प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिकामा सञ्चालित गेलुङ खोला हाइड्रोपावरको हाइटेन्सन लाइन विस्तारमा स्थानीयले अवरोध गरेका छन् । ३ दशमलव ३ मेगावाट क्षमताको आयोजनाको पावर हाउसदेखि चौतारा साँगाचोकगढी नगरपालिका–२ बतासेमा सबस्टेसनका लागि हाइटेन्सन लाइन विस्तार गर्ने क्रममा पोल राख्दा विवाद भएको हो ।

गेलुङ हाइड्रो प्रालिका व्यवस्थापक रामकुमार राईका अनुसार चौतारा साँगाचोकगढीको बतासेमा गाडिएका ८ वटा खम्बा र तार बुधबार राति स्थानीयले उखेलेर फालेका छन् । भूकम्पदेखि बर्सेनि पहिरोको समस्याले पछाडि धकेलिँदै आएको आयोजना ७ वर्षपछि अन्तिम चरणमा पुग्न लाग्दा यस्तो अवरोध भएको उनले बताए । राष्ट्रिय प्रसारण लाइनमा जोडिन एक महिनाको मात्रै काम बाँकी हुँदा आयोजना पूर्णरूपमा थलिएको छ । ‘खम्बा र पोल परेको प्रत्येक परिवारलाई हामीले मुआब्जा दिएका छौं । तर स्थानीयले अहिलेसम्म ३ पटकसम्म खम्बा निकालेपछि हामी आजित बनेका छौं,’ उनले भने ।

राष्ट्रिय प्रसारण लाइनमा जोड्न गाडिएका खम्बा उखेलेर फाल्ने १४ जना स्थानीयविरुद्ध प्रशासन र प्रहरीमा सूचना दिएको उनले बताए । विद्युत् प्राधिकरणको निर्देशन प्रक्रियाबाहिर रहेकाले स्थानीयको मागअनुसार सबै गर्न नसकेको व्यवस्थापक राईको दाबी छ । २०६५ सालदेखि सुरु भएको गेलुङ खोला हाइड्रो प्रालि ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । हालसम्म ५५ करोड खर्चिएको राईले बताए । जग्गाधनी स्थानीय १४ परिवारले आयोजनाको हाइटेन्सन लाइन विस्तारमा आफूखुसी काम गरेको बताएका छन् । आयोजनाको पावर हाउसदेखि सबस्टेसनसम्म हाइटेन्सन लाइन विस्तार गर्ने क्रममा यसअघि आफूखुसी जोखिपूर्ण पोल गाडेको स्थानीयको आरोप छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्ची पहिरो : बेपत्ता ८ जनाकै शव भेटियो [अपडेट]

अनिश तिवारी

काठमाडौँ — मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका भएको डीएसपी काफ्लेले जानकारी दिए ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

पहिरोले कभर्ड हलको आधा भाग र मजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए । पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको ह्याम्स अस्पताल लगिएको छ ।

प्रकाशित : श्रावण १९, २०७७ १२:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×