशित : भाद्र १६, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?