१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चिया उत्पादन ४० प्रतिशत घट्यो

अर्जुन राजवंशी

बिर्तामोड — झापाका चिया बगानले एक वर्षदेखि मल पाएका छैनन् । उनीहरूलाई सरकारले नै मल नदिएको हो । मल नपाएकै कारण जिल्लामा चिया उत्पादन ४० प्रतिशत घटेको छ । हरियो पत्तीको उत्पादन घटेकाले अहिले चिया कारखाना आधा क्षमतामा मात्र सञ्चालनमा छन् ।

चिया उत्पादन ४० प्रतिशत घट्यो

चियापत्ती टिप्न भ्याइनभ्याइ हुनुपर्ने यो सिजनमा श्रमिकहरू विश्राम लिँदै काम गरिरहेका छन् । ‘मल हाल्न नपाएकाले पत्ती उत्पादन पूरै घटेको छ,’ हल्दिबारी गाउँपालिका–२ का किसान पर्वत डाँगीले भने, ‘मेरो ६ बिघाको बगानबाट वार्षिक ८० हजार केजी हरियो पत्ती टिप्थे । यो वर्ष ५० हजार केजी पनि पुग्ला जस्तो छैन ।’ हल्दिबारी–२ स्थित पाराखोपी चिया उत्पादक सहकारी संस्थाले सञ्चालन गरिरहेको चिया प्रशोधन कारखाना अहिले आधा क्षमतामा पनि सञ्चालनमा छैन । सहकारीका सचिव रहेका डाँगीका अनुसार कारखानामा गत वर्ष यो सिजनमा दैनिक करिब २० हजार केजी हरियो चिया पत्ती संकलन हुन्थ्यो । यो वर्ष दैनिक बढीमा ६ हजार केजी पत्ती मात्र संकलन हुने गरेको उनले बताए ।

चिया बगानमा वर्षमा कम्तीमा चार पटक रासायनिक मल युरिया लगाउनुपर्छ । तर किसानले एक वर्षदेखि बगानमा मल लगाउन पाएका छैनन् । ‘वैशाख–जेठमा एकपटक र साउनमा एकपटक मल लगाउन पाएको भए टिप्न भ्याइनभ्याइ हुने गरी हरियो पत्ती आउँथ्यो,’ बगान सञ्चालक रमेश पौडेलले भने । ६० बिघाको उनको बगानबाट वार्षिक साढे ५ लाख केजी हरियो पत्ती उत्पादन हुनुपर्ने हो । तर मल अभावमा यो वर्ष ३ लाख केजी पनि नपुग्ने उनको भनाइ छ ।

उत्पादन घटेकाले हरियो चियापत्तीको मूल्य वृद्धि भएको छ । भारतीय बजारमा चियाको खपत बढेको र चिया उत्पादन घटेकाले जिल्लामा हरियो पत्ती अहिलेसम्मकै उच्च मूल्य प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा खरिदबिक्री भइरहेको छ । ‘बगानमा मल हाल्न पाएको भए चिया क्षेत्रले ठूलो फड्को मार्ने थियो,’ चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले भने ।

प्रकाशित : भाद्र ४, २०७७ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?