२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

हरियो चियापत्तीको मूल्य अहिलेसम्मकै उच्च

चियाको मूल्यवृद्धि भएकै वर्ष उत्पादनमा भने ह्रास आएको छ ।
अर्जुन राजवंशी

बिर्तामोड — हरियो चियापत्तीले यस वर्ष अहिलेसम्मकै उच्च मूल्य पाएको छ । झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सीटीसी चियाको हरियो पत्तीले अहिलेसम्म यो मूल्य पाएको थिएन । सबैभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा बिक्री भइरहेको चिया उद्योगी बताउँछन् ।

हरियो चियापत्तीको मूल्य अहिलेसम्मकै उच्च

साउन महिना चियाको मध्य सिजन हो । ठूलो संख्यामा हरियो पत्ती उत्पादन हुने भएकोले असार–साउनमा चियापत्तीले खासै मूल्य पाउने समय होइन । तर, यस वर्ष कम मूल्य पाउने सिजनमै इतिहासकै सबैभन्दा उच्च मूल्य पाउँदा चिया किसान उत्साहित बनेका छन् ।

‘२० वर्षदेखि लगातार चिया क्षेत्रमा छु । हरियो पत्ती वार्षिक सरदर २०–२२ रुपैयाँ केजीभन्दा बढीमा बेचेको स्मरण छैन । बरु, ओरालो झरेर १० रुपैयाँ केजीसम्ममा पनि पत्ती बिक्री गरेका छौं,’ स्टार टि इन्डस्ट्रिज भद्रपुरका सञ्चालक शिवकुमार गुप्ताले भने,‘हरियो पत्तीले यो वर्ष इतिहासकै सबैभन्दा बढी मूल्य पाइरहेको छ ।’ भारतीय बजारमा नेपाली चियाको माग बढेकोले हरियो पत्तीको मूल्य पनि बढेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङले बताए ।

उनका अनुसार तयारी चियाको मूल्य पनि यस वर्ष निकै बढेको छ । भारतीय व्यापारीले तयारी चिया प्रतिकेजी २५० देखि ३ सय रुपैयाँसम्ममा खरिद गरिरहेका छन् । यो मूल्य गत वर्षको तुलनामा दोब्बर हो । गत वर्ष तयारी सीटीसी चिया प्रतिकेजी एक सयदेखि १३० रुपैयाँमा मात्र बिक्री भएको थियो । ‘भारतीय बजारमा माग बढेकोले नेपालमा हरियो र तयारी दुवै चियाको मूल्य आकासिएको हो’ तामाङले भने,‘मूल्य बढेकोले किसानले पैसा पनि पत्ती बिक्री गरेलगत्तै पाउने गरेका छन् ।’ कोरोना भाइरसको संक्रमणका कारण भारतीय चिया क्षेत्र प्रभावित बनेको छ । त्यसको असर नेपालमा चियाको मूल्यवृद्धि भएको चिया उद्योगी बताउँछन् ।

झापाको भद्रपुर नगरपालिका ३ भाङ्गबारी गाउँस्थित बगानमा हरियो चियापत्ती टिप्दै महिला श्रमिक । तस्बिर : अर्जुन/कान्तिपुर

चियाको मूल्यवृद्धि भएकै वर्ष उत्पादनमा भने ह्रास आएको छ । लकडाउन र मौसमका कारण यस वर्ष बगानमा हरियो चिया पत्तीको उत्पादन ५० प्रतिशतले घटेको छ । ‘सिजन सुरु हुँदै गर्दा लकडाउन सुरु भयो । त्यसले चियाको पहिलो र महँगो टिपाइ (फस्ट फल्स) टिप्नै पाइएन । फस्ट फल्स काम नलाग्ने भएपछि पत्ती काटेर फाल्नुपर्‍यो,’ क्लासिक तराई टि इन्डष्ट्रिजका सञ्चालक रमेश पौडेलले भने,‘असार–साउनमा हरियो पत्ती राम्रो उत्पादन हुन्थ्यो । मौसमले साथ दिए । लगातार पानी पर्दा मुना पट्नै पाएन ।’

पौडेलको ६० बिघाको चिया बगानमा वार्षिक ५ लाख केजी हरियो चिया पत्ती उत्पादन हुन्छ । तर, यस वर्ष ५० प्रतिशतले हरियो पत्तीको उत्पादन घटेको उनको भनाइ छ । उत्पादन घटेकाले कतिपय चिया बगानमा असोज महिनासम्मको पत्ती बुकिङ भइसकेको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?