एनसेल अब पब्लिक कम्पनी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेल अब पब्लिक कम्पनी

कान्तिपुर संवाददाता

काठमाडौँ — टेलिकम कम्पनी एनसेल पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । कम्पनी ऐनको बाध्यकारी प्रावधानका कारण एनसेल पब्लिक कम्पनी बनेको हो । यससँगै एनसेललाई सार्वजनिक सेयर जारी गर्ने बाटो खुलेको छ ।

एनसेलले बुधबार सूचना जारी गर्दै आफू पब्लिक कम्पनीमा परिणत भएको र नाम परिवर्तन गरेको जानकारी गराएको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १९ गते एनसेललाई पब्लिक कम्पनीमा रूपान्तरण हुन अनुमति दिएको हो । ‘प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हुँदा यस कम्पनीका सम्पूर्ण काम, कारोबारहरू एनसेल आजियटा लिमिटेड नामबाट गरिने,’ एनसेलद्वारा जारी सूचनामा भनिएको छ ।

०७४ वैशाख १९ मा राजपत्रमा प्रकाशित कम्पनी ऐन, ०६३ लाई संशोधन गर्न बनेको ऐनमा ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनी २ वर्षभित्र पब्लिक कम्पनीमा रूपान्तरण हुनुपर्ने बाध्यकारी व्यवस्था राखिएको थियो । संशोधित ऐनमा ०७४ वैशाख १९ यता दर्ता भएका ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका प्राइभेट कम्पनी पनि पब्लिक लिमिटेडमा जानुपर्ने व्यवस्था छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, ०७३ अनुसार संगठित संस्थाको जारी पुँजीको १० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने हुन्छ । धितोपत्रको सार्वजनिक निष्कासन गर्दा पब्लिक कम्पनीका रूपमा एक आर्थिक वर्ष पूरा गरेको, लेखापरीक्षण तथा साधारणसभा सम्पन्न गरेको जस्ता सर्त पूरा गरेको हुनुपर्छ । यो सर्तका अनुसार एनसेलको सेयर जारी हुन अझै कम्तीमा एक वर्ष लाग्न सक्छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्

उधारोमा सिमेन्ट बिक्री बन्द

विमल खतिवडा

काठमाडौँ — उपभोक्ताको हितलाई ध्यानमा राख्दै र लामो समयदेखि बजारबाट पैसा नउठेको भन्दै उद्योगीहरूले उधारोमा सिमेन्ट बिक्री बन्द गरेका छन् । उनीहरूले साउन १ बाट उधारोमा सिमेन्ट बिक्री गर्न नपाइने निर्णय गर्दै नगद कारोबार अनिवार्य गरेका हुन् । 

उधारोमा बेचिएको करिब ३० अर्ब रुपैयाँ बराबरको सिमेन्टको भुक्तानी उठ्न नसकेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘सबै उद्योगी मिलेर उधारोमा नबेच्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘पहिला डिलरले बोरामा ४० रुपैयाँसम्म नाफा लिने गर्थे, अब कमिसनको अधिकतम सीमा प्रतिबोरा २० रुपैयाँसम्म बनाएका छौं ।’

अहिले सिमेन्टको माग कम छ । जसले गर्दा धेरै उत्पादन हुन सकेको छैन । उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता ५० हजार टन छ । ‘माग पनि कम छ, उद्योग पनि कुल क्षमताको २० प्रतिशत मात्र चलेका छन्,’ थापाले भने, ‘अघिपछि यो बेला ४० प्रतिशतमा चल्थे । देशभर ६१ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये चुनढुंगामा आधारित उद्योग २१ वटा छन् । ‘उद्योगहरूको लगानी डुब्ने अवस्था छ, बजारमा एकदमै मन्दी छ । १० प्रतिशत मात्र बिक्री छ,’ थापाले भने । अब सिमेन्टको सम्पूर्ण बिक्री कारोबार नगदमा गर्नुपर्नेछ । निर्माण कम्पनी र कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भए अनिवार्य बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ,’ उद्योगीहरूले बनाएको सर्तमा भनिएको छ, ‘उधारोको अधिकतम समय ६० दिनसम्मको मात्र हुनुपर्नेछ ।

त्यस्तै वार्षिक स्किम, मासिक स्किम, बोनस जुनसुकै नाममा स्किम, बोनस कमिसन दिए पनि त्यसको अधिकतम सीमा २० रुपैयाँ प्रतिबोरामा ननाघ्ने गरी हुनुपर्नेछ । सो रकम भुक्तानी गर्दा अनिवार्य रूपले कर कट्टी गर्नुपर्नेछ । यसबाहेक सुनचाँदी, हीरामोती, विदेश टुर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न पाइने छैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सिमेन्ट नगदमा मात्र बिक्री गर्ने गरी निर्णय गरिएको बताए । उक्त निर्णय साउनबाट लागू भएकाले बजारमा राम्रै प्रभाव पर्न थालेको उनको भनाइ छ ।

समग्रमा डन्डीको मूल्य घटेको छ । डन्डीको मूल्य घटबढ भइरहेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘समग्रमा फलामको मूल्य बढ्ने, घट्ने क्रम जारी छ,’ उनले भने, ‘सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुँदा भने समस्या भएको छ ।’ मूल्यमा एकरूपता नभएको उनको भनाइ छ । ‘आफूखुसी मूल्य बढाउने गरिएको छ,’ उनले भने । बजारमा डन्डीको माग २५ प्रतिशत पनि छैन । कोरोना र लकडाउनले गर्दा समस्या भएको छ । घर निर्माण कम छ । आयोजना, सार्वजनिक भवन निर्माणको काम भइरहेकाले ती ठाउँमा बढी माग छ । मुरारका भने बजारमा डन्डीको मूल्य घटेको बताउँछन् । जेठपछि किलोमा ३ देखि ४ रुपैयाँ घटेको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×