२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

मर्मत गरेका सवारी फेरि थन्किए

विमल खतिवडा

काठमाडौँ — बारा निजगढका वासु दाहालले विराटनगर–काठमाडौं रात्रिबस चलाउन थालेको ९ वर्ष भयो । अहिलेजस्तो आर्थिक संकट उनले कहिल्यै खेप्नुपरेको थिएन । लकडाउन भएपछि विराटनगरमा गाडी थन्क्याएर घर पुगे । आम्दानीको स्रोत केही छैन । चार जनाको परिवार गाडीकै आम्दानीले पालिएको छ ।

मर्मत गरेका सवारी फेरि थन्किए

सरकारले भदौ १ बाट लामा दूरीका सवारी चलाउन दिने निर्णय गरेपछि उनी दंग थिए । त्यसैका लागि गाडी मर्मत गर्न भनेर विराटनगर पुगे । डेढ लाख खर्चिएर गाडी रङरोगन, मोबिल परिवर्तन, इन्जिनलगायत सबै पार्टपुर्जाको मर्मतसम्भार गरे ।

दाहालले गाडी मर्मत सकेका के थिए, सरकारले फेरि तत्कालका लागि लामा दूरीका गाडी नचलाउने निर्णय गर्‍यो । ‘भौतिक दूरी कायम गरेर कसरी यात्रु बोक्ने, केके स्वास्थ्य सावधानी अपनाउनेलगायत तयारी गरेका थियौं,’ उनले भने, ‘तर फेरि गाडी चल्ने समय सर्‍यो, अब त खै गाडी चल्छजस्तो पनि लाग्दैन ।’ उनले दुई छोरा पढाउन जोहो गरेको पैसाले दैनिक गुजारा चलाए । अहिले खर्च सकिएपछि कसरी परिवार पाल्ने भन्ने चिन्ता छ ।

‘यसअघि यस्तो आर्थिक संकट परेको थिएन, गुजारा चलाएकै थियौं,’ उनले भने, ‘कसरी दैनिक जीवनयापन गर्ने भन्ने मात्र चिन्ता छ ।’ उनी यो पेसामा लागेको १९ वर्ष भयो । उनकै कमाइले परिवार धानिएको थियो । छोराहरूले पढ्न पाएका थिए । ‘कृषिको काम गरौं भने सम्पत्तिको नाममा एउटा घर मात्र छ,’ उनले भने, ‘न गाडी चलाउन सक्ने अवस्था छ, न केही गरेर गुजारा चलाउने विकल्प नै ।’ जानेको काम गर्न नपाएपछि मानसिक तनाव भएको उनले गुनासो गरे । अहिले मर्मत गरेको गाडी थन्क्याएर राखिएको उनले बताए ।

बुटवलका कमल भण्डारीले पनि घरअगाडि ल्याएर गाडी राखेको पाँच महिना भयो । गाडी बुटवल–प्यूठान रुटमा चल्थ्यो । भदौबाट गाडी चल्ने खबर पाएपछि मर्मत गर्न पैसाको जोहो गर्दै थिए । ऋण खोज्दै गर्दा फेरि गाडी चल्ने मिति धकेलियो । कोभिड–१९ का बिरामी बढेपछि बुटवलमा भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको छ ।

‘थन्क्याएर राखेकै बेला गाडीको ब्याट्री चोरी भयो । २२ हजार रुपैयाँ खर्चेर ब्याट्री किनेको पैसा तिरिसकेको छैन,’ उनले भने, ‘गाडी चल्ला भनेर ऋण खोजेको थिएँ, अब खै गाडी खुल्ने आस पनि छैन ।’ उनका अनुसार ५ महिनादेखि गाडीको मोबिल फेरिएको छैन । मोबिल फेर्न पनि पैसा चाहिन्छ । चाडबाडका बेला यात्रु हुन्थे, कमाइ पनि राम्रै हुन्थ्यो । ‘योपटक त कमाइ शून्य छ, दसैंतिहार पनि ऋण गरेरै मनाउनुपर्ने अवस्था आउने भयो ।’ ६ जनाको उनको परिवारको गुजारा यही गाडीले गरिरहेको थियो ।

सहकारीबाट ऋण लिएर गाडी किनेका उनले अहिले आम्दानी नहुँदा ब्याज तिर्न सकेका छैनन । लकडाउनको बीचमा केही समय दिदीभिनाजुको कपडा पसलमा काम गरे । तर भदौबाट गाडी चल्ने भएपछि काम छाडिदिए । ‘जे काम जान्या छ, त्यही गर्न नपाउँदा समस्या भयो,’ उनले भने, ‘कमाई खाने व्यवसाय नै बन्द हुँदा आर्थिक रूपले पीडा थपिँदै गएको छ ।’

बैंक एवं सहकारीबाट ऋण लिएर गाडी किनेका यातायात व्यवसायीलाई अहिले किस्ता तिर्न हम्मेहम्मे छ । बैंकले किस्ताका लागि ताकेता गरीरहेका छन् । ‘के आम्दानीले किस्ता तिर्नु ?’ एक व्यवसायीले आक्रोश पोखे, ‘सास अल्झाउन त गाह्रो भइसक्यो । तर बैंकले यस्तो कुरा बुझ्दैनन, खालि फोन गरेर तनाव मात्र दिन्छन् ।’ अधिकांश व्यवसायी गाडीको किस्ता तिर्न नसक्दा मानसिक तनावमा छन् । सरकारले साउन पहिलो साता भदौ १ बाट आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोरोनाका बिरामी बढेपछि निर्णय पछि सरेको हो ।

देशभर लामा तथा मध्यम दूरीका करिब दुई लाख सवारी सञ्चालनमा छन् । यात्रुवाहक र मालवाहक सवारीमा १० खर्ब रुपैयाँ लगानी छ । बैंकको लगानी मात्र ७० देखि ८० प्रतिशतसम्म रहेको यातायात व्यवसायी बताउँछन् । यातायातको क्षेत्रमा २१ लाख रोजगार छन् । अहिले प्रायः बेरोजगार छन् । लामा दूरीका सवारी चालक र सहचालक रोजगारविहीन छन् ।

लामो दूरीका सवारी व्यवसायीको बिजोग भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘भदौबाट गाडी चल्छ भनेर ऋणपान गर्दै व्यवसायीले गाडी मर्मत गरें,’ उनले भने, ‘अहिले फेरि सबै गाडी थन्क्याउनुपर्‍यो ।’ उनका अनुसार करिब ५० प्रतिशत गाडी मर्मत गरेर तयारी अवस्थामा थिए । महासंघले भदौबाट गाडी चल्ने भएपछि व्यवसायीलाई गाडी मर्मत गरेर तयारी अवस्थामा बस्न भनेको थियो ।

‘घर गएका चालकलाई समेत राजधानी बोलाइयो । तर सब व्यर्थै भयो,’ उनले भने । भदौ १६ पछि लामा दूरीका गाडी कसरी चलाउने भन्नेमा पनि सरकारले छलफलका लागि नबोलाएको उनले बताए । ‘सरकारले हचुवामा निर्णय गर्दा त्यसको मार हामीले खेप्नुपर्छ । यस्तो बेलामा छलफल गर्नुपर्ने, व्यवसायी र मजदुरको स्थिति बुझ्नुपर्नेमा सरकारले आफ्नै ढंगले निर्णय गर्छ,’ उनले भने । आफूहरूले पुनर्कर्जाको माग गरे पनि त्यो सुविधा अहिलेसम्म नपाएको उनको गुनासो छ । लकडाउन खुलेको भन्दै बैंकले व्यवसायीलाई किस्ता तिर्न ताकेता गरिरहेका छन् । ‘साउनबाट नियमित किस्ता तिर्न भनिएको छ,’ सिटौलाले भने, ‘गाडी चलेका छैनन्, के आम्दानीले किस्ता तिर्नु, यी कुरा बैंकले बुझ्नुपर्ने होइन र ?’

भदौ १६ सम्मका लागि सार्वजनिक यातायात नचलाउने भनिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् । ‘लामा दूरीका सवारी चलाउनेबारे अर्को कुनै निर्णय भएको छैन,’ उनले भने । सार्वजनिक सवारी सञ्चालनमा भने केही कडाइ गर्न लागिएको उनले सुनाए । ‘स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरीसँगको सहकार्यमा सिट संख्याको आधा यात्रु बोकेका छन्/छैनन्, चालक, सहचालक र यात्रुले अनिवार्य मास्क प्रयोग गरेका छन्/छैनन्, सबै कुरा हेरिनेछ ।’ उपत्यकामा कोरोनाका बिरामी बढेसँगै सार्वजनिक सवारी सञ्चालनसमेत घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘अहिले जोरबिजोर प्रणाली लागू भएको छ,’ उनले भने, ‘यसले पनि सवारी चाप घटाएको छ । करिब २५ प्रतिशत मात्र सार्वजनिक सवारी सञ्चालनमा छन् ।’

प्रकाशित : श्रावण ३१, २०७७ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?