२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

‘बूढीगण्डकीमा मुआब्जालाई तीव्रता देऊ’

कान्तिपुर संवाददाता

काठमाडौँ — बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित हुनेहरूले मुआब्जाको कामलाई तीव्रता दिन माग गरेका छन् । आयोजनाको वातावरण मुआब्जा, पुनर्वास तथा पुनःस्थापना इकाइले काम नगर्दा बाँकी प्रभावितले मुआब्जा नपाएको भन्दै बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले १३ बुँदे माग सार्वजनिक गरेको छ ।

‘बूढीगण्डकीमा मुआब्जालाई तीव्रता देऊ’

इकाइले ९५ प्रतिशत जग्गाको मुआब्जा वितरण सकिएको भने पनि सार्वजनिक जग्गाको मुआब्जा वितरण नभएको, प्रभावितको घरगोठ, बोटबिरुवाको दर रेटसमेत हालसम्म निर्धारण नभएको सरोकार समितिका संयोजक हरेकराम ढकालले जानकारी दिए । ‘९५ प्रतिशत जग्गाको मुआब्जा वितरण गरिएको भनिए पनि ४० प्रतिशत मुआब्जा वितरण हुनै बाँकी छ,’ उनले भने, ‘सार्वजनिक जग्गाको मुआब्जा वितरण भएको छैन भने अन्य सम्पत्तिको मुआब्जा दिन दररेट तय भएको छैन ।’

समितिले मुआब्जा पाउन बाँकी जग्गाधनी र मुआब्जा दिँदा कित्ता छुटेका प्रभावितलाई तत्काल मुआब्जा दिन माग गरेको छ । जिल्ला मुआब्जा समितिले निर्धारण गरेको दररेटअनुसार नै मुआब्जा दिन पनि समितिको आग्रह छ । ५ रोपनीभन्दा कम जग्गा हुनेलाई १५ र १० रोपनीभन्दा कम जग्गा हुनेलाई १० प्रतिशत मुआब्जा थप्न पनि समितिको माग छ । दर्ता छुट भएका र भोगचलन भइरहेको जग्गाको पनि मुआब्जा दिन समितिले माग गरेको छ ।

आयोजना इकाइ कार्यालयले कर्मचारी भर्ना गर्दा डुबान क्षेत्रका बासिन्दामध्ये नियुक्त गर्न पनि समितिले माग गरेको संयोजक ढकालले जानकारी दिए । मुआब्जामा लिइएको पुँजीगत लाभ र फिर्ता गर्न र बूढीगण्डकी रिङरोडको काम अघि बढाउन पनि समितिले माग गरेको छ ।

मुआब्जा वितरण गर्दा सुरुमा राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने गरिएको भए पनि निजी क्षेत्रका बैंकमार्फत वितरण गर्दा बैंकले पैसा हप्तौंसम्म प्रभावितको खातामा नपठाउने गरेको ढकालको आरोप छ ।

प्रकाशित : श्रावण २८, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?