कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

साउनमा निक्षेप र कर्जा दुवै घटे

काठमाडौँ — आर्थिक वर्षको पहिलो महिना (साउन) मा पनि वित्तीय क्षेत्रमा उत्साह देखिएन । यो अवधिमा वित्तीय प्रणालीमा न त कर्जा प्रवाह बढ्यो, न ठूलो निक्षेप नै थपियो । असारको तुलनामा निक्षेप र कर्जा प्रवाह दुवै घटे ।

साउनमा निक्षेप र कर्जा दुवै घटे

साउन ३० मा वाणिज्य बैंकहरूको कुल निक्षेप ३४ खर्ब ७९ अर्ब रुपैयाँ छ । गत असार मसान्तको तुलनामा यो ८ अर्ब रुपैयाँले कम रहेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तमा यस्तो निक्षेप ३४ खर्ब ८७ अर्ब रुपैयाँ थियो । गत आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेपछि बैंकहरूमा निक्षेप पनि बढेको थियो । यही कारण साउन दोस्रो सातासम्म निक्षेप पनि बढेको देखिएको थियो । तर त्यो क्रमले निरन्तरता पाउन सकेन । यही कारण दोस्रो सातापछि निक्षेपमा केही कमी आउन थाल्यो । यद्यपि अघिल्लो साताको तुलनामा गत साता वाणिज्य बैंकहरूको निक्षेप २ अर्ब रुपैयाँ बढेको छ ।

साउनमा बैंकहरूको कर्जा प्रवाह पनि घटेको छ । नयाँ कर्जा माग नआएको र प्रवाह भएको केही कर्जा असुली भएपछि लगानीमा रहेको कर्जा पनि घटेको बैंकहरूले बताएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार साउन मसान्तमा बैंकहरूको कुल लगानीमा रहेको कर्जा २८ खर्ब ७८ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो करिब २५ अर्ब रुपैयाँ कम हो । ०७७ असार मसान्तमा यस्तो कर्जा २९ खर्ब ३ अर्ब रुपैयाँ थियो । यो अवधिमा कर्जा असुली भएकाले लगानीमा रहेको कुल कर्जा घटेको हुन सक्ने बैंकहरूले जनाएका छन् ।

नयाँ कर्जा माग नभएपछि बैंक तथा वित्तीय प्रणालीमा थुप्रिएको अधिक तरलता अझै उपयोग भएको छैन । राष्ट्र बैंकका अनुसार सोमबारसम्म वित्तीय प्रणालीमा २ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ । यो अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम भएकाले बैंक तथा वित्तीय संस्थाले आवश्यक परे सबै उपयोग गर्न सक्छन् । कर्जा माग नभइरहेकाले सो रकम उपयोग नभएको बैंकहरूले जनाएका छ्न ।

नयाँ कर्जाको माग नभएपछि बैंकबीचमा पुरानै कर्जा खोसाखोस गर्ने प्रवृत्ति सुरु भएको छ । एउटा बैंकबाट कर्जा लिएको ऋणीलाई ऋण अवधि नसकिँदै उक्त लोन अर्को बैंकमा सार्नुलाई बैंकिङ भाषामा कर्जा ‘स्वाप’ भनिन्छ । बैंकहरूले कर्जा स्वाप गर्न पाउँछन् । तर अहिले यसका लागि अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको स्वयं बैंकरहरू नै बताँउछन् । ‘अर्को बैंकबाट ऋण लिएको ऋणीलाई आफ्नो बैंकमा तान्ने र पुरानोभन्दा सस्तो दरमा धेरै कर्जा प्रवाह गर्ने प्रवृत्ति सुरु भएको छ,’ एक बैंकरले भने, ‘बैंकहरूले यस्तो काम नगरिदिए हुन्थ्यो । त्यसले विकृति ल्याउँछ ।’

कर्जाको तानातान हुँदा वास्तविक समस्यामा परेका साना ऋणीले सुविधा नपाई अनावश्यक तर ठूला र पहुँचवाला ऋणीले सुविधा पाएको ती बैंकरको भनाइ छ । आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यतिर (भदौ अन्तिम र असोज) मा कर्जाको माग उच्च हुने भएकाले अहिलेको अधिक तरलता सामान्य अवस्थामा वा केही कमीको अवस्था पनि हुन सक्ने उनको अनुमान छ ।

प्रकाशित : भाद्र ३, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?