कर्मचारीको आलोपालोमा बैंक चलाउन निर्देशन- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

कर्मचारीको आलोपालोमा बैंक चलाउन निर्देशन

यज्ञ बञ्जाडे

काठमाडौँ — कोभिड–१९ को जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो र सम्भव भएसम्म घरबाटै काम गराउन निर्देशन दिएको छ । 

राष्ट्र बैंकले आइतबार सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ । ‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ ।

सरकारले देशको विभिन्न स्थानमा बन्दाबन्दी, निषेधाज्ञा, सार्वजनिक तथा निजी सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लगायत विशेष परिस्थितिलाई मध्येनजर गरी घरबाटै काम गर्ने वातावरण बनाउन पनि राष्ट्र बैंकले भनेको छ ।

यस्तै, प्रदेशमा सञ्चालन भएका शाखाहरुको हकमा सम्बन्धित, प्रदेश, स्थानीय तह र स्थानीय प्रशासनको निर्णयबमोजिम गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ । ‘प्रदेश कार्यालयहरुसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट संस्था सञ्चालन गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखाहरु सोहीबमोजिम सूचना जारी गरी वैकल्पिक रुपमा आलोपालो रुपमा सञ्चालनको व्यवस्था मिलाउने ।’

लकडाउनको कारणले सञ्चालन हुन नसकेको शाखाको विवरण नियमित रुपमा राष्ट्र बैंकमा उपलब्ध गराउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकको सूचना



प्रकाशित : श्रावण २५, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्

स्मार्ट मिटर जडान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले आइतबारबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ काम सुरु भएको हो ।

‘सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उनले पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताए ।

स्मार्ट मिटर जडान भएपछि बिहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भुक्तानी लगायतका काम गर्न सकिने उनले बताए ।

ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने अप्सन समेत रहेको छ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानहरुमा उत्कृष्ठ काम गर्दै आएको उर्जा, जलस्रोत तथा सिाचाईंमन्त्री वर्षमान पुनले बताए । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उनले बताए । मन्त्री पुनले नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरि भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्री स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनले बताए ।

प्राधिकरणले पछिल्लो समय विद्युत महसुल केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×