१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सडक सुरुङको लागत यकिन गर्न मापदण्ड

विमल खतिवडा

काठमाडौँ — सडक सुरुङ निर्माणको लागत यकिन गर्न छुट्टै मापदण्ड बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा उक्त मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

सडक सुरुङको लागत यकिन गर्न मापदण्ड

‘हामी सुरुङ प्रविधिमा प्रवेश गर्न थालेका छौं,’ बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थमन्त्री युवराज खतिवडाले भने, ‘सुरुङ प्रविधिमा प्रतिस्पर्धाबाट निर्माणका लागि आह्वान गर्दा त्यसको लागत अनुमान यकिन गर्ने केही मापदण्ड अहिलेसम्म बनेको थिएन ।’ लागतको दर अनुमान गर्ने मापदण्डका रूपमा मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनले स्पष्ट पारे । ‘कुनै पनि चिजको इस्टिमेट गर्दा त्यहाँ कति सामान, उपकरण र मान्छे लाग्छन् भन्ने कुराको एउटा नम्स बनाइएको हो,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, ‘यस्तो नम्स सडक र पुलमा थियो, सुरुङमा थिएन ।’ मापदण्ड स्वीकृत भएपछि सुरुङको इस्टिमेट गर्न बाटो खुलेको उनले बताए ।

त्यस्तै सहरी विकास मन्त्रालयको भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत गरिएको छ । ‘मन्त्रालयले भवन निर्माणसम्बन्धी धेरै संहिता जारी गरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले भने, ‘भूकम्प प्रतिरोधी संरचना कस्तो बनाउनुपर्छ भनेर प्रयोगमा आए पनि त्यसको कार्यविधि बनिनसकेको हुनाले अहिले संहिता बनाएर स्वीकृत गरिएको हो ।’

‘नेसनल बिल्डिङ कोड भनेको सेस्मिक कोड हो, यसलाई भवन संहिता भनिन्छ,’ सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारीले भने, ‘भवन संहिता डिजाइन गर्दा भूकम्प प्रतिरोधी बनाउन कस्तो डिजाइन गर्नुपर्छ भन्ने कुराको गाइडलाइन हो ।’ एनबीसी कोड १०५ भनेको भूकम्पसम्बन्धी सेस्मिक कोड हो । ‘भवन संहिता सन् १९९४ मा बनेको थियो, त्यो समय सान्दर्भिक र पूर्ण थिएन, जुन इन्डियन कोडमा आधारित भएर गर्नुपर्थ्यो,’ उनले भने, ‘अहिले ०७२ को भूकम्पपछि बिल्डिङ कोड अपडेट गर्न महसुस गरियो, त्यसैले १९९४ लाई खारेज गरी नयाँ संहिता बनाइएको हो ।’

पुरानो संहितामा धेरै कुरा परिवर्तन गरिएको उनले बताए । ‘पहिला पुरानै कोडअनुसार डिजाइन गरिन्थ्यो,’ उनले भने, ‘अब नयाँ कोड लागू भएको छ, त्यहीअनुसार डिजाइन गर्नुपर्ने हुन्छ ।’ त्यस्तै यो मन्त्रालयअन्तर्गत विकास आयोजना कार्यक्रम सञ्चालनका लागि मन्त्रिपरिषद्ले २ सय ९२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?