कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कुलेखानी सुरुङको काम अघि बढ्यो

वाग्मती प्रदेश सरकारको १८ अर्ब लगानी हुने
४२ महिनामा सक्ने लक्ष्य
३ दशमलव २१ मिटर लामो
प्रताप विष्ट

हेटौंडा — प्रदेश राजधानी हेटौंडा र संघीय राजधानीको आवतजावतलाई सहज बनाउन वाग्मती सरकारले पोस्टबहादुर बोगटी सुरुङमार्ग (भीमफेदी–कुलेखानी सुरुङ) निर्माण प्रक्रिया सुरु गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सुरुङमार्गको सुपरिवेक्षण परामर्शदाता छनोटका लागि मंगलबार सार्वजनिक सूचना जारी गरेको छ ।

कुलेखानी सुरुङको काम अघि बढ्यो

‘सुरुङमार्गको परामर्शदाता छनोट गर्न सूचना जारी गरेका छौं,’ मन्त्रालयका सचिव तेजराज भट्टले भने, ‘सूचना निस्केको ३० दिन अवधिमा आएका दरखास्तबाट परामर्शदाता छनोट गर्छौं ।’ प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गको परामर्शदाता छनोटको सूचना सार्वजनिक गरेसँगै अब सुरुङमार्ग बन्ने पक्का भएको छ । सुरुङ निर्माण हुने भएपछि यस क्षेत्रका बासिन्दा उत्साहित भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए ।

परामर्शदाता चुनिएपछि सुरुङमार्गको टेन्डर प्रकाशन गर्ने मन्त्रालयले जनाएको छ । सुरुङमार्ग, एप्रोच सडक र तीनवटा पुल निर्माण गर्न १८ अर्ब ७ करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ । चालु आवको अन्त्यसम्म परामर्शदाता र निर्माण कम्पनी छनोट गरिसक्ने लक्ष्य रहेको लामाको भनाइ छ । भीमफेदी गाउँपालिका–६ स्थित बगर र इन्द्रसरोवर गाउँपालिका–२ कुलेखानी ड्याममुनि ३ दशमलव २१ किलोमिटर लामो दुर्ई लेनको सुरुङ निर्माण गर्ने डिजाइन छ । सुरुङको चौडाइ १५ मिटरको हुने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर नवीन सिंहले बताए । सुरुङका दुवैतिर गरी साढे २ किलोमिटर लामो एप्रोच सडक र तीनवटा पुल निर्माण हुनेछन् । तिनको लम्बाइ २ सय १० मिटर मात्र हुने उनले जानकारी दिए । सम्झौता भएको ४२ महिनामा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सुरुङमार्गले भीमफेदी–कुलेखानी सडक १७ किलोमिटर दूरी छोटिनेछ । हेटौंडाबाट राजधानी प्रवेश गर्ने उक्त छोटो दूरीको वैकल्पिक मार्ग ६५ किलोमिटरमा झर्नेछ ।

यो सडकखण्डको उच्च जोखिम, घुमाउरो र साँघुरो खण्डमा उक्त तीन किलोमिटर सुरुङमार्ग निर्माण हुँदै छ । सुरुङ बनिसकेपछि प्रदेशको राजधानी हेटौंडाबाट काठमाडौं पुग्न बढीमा दुई घण्टा मात्र लाग्ने भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले बताए ।

बहुवर्षीय योजनाका रूपमा रहेको उक्त सुरुङमार्गलाई आर्थिक वर्ष ०७७/७८ मा १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । संघीय सरकारले पनि उक्त सुरुङमार्ग निर्माण गर्न आर्थिक रूपमा साझेदारी गर्ने चालु आवको बजेट वक्तव्यमा उल्लेख गरेको छ । ०७८/७९ मा ६ अर्ब, ०७९/८० मा ६ अर्ब र ०८०/८१ मा ४ अर्ब रुपैयाँ विनियोजन गर्ने मन्त्रालयले जनाएको छ । सुरुङमार्गसँगै सिस्नेरीतर्फको मोटरबाटोलाई फराकिलो र स्तरोन्नति गरिने मन्त्रालयले बताएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?