१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

के होला पदयात्रा पर्यटन ?

पदमार्गका होटल तथा रेस्टुरेन्ट ‘पर्ख र हेर’को अवस्थामा  
पलायन हुँदै गाइड पोर्टर 
दीपक परियार

पोखरा — पर्यटनमा २० वर्ष भिजेका लमजुङ मध्यनेपाल नगरपालिकाका अमनसिंह दुलाल अचेल कुल्ली काम गर्छन् । भरिया (पोर्टर) हुँदै सन् २००४ बाट पर्यटक पथप्रदर्शक (गाइड) बनेका उनले लकडाउनपछि मजदुरी गर्न थालेका हुन् । अत्यधिक पदयात्री पर्यटक आउने वसन्त ऋतुमै लकडाउन भएपछि उनलाई पोखरामा ६ जनाको परिवार पाल्न धौधौ भयो । हातमुख जोर्नै गाह्रो भएपछि मिस्त्री काम गर्न थाले । यही अवस्था वर्ष दिन लम्बिए गाउँ फर्कने सोचमा छन्, उनी ।

के होला पदयात्रा पर्यटन ?

‘पहिला कमाइ सन्तोषजनक थियो,’ उनले भने, ‘अहिले मिस्त्री काम गरेर खान मात्रै ठिक्क छ । कोठाभाडा केले तिर्ने ? के गर्ने ? केही सोच्न सकेको छैन ।’ कम्पनीमा आबद्ध नभई स्वतन्त्र रूपमा गाइड काम गर्दै आएका उनी अन्य जागिर पाउन मुस्किल देख्छन् । व्यवसाय गर्न पुँजी छैन । कोरोना कहर ६ महिना, वर्ष दिन लम्बिए गाउँ फर्किएर कुटो केदालो गर्नुको विकल्प देख्दैनन् ।

केही ट्रेकिङ कम्पनीले राहत नदिएको भए र केही विदेशीले कोठा भाडा नव्यहोरिदिएको भए ट्रेकिङ गाइड लालीकुमारी (लक्ष्मी) मल्लको स्थिति नाजुक हुन्थ्यो । पर्यटक लिएर पाखापखेरा, हिमालको फेदी नचहारेको झन्डै ५ महिना पुग्यो । सिटी टुर गाइडसमेत रहेकी उनको अरू आम्दानीको स्रोत केही छैन । पर्वतबाट पोखरा झरेपछि ९ वर्षअघि पोर्टर र ६ वर्षअघिबाट गाइड काम गर्दा अहिले जस्तो अभाव उनले कहिले झेलेकी थिइनन् । उनको श्रीमानसँग छुटेको ७–८ वर्ष पुग्यो । छोराको पालनपोषण, शिक्षादीक्षाको जिम्मा उनकै काँधमा छ । ‘व्यवसाय गरौं भने आर्थिकको कुरा आयो । जागिर पनि पाइँदैन,’ उनी भन्छिन्, ‘सरकारले पर्यटक गाइडलाई अरू कुनै काममा लगाइदियोस् भन्ने लाग्छ ।’

हालसम्म पर्यटन कार्यालय पोखराबाट लाइसेन्स लिने पर्यटक गाइडको संख्या २ हजार ५ सय छ । सक्रिय भने एक हजार जति मात्रै छन् । २ हजार ५ सय जति पोर्टर छन् । गण्डकी प्रदेशमा रहेका १ सय ५९ ट्रेकिङ कम्पनीमा १ हजार २ सय ४५ गाइड तथा पोर्टर आबद्ध रहेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको तथ्यांक छ । अन्य केही स्वतन्त्र रूपमा काम गर्छन् । सामान्यतया गाइडले दैनिक १ हजार ६ सय र पोर्टरले १ हजार २ सय ५० रुपैयाँ पाउँछन् । बढी जोखिम हुने थोरोङ पास, तिलिचोलगायत क्षेत्र जाने गाइडले दैनिक १ हजार ८ सय रुपैयाँ र अंग्रेजीबाहेकका भाषामा विज्ञ गाइडले दैनिक २ हजार ५ सय रुपैयाँ आम्दानी गर्छन् । पर्यटकलाई चरा अवलोकन (बर्ड वाचिङ) मा लैजाने गाइडले दैनिक ३ हजार रुपैयाँ कमाउँछन् ।

लकडाउनपछि पदयात्रा मार्ग बन्द छन् । ट्रेकिङ कम्पनी, पदयात्रा मार्गका होटल तथा रेस्टुरेन्टले पनि कोरोना महामारीको प्रत्यक्ष मार खेपेका छन् । कामको अभावमा गाइड तथा पोर्टर पलायन हुने क्रम बढेको नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश अध्यक्ष शेषकान्त शर्माले बताए । अनुभवी पर्यटक गाइडसमेत रहेका उनले हाल आधाभन्दा बढी गाइड कृषिमा आबद्ध रहेको जानकारी दिए । केही गाइड अन्तर्राष्ट्रिय उडान खुल्नासाथ खाडी मुलुक जाने तयारीमा रहेको उनले सुनाए । ६ महिना गाइडको राम्रै कमाइ हुने उनको भनाइ छ । त्यही कमाइले बाँकी ६ महिना धानिनुपर्छ । ‘पर्यटनबाहेक वैकल्पिक पेसा गर्न आधासँग रकम अभाव छ, रकम भएकासँग पनि वैकल्पिक सोच छैन,’ उनी भन्छन्, ‘बरु मजदर भरियाले राहत पाए । चामलै माग्न जान पनि गाइडलाई मिल्दैन । अवस्था दुःखद छ ।’

पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) मा थुप्रिएको पैसाबाट निश्चित सर्त राखेर आर्थिक राहत प्याकेज नल्याए गाइड पलायन झनै बढ्ने उनी बताउँछन् । एक डेढ वर्ष गुजारा गर्न पुग्ने न्यूनतम रकम प्रदेश वा संघीय सरकारले लाइसेन्स धितो राखेर निर्ब्याजी ऋण दिने गरी राहत प्याकेज ल्याउनुपर्ने उनी सुझाउँछन् । ‘वसन्त ऋतु कमाइ नभई गयो । त्यो सिजनमा काम नगरेको घाटा पुर्ताल शरद् ऋतुमा हुन्थ्यो,’ उनले भने, ‘अबको सिजनमा पनि अवस्था नसुध्रिने निश्चित छ । काम नभएपछि पलायनको विकल्प रहँदैन ।’ राज्यले बेलैमा नसोचे पछि दक्ष जनशक्ति चाहिने बेलामा अभाव हुन सक्ने उनले औंल्याए ।

साउन १५ बाट बुकिङ लिन ट्राभल तथा ट्रेकिङ कम्पनी खुलेका छन् । ट्रेकिङ अनुमति, संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्ज, टिम्स बन्द छन् । कोरोना महामारीले पोखरामै अड्किएका पर्यटक फाट्टफुट्ट राङकोट, अस्ट्रेलियन क्याम्प, मर्दी हिमालसम्म पुगेका छन् । अन्तर्राष्ट्रिय उडान नभएसम्म पदयात्री पर्यटकको आगमन हुने कुनै आशा नभएको ट्रेकिङ व्यवसायी बताउँछन् । विदेशी पर्यटक आउनेमा आशावादी हुनुपर्ने भए पनि नेपाल आएपछि पनि क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधानका कारण कुनै उत्साह नल्याएको व्यवसायीको भनाइ छ ।

बुकिङ खुले पनि कार्यालय खोल्ने काम मात्रै भएको टान पोखराका महासचिव जीवनराज सापकोटा बताउँछन् । उनका अनुसार सन् २०१९ को अन्तिमतिरै २०२० र २०२१ को बुकिङ आइसकेको हुन्छ । कोरोना महामारी सुरु भएपछि यो वर्षको मार्च/अप्रिलतिर ६० प्रतिशत बुकिङ रद्द भएका थिए । बाँकी ४० प्रतिशतले अक्टोबर/नोभेम्बरलाई सारेका थिए । कतिपय देशले सन् २०२० मा अन्यत्र ट्राभल नगर्न ट्राभल एड्भाइजरी जारी गरेपछि बाँकी बुकिङसमेत रद्द भएका छन् । २०२० मा पदयात्रा गर्न केही चिनियाँले चासो देखाएका छन् । अन्तर्राष्ट्रिय उडान, होटल, रेस्टुरेन्टलगायत सेवा प्रदायकले कसरी सुरक्षित भएर कार्य सञ्चालन गर्छन् भन्ने उनीहरूको चासो छ । ‘अहिले अलिअलि इन्क्वायरी पनि लिनसक्ने अवस्था छैन,’ उनले भने, ‘कतिपय अन्योलता छ । सबै सुरक्षाका उपाय अपनाउँदा सञ्चालन खर्च बढ्छ कि भन्ने हो ।’

टानले गाइड तालिम दुई वर्षमा एकपल्ट दिन्छ । माग बढी भएमा प्रत्येक वर्ष हुन्छ । गाइड लाइसेन्स लिने र विस्थापित हुने क्रम भने रोकिएको छैन । गाइड पोर्टरलाई पलायन हुन नदिन टिम्सको रकम प्रयोग गरी उनीहरूलाई काम दिनुपर्ने उनको भनाइ छ । नयाँ गन्तव्य खोल्ने, त्यहाँ गोरटो बाटो, पुल, संकेत बोर्डलगायत पूर्वाधार बनाउने काममा पर्यटन मजदुरलाई खटाउनुपर्ने उपाय उनले सुझाए । ‘व्यवसाय जोगाउन करमैत्री वातावरण र घरभाडामा छुट दिए पुग्छ,’ उनी भन्छन्, ‘व्यवसायीभन्दा पनि मजदुरको चिन्ता छ ।’ सरकारले अनुमति दिए पदयात्रा व्यवसाय सञ्चालन गर्ने उनले बताए । तर सुरक्षित रुपले सञ्चालन गर्ने प्रक्रियाबारे पदमार्गका होटल तथा रेस्टुरेन्ट जानकार छैनन् । पर्यटन बोर्ड पोखरा कार्यालयले कास्कीको मर्दी ट्रेकका होटल तथा रेस्टुरेन्टका सञ्चालक तथा कामदारलाई मात्रै उक्त प्रक्रियाबारे तालिम दिएको छ । ‘पर्यटन बोर्ड र सम्बन्धित संरक्षण क्षेत्रले पहलकदमी लिने हो भने विस्तारै आन्तरिक पर्यटकबाट सुरु गरेर अन्य पर्यटक लैजान सकिन्छ,’ उनी भन्छन्, ‘हाल त्यो अवस्था पनि छैन ।’

पदमार्गका होटल तथा रेस्टुरेन्ट ‘पर्ख र हेर’ को अवस्थामा रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङको भनाइ छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर व्यवसाय खोल्न व्यवसायी सकारात्मक रहेको उनले सुनाए । ‘पर्यटक आउने वातावरण भयो भने खोल्ने मानसिकतामा छौं,’ उनले भने, ‘सुरक्षा मापदण्डका सम्बन्धमा जानकार भएर मात्रै खोल्छौं ।’

गण्डकी प्रदेशको मनास्लु, अन्नपूर्ण र धौलागिरि क्षेत्रमा ६० वटा लामा तथा छोटा दूरीका पदयात्रा मार्ग छन् । ती पदमार्गको यात्रा २ देखि २२ दिनसम्ममा पूरा गर्न सकिन्छ । सन् २०१९ मा गण्डकीमा १ लाख ८७ हजार विदेशी पर्यटकले पदयात्रा गरेको तथ्यांक छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?