कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बजार नपुर्‍याउँदै बिग्रिन्छ दूध

पहिरोले अवरूद्ध बाटो समयमा खोल्न नसकेकै कारण असारयता धेरै किसानले दूध बजार पुर्‍याउन पाएनन्
प्रशान्त माली

ललितपुर — बिहानको मौसम सफा थियो । सडक विस्तार गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका साइट इन्चार्जले सडकमा पहिरो नझरेको जानकारी गराए । यही खबरले ललितपुर दक्षिण दुर्गम पहाडी भेग प्युटारका राजकुमार घिमिरे ढुक्क भएर सधैंझैं दूध सहर पुर्‍याउन किसानबाट संकलन गरे । गाउँबाट दूध गाडीमा राखेर बिहान ९ बजे हिँडे ।

बजार नपुर्‍याउँदै बिग्रिन्छ दूध

प्युटार–बगुवा सडकको बीचसम्म आइपुग्दा पहिरो झरेर बाटो अवरुद्ध भइसकेको रहेछ । किसानको दूध बजार लैजाने जिम्मेवारी पाएकाले उनलाई समयमै पुर्‍याउन नसके दूध बिग्रने डर थियो । ‘बाटो अवरुद्ध हुँदा दाना र यात्रु बोकेको बस पनि अड्किएको थियो । सबै जना मिलेर साबेल, कुटो कोदालीले खन्दै ढुंगा र माटो पन्छाउँदै दुई घण्टा लाएर बल्लतल्ल कान्ति लोकपथसम्म आइपुगें,’ उनले भने ।

विडम्बना कान्ति लोकपथमा पनि ठाउँठाउँमा पहिरो गएको थियो । ‘पन्छाउँदै भट्टेडाँडाको कार्कीबाससम्म आइपुग्दा साढे तीन बजिसकेको थियो,’ उनले सुनाए, ‘दूध हेर्दा जमिसकेको रहेछ । फाल्नुको विकल्प भएन ।’ बुधबार ६० जना किसानबाट संकलित साढे पाँच सय लिटर दूध फाल्न उनी बाध्य भए । ‘अझ त्यो दिन कम संकलन भएको थियो । प्रायः दैनिक प्युटारबाट एक हजार २ सय लिटर दूध संकलन हुन्छ,’ उनले भने, ‘विद्युत् लाइन हाफ भएकाले पनि राम्रोसँग मेसिनमा चिस्याउन नपाउँदा पनि चाँडै जमेको हो ।’

वाग्मती गाउँपालिका–२ माल्टाका हरिशरण घिमिरेको पनि कान्ति लोकपथको छपेली खण्डमा गएको पहिरको कारण असारमा ४० जना किसानबाट संकलन गरेको ३ सय लिटर दूध जमेर खेर गएको थियो । आश्राङका रामशरण घिमिरेले पनि बगुवा–गिम्दी सडकमा गएको पहिरोकै कारणले समयमा बजार पुसाउन नसक्दा साढे तीन सय लिटर दूध फाल्नुपरेको थियो ।

यी केही उदाहरण मात्र हुन् । पहिरोले अवरुद्ध बाटो समयमा खोल्न नसकेकै कारणले असारयता गिम्दीका किसानले दूध बजार पुर्‍याउन सकेका छैनन् । यस वर्ष साढे लाख रुपैयाँ बराबरको दूध खेर फाल्नुपरेको वाग्मती गाउँपालिका–२ गिम्दीका जयबहादुर भुलोनले जानकारी दिए । गिम्दीमा दैनिक एक हजार ५ सयदेखि एक हजार ७ सय लिटरसम्म दूध संकलन हुन्छ ।

घुसेलको अवस्था पनि उस्तै छ । त्यहाँका किसानको दैनिक ३ हजार ५ सय लिटर दूध खेर गइरहेको छ । दक्षिणका किसानले बाटो अवरुद्ध भएपछि पहिला घरघरमा खुवा बनाउँथे । कोभिड–१९ का कारण सरकारले लकडाउन गरेपछि खुवा पनि बिक्री हुन छाडेपछि किसान थप मर्कामा छन् ।

प्युटारका तुलबहादुर घलानले ७ वटा भैंसी पालेका छन् । उनीकहाँ दैनिक ४० लिटर लिटर दूध उत्पादन हुन्छ । बजार पठाउन नसक्दा दैनिक ३ हजार ४ सय ७५ रुपैयाँ घाटा भइरहेको उनले गुनासो गरे । ‘२० दिन बन्द हुँदा ६९ हजार ५ सय घाटा भयो,’ उनले भने, ‘त्यसमाथि भैंसीलाई दैनिक २ सय ४५ रुपैयाँ दानाबापत खर्च हुन्छ ।’

पहिरोले ललितपुरको दक्षिण भेगमा प्रत्येक वर्ष असारदेखि असोजसम्म बेलाबेलामा सडक अवरुद्ध हुने गर्दछ । यहाँ लगानी गरेर व्यावसायिक पशुपालन गर्न खोज्ने किसानलाई बाह्रै महिना ढुक्कले काम गर्ने वातावरण छैन । बाटो अवरुद्ध हुँदा दैनिक ४ हजार लिटरसम्म दूध खेर जाने गरेको जिल्ला दुग्ध उत्पादक संघका उपाध्यक्ष कृष्ण बल बताउँछन् । भन्छन्, ‘राजनीतिक पार्टीका सभा, सम्मेलन, भेला, बैठक भए तत्काल अवरुद्ध बाटो खोलिन्छ । सर्वसाधारणको पहुँच माथिल्लो तहसम्म नपुगेर होला, स्थानीयको कुरा कसैले सुन्दैन ।’

उनका अनुसार डोजरले दुईतीन घण्टा पहिरो पन्छाए बाटो खुलाउन सकिन्छ । ‘तर ठेकेदार पनि कसैको कुरा सुन्दैनन्,’ बलले भने । बगुवा–गिम्दी २८ किमि सडकको पहिरो पन्छाउने ठेक्का ३ लाख रुपैयाँमा स्थानीय राजकुमार बजगाईंले पाएका थिए । तर बजगाईंले वाग्मती गाउँपालिकाले रकम भुक्तानी बन्द गरेको भन्दै काम ठप्प पारेका छन् । ‘पहिरो पन्छाउँदै जाने क्रममा ३ लाख बजेट अपुग भयो । अनि थप बजेट निकासा गरिदिने मौखिक सहमतिमा वडाध्यक्ष र प्राविधिकको रोहवरमा पहिरो पन्छाएँ । त्यसको भुक्तानी अहिलेसम्म पाएको छैन,’ उनले भने ।

बजेट निकासा भएमा तत्काल अवरुद्ध सडक खोल्न तयार रहेको उनले बताए । वाग्मती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले भने बजगाईंले भने जस्तो नभई डोजर बिग्रेकाले पहिरो पन्छाउने काम बन्द भएको दाबी गरे । दक्षिणका साविक १९ वटा गाविसमध्ये शंखु, गोटिखेल, गिम्दी, भट्टेडाँडा, प्युटार, चन्दनपुरमा एक/एक, मानिखेल र लेलेमा २/२ वटा गरेर १० वटा दूध चिस्यान केन्द्र छन् । ठूलादुर्लुङ, आश्राङ, माल्टा, गिम्दी, इकुडोल, घुसेल, चौघरे, देवीचौर, दलचोकी, भारदेउ, नल्लुमा भने छैनन् ।

चिस्यान केन्द्र नहुँदा दक्षिणका किसान सडक अवरुद्ध भए दूध फाल्न बाध्य छन् । ‘केन्द्रमा राख्न सके एसिडिटी बढ्दैन । यसले २४ घण्टासम्म दूध बिग्रिनबाट बचाउँछ,’ दूध वितरक ठक्कर सञ्जेल भन्छन् । ठूलादुर्लुङ, आश्राङ, माल्टा र मकवानपुरबाट गरेर दैनिक ८ सयदेखि एक हजार ६ सय लिटर दूध उत्पादन हुन्छ । यी क्षेत्रका लागि एक हजार ५ सयदेखि २ हजार लिटर क्षमताको केन्द्र आवश्यक रहेको उनले बताए ।

दुग्ध विकास संस्थानले केन्द्रमा हालेको दूधको मूल्य ४ देखि ५ रुपैयाँ बढी दिने गरेको उनले जानकारी दिए । दक्षिणका वाग्मती, महांकाल र कोन्ज्योसोम गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालन गर्न गोठ सुधार, घाँस मसिनो बनाउने मेसिन वितरण, घाँसको बीउबीजन, औषधि, पशु बिमा जस्ता प्रोत्साहन कार्यक्रम ल्याएको छ । तर दूधको गुणस्तर कायम गर्ने चिस्यान केन्द्र स्थापना जस्ता योजना ल्याउन नसकेको किसानको गुनासो छ ।

दलचोकीमा विवादका कारणले केन्द्र राख्न नसकिएको कोन्ज्योसोम गाउँपालिका उपाध्यक्ष मिङमा लामाले बताइन् । ‘पछिल्लो समय त्यहाँका जनताले पनि माग गरेका छैनन्,’ उनले भनिन् । एउटा चिस्यान केन्द्र स्थापना गर्न १० देखि १५ लाख मात्र खर्च हुन्छ । आटोमेटिक मेसिनको २५ देखि ३० लाख रुपैयाँ पर्छ । वडास्तरीय बजेटबाटै राख्न सकिने किसान बताउँछन् । प्युटार, गिम्दी, आश्राडमा केन्द्र स्थापना गर्ने तयारी रहेको वाग्मती गाउँपालिकाका प्रवक्ता विष्णु तिमल्सेनाले बताए । ‘भट्टेडाँडामा फिटिङ भइसकेको छ । सुरु गर्न मात्र बाँकी छ,’ उनले भने ।

चिस्यान केन्द्र सञ्चालन गर्न थ्री फेज लाइन चाहिन्छ । चापागाउँ, शंखु हुँदै गाउँमा ल्याइराखेको विद्युत् लाइन बर्खामा कहिले फ्युज जाने, कहिले हाफलाइन आउने त कहिले लाइन नै नआउने समस्या छ । ट्रान्सफर्मर लामो दूरीमा राखिएकाले फ्युज जाने समस्या भएको नेपाल विद्युत् प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले बताइन् ।

प्रकाशित : श्रावण २७, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?