निषेधाज्ञाको पहिलो दिन अत्यावश्यक पसल पनि चलेनन्

सरकारले निषेधाज्ञाका बेला दैनिक उपभोग्य वस्तुको बिक्री र ढुवानी गर्न दिने बताए पनि प्रहरीले अवरोध गरे

काठमाडौँ — राजधानीमा कोभिड–१९ को संक्रमण तीव्र बनेपछि उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारी र सुरक्षा निकाय प्रमुखको भदौ २ गतेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गर्‍यो । निर्णयमा भदौ १० सम्म लागू हुने निषेधाज्ञाका क्रममा दैनिक उपभोग्य वस्तुको बिक्री र ढुवानी गर्न पाइने उल्लेख छ ।

निषेधाज्ञाको पहिलो दिन अत्यावश्यक पसल पनि चलेनन्

त्यसैले दैनिक उपभोग्य वस्तु ढुवानी र बिक्री गर्न पाउने भएपछि हिमालय डेरी एन्ड एग्रोभेट रिसर्च सेन्टरका सञ्चालक प्रह्लाद दाहालले बिहीबार काभ्रेबाट एक ट्यांकर दही मगाए । तीजलाई लक्ष्य गरी ल्याइएको दही बबरमहलमा प्रहरीले रोक्यो ।

‘दही अत्यावश्यक पदार्थ नै हो, दरका लागि पनिर, मिठाईलगायत दुग्ध पदार्थ बिक्री हुन्छ । त्यसको तयारी गर्न काभ्रेबाट दही मगाएको थिएँ,’ दाहालले भने, ‘तर चार घण्टा प्रहरीले रोकिदियो ।’ त्यति मात्र होइन, प्रहरीले जय श्रीकृष्ण डेरीको दुग्ध पदार्थ बोकेको सवारी कोटेश्वर र सीताराम डेरीको सवारी ट्यांकर कलंकीमा रोकेको नेपाल डेरी एसोसिएसनले जनाएको छ ।

‘सरकारको निर्देशन लागू नहुँदा अवस्था डमाडोल भयो । प्रमुख जिल्ला अधिकारीको निर्णय एउटा छ, ट्राफिक प्रहरी र नगरपालिकाको छुट्टाछुट्टै छ,’ एसोसिएसनका महासचिवसमेत रहेका दाहालले भने, ‘अत्यावश्यक वस्तु ढुवानी गर्न दिने निर्णय गरे पनि ठाउँठाउँमा ट्यांकर सञ्चालनमा अवरोध भयो । डेरी खोल्ने तालिका स्पष्ट नहुँदा समस्या भयो ।’

एसोसिएसनका अनुसार कतिपय ठाउँमा बिहानको ७ बजेसम्म मात्र डेरी सञ्चालन गर्न दिइएको छ । तर त्यतिबेलासम्म दूध संकलन हुँदैन । उपत्यकासम्म ल्याउँदासम्म पसल बन्द भइसक्छ । ‘डेरी बन्द गरेकोमा हाम्रो गुनासो होइन, महामारी भएकाले बेच्न नदिए पनि आपत्ति छैन,’ दाहालले भने, ‘तर चलाउने हो भने कसरी जाने भनेर सरकारको स्पष्ट नीति हुनुपर्‍यो । ढुवानी बिक्री गर्न दिएपछि सोहीअनुसार सबै निकायबीच समन्वय हुनुपर्छ ।’

डेरी क्षेत्र मात्र होइन, खाद्यान्न पसलमा पनि बिहीबार उस्तै समस्या देखियो । न्युरोड ओमबहालमा रहेको शाक्य स्टोर बिहान ७ बजेसम्म खुल्यो । त्यसपछि प्रहरीले स्टोर बन्द गराएको सञ्चालक नवीन शाक्यले बताए । ‘जिल्ला प्रशासनले ७ बजेसम्म मात्र खोल्न भनेको छ भन्दै प्रहरीले बन्द गराए,’ उनले भने । सरकारले निषेधाज्ञा गर्ने र कोभिड देखिएका ठाउँमा सिल गर्न थालेपछि खाद्यान्न जोहो गर्ने ग्राहक बढेका छन् । तर प्रहरीले बन्द गराउँदा पसल र ग्राहक दुवैलाई समस्या भएको छ ।

ओमबहालकै धनबाहदुर पानी सप्लायर्सका सञ्चालक धनबहादुर मगरको भनाइ पनि उस्तै छ । ‘मानिस बिहान ७ बजे उठ्छन् । बिहानको ७/८ बजेसम्म पानी पुर्‍याउनै भ्याइँदैन,’ उनले भने, ‘सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर पसल खोली व्यापार व्यवसाय गर्न पाउनुपर्छ ।’

असनका खुद्रा व्यापारी रोशन तुलाधरको भनाइ भने फरक छ । व्यापारभन्दा पनि पहिलो प्राथमिकता स्वास्थ्य भएको उनको भनाइ छ । बजार र पसल खोल्ने विषयमा सरकारको नीति स्पष्ट नहुँदा व्यवसायीसँगै सर्वसाधारणमा समेत अन्योल देखियो । सरकारले खाद्यवस्तुका पसल सञ्चालन गर्न दिने भने पनि कतिपय स्थानमा प्रहरीले बन्द गराउँदै हिँडेका थिए ।

प्रहरीले फरकफरक ठाउँमा फरकफरक व्यवहार गरेका छन् । पसल खोल्नेलाई पनि समस्या देखिएको छ । सामान किन्न जाने सर्वसाधारणलाई पनि अन्योल देखिएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । केही स्थानमा भने व्यवसायी स्वयं सचेत भएर पसल बन्द गरे । केही ठाउँमा बिहान एक/दुई घण्टा मात्र पसल चलेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । मन्त्रालय र प्रमुख जिल्ला अधिकारीको निर्णयबारे सुरक्षा निकायले मनन नगरिदिँदा समस्या परेको उनको भनाइ छ । सुरक्षित भएर व्यापार गर्न पाउनुपर्ने खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठको भनाइ छ । ‘दिउँसो किन्न आउने ग्राहक कमै हुन्छन् । प्रशासनले बिहान र बेलुकाको एउटा समय तोक्नुपर्छ । समय निर्धारण भएपछि किन्ने र बेच्ने दुवैलाई सजिलो हुन्छ,’ चेम्बर अफ कमर्सका आपूर्ति समिति सभापतिसमेत रहेका श्रेष्ठले भने । होलसेल व्यवसायीसँग पर्याप्त सामान मौज्दात रहेको उनले दाबी गरे । ‘आयात पर्याप्त भइरहेकै छ । होलसेल व्यवसायीसँग करिब एक महिनालाई धान्ने मौज्दात पनि छ,’ उनले भने, ‘खाद्यान्नमा कुनै समस्या हुँदैन । बिक्रीको समय भने तोक्नुपर्छ ।’

यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायणप्रसाद रेग्मीले भने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा कुनै अवरोध नभएको दाबी गरे । ढुवानी, बिक्रीलगायत के गर्न हुने, नहुने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले पत्र जारी गरेकाले सोही निर्णय सबैले मान्नुपर्ने उनको भनाइ छ ।

किराना पसल सञ्चालनको समय तोक्ने अधिकार प्रमुख जिल्ला अधिकारीमै रहेको उनले जानकारी दिए । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले भने सुरुको दिन भएकाले बुझाइमा केही फरक परेको हुन सक्ने बताए । अत्यावश्यक सेवालाई अवरोध गर्ने नीति कसैको नरहेको उनले प्रस्ट्याए । ‘अत्यावश्यक सेवामा अवरोध गर्ने नीति छैन, शुक्रबारबाट थप व्यवस्थित र सहज बनाउन पहल गर्छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?