अझै घट्ला सुनको मूल्य ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको भाउ बुधबार तोलामै ६ हजार २ सय रुपैयाँ घटेको छ । रसियामा कोभिड–१९ को भ्याक्सिन तयार भएका समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि नेपाली बजारमा एकै दिन ठूलो परिमाणमा सुनको मूल्यमा गिरावट आएको हो ।

अझै घट्ला सुनको मूल्य ?

‘भ्याक्सिन तयार भएको सूचनासँगै लगानीकर्तामा आशा पलाएको देखिन्छ । लगानीकर्ताले सुन बजारमा बिक्री गर्न ल्याएपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस सुन १ सय ३६ डलरले घटेको छ,’ शाक्यले भने, ‘मंगलबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार २० अमेरिकी डलर थियो । बुधबार मूल्य निर्धारणका क्रममा १८ सय ८४ डलर पुग्यो । जसले गर्दा मूल्य ह्वात्तै घटेको हो ।’ महासंघले मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ तोकेको थियो । बुधबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ रुपैयाँ पुगेको थियो ।

महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ५३ डलरमा कारोबार भएको थियो । त्यसपछि बिस्तारै भाउ आरोलो लागेको हो । महासंघले गत आइतबार प्रतितोला १ लाख २ हजार ६ सय निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ३५ डलरमा कारोबार भएको थियो । सोमबार प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँ निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २ हजार ३० डलर, मंगलबार प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँ हुँदा अन्तर्राष्ट्रिय बजारमा २ हजार २० डलरमा कारोबार भएको थियो । बुधबार भने घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अस्थिर देखिएको छ । महासंघले मूल्य निर्धारण गरेपछि अन्तर्राष्ट्रिय बजारमा भाउ घटेर प्रतिऔंस १८ सय १८ मा आएको थियो । त्यसपछि पुनः बढेर १९ सय ३०/४० डलरसम्म पुगेको छ । बुधबार बेलुकाबाट अमेरिकी बजार (न्युयोर्क मार्केट) खुलेपछि बिहीबार बिहानको मूल्यले घटबढ तय गरिने महासंघले जनाएको छ ।

‘बुधबार निर्धारण गर्दा मूल्य घटेको थियो । युरोपियन बजार खुलेपछि अस्थिर देखियो । भाउ तलमाथि भइरहेको छ,’ मूल्य निर्धारण समितिका संयोजकसमेत रहेका पूर्वअध्यक्ष शाक्यले भने, ‘बुधबार बेलुका ७ बजेदेखि अमेरिकी बजार खुल्छ । बिहान १० बजेसम्मको अवस्थाले नेपाली बजारमा भाउ घट्ने/बढ्ने निर्धारण गर्नेछ ।’ शाक्यका अनुसार रुसले भ्याक्सिन बनाए पनि युरोपेली बजारले त्यसलाई विश्वास गरेको देखिँदैन ।

प्रकाशित : श्रावण २९, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?