कोरोना बिमा गर्ने साढे ७ लाख पुगे- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कोरोना बिमा गर्ने साढे ७ लाख पुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को संक्रमण बढेसँगै कोरोना बिमा गर्नेको संख्या पनि साढे ७ लाख पुगेको छ । शुक्रबारसम्म ७ लाख ४६ हजार ८ सय ५० जनाले यस्तो बिमा गरेका छन् । सो अवधिमा ८० हजार ३ सय ३ वटा बिमालेख बिक्री भएका छन् । ती बिमालेखबाट ४२ करोड १० लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ ।


पछिल्ला दिनमा बिमा कम्पनीमा बिमा दाबी ह्वात्तै बढेको छ । गत शुक्रबारसम्म ३ सय ५२ जनाको दाबी परेको छ । परेका दाबी कुल ३ करोड ३७ लाख रुपैयाँ बराबरको हो । त्यसमा ७७ जनाले भुक्तानी पाइसकेका छन् । जसमा ६९ जनालाई प्रतिव्यक्ति एक लाख गरी ६९ लाख रुपैयाँ र आठ जनालाई प्रतिव्यक्ति ५० हजार गरी ४ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । परेका दाबीमध्ये २ सय ७६ वटाको भुक्तानी बाँकी छ । जसमा २ सय ५२ वटा प्रतिव्यक्ति एक लाख बिमांक भएका दाबीको २ करोड ५२ लाख रुपैयाँ र २४ वटा प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिमांकको १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । बिमा समितिको निर्देशनअनुसार कागजात पुगेका दाबीलाई बढीमा एक साताभित्र भुक्तानी दिइसक्नुपर्छ । तर पछिल्ला सातामा दाबी भुक्तानी नभएर थुप्रिने क्रम बढी छ । आवश्यक कागजात नभएकाले केही दाबी भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए ।

‘खासगरी कर्पोरेट अफिसबाट आउने दाबीमा सबै कागजात आउन ढिलाइ भएको छ,’ उनले भने, ‘कर्मचारी बिरामी भएर बसेपछि अरूलाई कागजात जुटाउन गाह्रो भएको हुन सक्छ ।’ भुक्तानी गर्न बाँकी दाबीमध्ये धेरैजसो कर्पोरेटको भएको उनले बताए । बाँकी दाबी भुक्तानी बढेपछि अब कर्पोरेट कार्यालयको जमानीमा कागजात पछि दिने गरी भुक्तानी दिने कि भन्नेबारे पनि छलफल भएको उनले जानकारी दिए । ‘कसरी हुन्छ छिटो दाबी भुक्तानी होस् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘सोहीअनुसार मापदण्ड पुगेका दाबी दुई/तीन दिनभित्र भुक्तानी भएका छन् ।’

कोरोना बिमामा दायित्व बहनबारे स्पष्ट व्यवस्था भएकाले कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्ने अवस्था नभएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘कागजात पुगेका दाबी भुक्तानीमा ढिलाइ नहुनुपर्ने हो,’ उनले भने, ‘के भएको हो, म बुझ्छु ।’

कोरोना बिमासम्बन्धी मापदण्डको व्यवस्थाअनुसार कोभिड–१९ रोगको संक्रमण देखिएको प्रमाण पेस भएको सात दिनभित्र कम्पनीले दाबी भुक्तानी गरिसक्नुपर्छ । दाबी भुक्तानी नहुँदै बिमितको मृत्यु भए इच्छाइएको व्यक्ति वा कानुनी हकदारलाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।

कोभिड–१९ को जोखिम सुरक्षणका लागि गत वैशाख ७ देखि बिमालेख बिक्री थालिएको हो । सञ्चालनमा रहेका २० निर्जीवन बिमा कम्पनीले उक्त बिमालेख बिक्री गरिरहेका छन् । चालु आर्थिक वर्षदेखि सरकारले सबै राष्ट्रसेवक कर्मचारीको निःशुल्क कोरोना बिमा गरेको छ । हाल निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षकलगायत सबै गरी करिब सवा ५ लाख सरकारी कर्मचारी छन् । सरकारले यी कर्मचारीको एक लाख रुपैयाँको निःशुल्क बिमा गर्ने व्यवस्था छ ।

प्रकाशित : भाद्र ८, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीलाई अनुमति

एजेन्सी

वासिङ्टन — अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले आपत्कालीन अवस्थामा कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्ने अनुमति प्रदान गरेको छ ।

आइतबार एफडीएले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गर्दा जोखिमभन्दा फाइदा नै बढी भएकाले अनुमति दिएको उल्लेख गरेको छ ।

एफडीएका अनुसार अहिलेसम्म अमेरिकामा ७० हजारभन्दा बढी कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार भइसहेको छ ।

आइतबार ह्वाइट हाउसमा भएको प्रेस ब्रिफिङमा राष्ट्रपति ट्रम्पले प्लाज्मा थेरापीले अनुमति पाउनु ‘ऐतिहासिक’ भएको बताए । कोरोना भाइरसलाई पुन: एक पटक ‘चिनियाँ भाइरस’ संज्ञा दिँदै उनले भने, ‘आज म वास्तवमै चिनियाँ भाइरसविरुद्धको हाम्रो लडाइँको एउटा ऐतिहासिक घोषणा गर्दैछु जसले अनगिन्ती जीवनहरु बचाउनेछ । आजको कदमले कोरोना संक्रमितको उपचारमा पहुँच बढाउनेछ ।’

गत हप्ता राष्ट्रपति ट्रम्पले ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’ का लागि अनुमति नदिएर राजनीति गरिरहेको बताएका थिए । आइतबार टम्पले प्लाज्मा थेरापीबाट कोरोनाबाट हुने मृत्युदर ३५ प्रतिशतसम्म कम भएको दाबी गरे । साथै उनले कोरोना भाइरसको संक्रमणपछि निको भएका व्यक्तिहरुलाई प्लाज्मा दान गर्न पनि आग्रह गरेका छन् । त्यस्तै उनले कोरोनाविरुद्धको खोप पनि चाँडै नै निर्माण हुने बताए ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म करिब ५७ लाख संक्रमित भइसकेका छन् । त्यस्तै कोरोनाबाट अमेरिकामा एक लाख ७६ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब २० लाख निको भएका छन् ।

के हो प्लाज्मा थेरापी ?

प्लाज्माथेरापी प्रणाली कोरोनाले निको भएका बिरामीको शरीरमा संक्रमणलाई असरहीन बनाउने एन्टिबडी विकास हुने धारणामा आधारित छ । कोरोना निको भएका बिरामीको रगतबाट प्लाज्मा निकालेर नयाँ संक्रमितको रगतमा हालेपछि त्यसबाट कोभिड भाइरसलाई समाप्त पार्न सकिन्छ ।

प्लाज्मा छुट्याउने र संकलन गर्ने मेसिन फाइल फोटो : रोयटर्स

प्लाज्मा रगतको तरल (पहेँलो) खण्ड हो । यो रगतको कुल मात्राको करिब ५५ प्रतिशत हुन्छ। यसमा भाइरस, ब्याक्टेरियाबाट हुने संक्रमणलाई मार्ने एन्टिबडीको उच्च क्षमता हुन्छ । प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’ को आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमता विकास गर्ने प्रक्रिया हो ।

कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यसविरुद्ध लड्न थाल्छ र त्यो भाइरस समाप्त पार्न एन्टिबडी बनाउँछ । एन्टिबडी भाइरसलाई समाप्त गर्न सफल भएपछि बिरामी पूर्ण रूपले निको हुन्छ ।

प्लाज्मा थेरापी सय वर्षभन्दा बढी समयदेखि विभिन्न भाइरल रोगमा सफलतापूर्वक प्रयोग गरिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार करिब १ सय २० वर्ष पहिले जर्मनीका वैज्ञानिक एमिलवान बेहरिङले टिटानस र डिप्थेरियाको उपचार प्लाज्मा थेरापी पद्धतिबाट गरेका थिए । उनले प्लाज्माको सक्रिय पदार्थलाई ‘एन्टिबडी’ को नामसमेत दिए ।

कोभिडको उपचारका लागि प्लाज्मा थेरापी सबैभन्दा पहिले चीनमा खोजिएको थियो ।

प्रकाशित : भाद्र ८, २०७७ ०६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×