स्मार्ट मिटर जडान सुरु- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

स्मार्ट मिटर जडान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले आइतबारबाट ‘स्मार्ट मिटर’ जडान कार्य सुरु गरेको छ । पहिलो चरणमा एक लाख ‘स्मार्ट मिटर’ जडान गर्ने योजनाका साथ काम सुरु भएको हो ।

‘सिंगल फेज’ का मिटरहरुलाई स्मार्ट मिटर बनाउने काम सुरु भएको र पहिलो चरणमा एक लाख मिटर जडान हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उपत्यकाका तीन वटै जिल्लामा कम्तिमा ५ लाख स्मार्ट मिटर आवश्यक पर्ने उल्लेख गर्दै उनले पहिलो चरणमा १ लाख र दोस्रो चरणमा उपत्यका लगायत देशभरी नै स्मार्ट मिटर जडानको काम सुरु गरिने बताए ।

स्मार्ट मिटर जडान भएपछि बिहान, दिउँसो र बेलुकीको समयमा फरक महसुल निर्धारण गर्न सकिने, घरघरमा मिटर रिडरहरु जानुपर्ने बाध्यताको अन्त्य हुनेछ । विद्युत चुहावट कम हुने र महामारीको समयमा पनि अनलाइन मार्फत विल भुक्तानी लगायतका काम गर्न सकिने उनले बताए ।

ग्राहकले स्मार्ट मिटर जडान भएपछि आफ्नो सुविधा अनुसार ‘प्रिपेड र पोस्टपेड’ गर्न सक्ने अप्सन समेत रहेको छ । स्मार्ट मिटर जडान सुरु गरेको प्राधिकरणले सरकारी संस्थानहरुमा उत्कृष्ठ काम गर्दै आएको उर्जा, जलस्रोत तथा सिाचाईंमन्त्री वर्षमान पुनले बताए । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर काम गर्न सके परिवर्तन सम्भव रहेको उदाहरण प्राधिकरणले पेश गरेको उनले बताए । मन्त्री पुनले नेपालको उत्पादन क्षमताअनुसारको विद्युत उत्पादन गरि भारत, बंगलादेश लगायतका छिमेकी देशहरुमा स्वच्छ उर्जा वितरण गरी यस क्षेत्रकै ‘ब्याट्री स्टोरेज’ का रुपमा काम गर्ने योजनाका साथ काम भइरहेको बताए । अहिले नेपालले रातिको समयमा भारतमा ४० देखि ८० मेगावाट विद्युत निर्यात गरिरहेको उनले बताए ।

प्राधिकरणले पछिल्लो समय विद्युत महसुल केही घटाएको छ । प्राधिकरण पछिल्लो समय दर्जनौ सरकारी संस्थानहरुमा धेरै नाफा कमाउने र गुणस्तरिय सेवा प्रदान गर्ने संस्थाका रुपमा अग्रस्थानमा रहँदै आएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनाबाट थप २ को मृत्यु, मृतकको संख्या ७५ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।

कोरोना संक्रमित कास्कीको पोखरा महानगरपालिका-१९ का ६२ वर्षीय पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मधुमेहका रोगी ती पुरुषमा साउन १७ गते कोभिड-१९ पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालको आईसीयूमा भर्ना भइ उपचाररत थिए ।

यस्तै, पर्सा वीरगन्ज महानगरपालिका-२ बस्‍ने २० वर्षीया महिलाको शनिबार दिउँसो मृत्यु भएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालममा पुर्‍याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

मृत्युपश्चात ती महिलाको स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १६:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×