पसल सञ्चालन अलिक सहज

व्यवसायी भन्छन्– ‘सवा ९ बजेसम्मको निर्णय पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ ।’
नुमा थाम्सुहाङ

काठमाडौँ — सरकारले अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसल बिहान सवा ९ बजेसम्म खोल्न दिने निर्णय गरेसँगै पसल खुल्न थालेका छन् । समय नतोक्दा खाद्य पसल सञ्चालन अन्योल भएको थियो । सरकारले अत्यावश्यक खाद्य पसल सञ्चालन गर्न दिने बताए पनि प्रहरीले बन्द गराउँदै हिँडेका थिए ।

पसल सञ्चालन अलिक सहज

जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा सवा ९ बजेसम्मको समयसीमा तोकेपछि पसल पनि निर्बाध खुल्न थालेका हुन् । ‘आइतबार बिहान ८ बजेसम्म पसल खोलेको थिएँ,’ न्युरोड, ओमबहाल वडा नम्बर २३ स्थित महर्जन स्टोरका सञ्चालक सरोज महर्जनले भने, ‘सोमबार पनि बिहान ९ नबज्दै प्रहरीले बन्द गर्न भने ।’ महर्जन खाद्य स्टोर सञ्चालन गर्न सीतापाइलादेखि न्युरोड आउँछन् ।

निषेधाज्ञाका क्रममा चामल, तेल र दाललगायत खाद्यान्नको माग धेरै रहेको उनले बताए । ओमबहालका व्यापारी राम श्रेष्ठले पनि आइतबारको निर्णयले केही सहज भए पनि प्रहरीले ९ नबज्दै बन्द गर्न थालेको जानकारी दिए । ‘बिहान ५ देखि खोल्न दिइएको छ,’ भक्तपुर जुजु धौका सञ्चालक उनी भन्छन्, ‘सोमबारदेखि सवा ९ बजेसम्म खोल्न पाइने भने पनि ९ नबज्दै प्रहरी बन्द गर्न आउँछन् ।’ तरकारी व्यापारी तुलसीराम प्रजापतिको भनाइ पनि उस्तै छ । उनी भक्तपुरदेखि तरकारी बेच्न न्युरोड आउँछन् । खाद्यान्न, तरकारी बिक्रीको समय बिहान १० बजेसम्म तोक्नु उचित हुने उनको भनाइ छ । स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल सञ्चालन गर्न दिनुपर्ने न्युरोडमै तरकारी बिक्री गर्ने हरि कार्कीले बताए ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने बिक्री गर्न दिइएको समयावधिमा आफूहरू खुसी भएको धारणा राखे । ‘अहिले परिस्थिति नै त्यस्तै छ । आफू पनि सुरक्षित हुनुपर्छ । सरकारले जति घण्टाको समय तोकेको छ, त्यसमा खुसी हुनुपर्छ,’ उनले भने, ‘पहिला आफू सुरक्षित हुनुपर्छ । त्यसपछि अरू हेर्नुपर्छ । पसल खोल्न नदिएको होइन, दिइएकै छ । त्यही भएर यस विषयमा वादविवाद जरुरी छैन ।’

उपत्यकामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि निषेधाज्ञा जारी गरिएको छ । यससँगै अत्यावश्यक वस्तु सेवाका औषधि, पानी र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल भने जुनसुकै समयमा निर्बाध रूपमा खोल्न सकिने जिल्ला प्रशासन काठमाडौंले जनाएको छ ।

प्रकाशित : भाद्र ९, २०७७ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?