कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

नेपालबाट भुटानमा निर्यात घट्दो

पर्वत पोर्तेल

काँकडभिट्टा — भारत र बंगलादेशपछि भुटानसँग पनि नेपालको व्यापार कमजोर देखिएको छ । चार वर्षयता पूर्वी नाकाबाट भुटानमा नेपाली सामानको निर्यात निरन्तर घटिरहेको छ ।

नेपालबाट भुटानमा निर्यात घट्दो

विगतमा स्टिल पोललगायत विद्युतीय सामान भारी मात्रामा निकासी हुँदा भुटानसँगको व्यापार नेपालको पक्षमा थियो । तर निर्यात घटेसँगै व्यापार भुटानको पक्षमा गएको मेची भन्सार स्रोतले जनाएको छ ।

पूर्वी नाकाबाट चार वर्षमा ४ अर्ब ७ करोड ८४ लाख मूल्यबराबरको सामान भुटानले पठाएको छ । नेपालबाट भने ४४ करोड १३ लाखजतिको सामान मात्रै गएको छ ।

आर्थिक वर्ष २०७३/२०७४ देखि नै भुटानसँगको व्यापार ओह्रालो लाग्न थालेको हो । त्यस वर्ष २० करोड ७५ लाख ५० हजारको सामान आएकोमा निर्यात ९ करोड ७८ लाख ९२ हजार रुपैयाँको मात्र भएको थियो ।

त्यस्तै २०७४/२०७५ मा भुटानबाट १ अर्ब २२ करोड ४० लाख ७५ हजार रुपैयाँको सामान आउँदा नेपालले १ करोड २४ लाख ७४ हजारको मात्र पठाउन सक्यो । २०७५/२०७६ मा नेपालले १२ करोड ९९ लाख ५८ हजारको सामग्री निकासी गर्दा भुटानले १ अर्ब ५५ करोड ९६ लाख ९ हजार रुपैयाँको पठायो । २०७६/२०७७ मा १ अर्ब ८७ करोड २ लाख १३ हजार रुपैयाँबराबरको सामान आयात भयो । नेपालले ११ करोड ९ लाख ९७ हजार रुपैयाँका सामान मात्र पठाउन सक्यो ।

मेची भन्सारका प्रमुख अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार चार वर्षअघि भने भुटानसँगको व्यापार सधैं नाफामै थियो । त्यति बेला विद्युतीय पोल, ट्रान्समिटर, तारजालीहरू निकासी हुन्थ्यो । ‘तर, अहिले त्यो अवस्था छैन,’ उनले भने, ‘यस्तै अवस्था रहे आगामी वर्ष अझै खस्कने प्रस्ट छ ।’

निर्यात गर्ने वस्तुहरू नथपिँदा बर्सेनि भुटानसँग व्यापार घाटा बेहोर्नुपर्ने बाध्यता आएको व्यवसायीहरूको भनाइ छ । मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले भुटानबाट सामग्री बढ्दो क्रममा आयात भइरहेको बताए ।

भुटानबाट कोक, स्प्राइट, विभिन्न अल्कोहल, पत्थर, कोइला, जिप्सम पुटिनपट्टी, चुनढुंगा, क्याल्सियम कार्बानेट, जुस–जामलगायत सामग्री आयात हुने गरेको छ ।

‘आउने क्रम तीव्र छ, जाने क्रम घट्दो छ’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘अनि व्यापार घाटा हुने नै भयो नि ।’

विगतमा नेपालबाट तारको जाली, लुगा धुने साबुन, आल्मुनियमको तार, दालमोठ, पापड, भुजिया तथा धातुका सामान निकासी हुने गरेकामा अहिले चाउचाउ र हस्तकलासहितका केही सामग्री मात्र जाने गरेको छ । ‘भुटान पठाउने सामग्री नै हामीसँग कम छ’, एक व्यवसायी भन्छन्, ‘उताबाट आउने सामग्री धेरै छन् ।’

प्रकाशित : श्रावण २२, २०७७ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?