कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उधारोमा सिमेन्ट बिक्री बन्द

विमल खतिवडा

काठमाडौँ — उपभोक्ताको हितलाई ध्यानमा राख्दै र लामो समयदेखि बजारबाट पैसा नउठेको भन्दै उद्योगीहरूले उधारोमा सिमेन्ट बिक्री बन्द गरेका छन् । उनीहरूले साउन १ बाट उधारोमा सिमेन्ट बिक्री गर्न नपाइने निर्णय गर्दै नगद कारोबार अनिवार्य गरेका हुन् । 

उधारोमा सिमेन्ट बिक्री बन्द

उधारोमा बेचिएको करिब ३० अर्ब रुपैयाँ बराबरको सिमेन्टको भुक्तानी उठ्न नसकेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । ‘सबै उद्योगी मिलेर उधारोमा नबेच्ने निर्णय भइसकेको छ,’ उनले भने, ‘पहिला डिलरले बोरामा ४० रुपैयाँसम्म नाफा लिने गर्थे, अब कमिसनको अधिकतम सीमा प्रतिबोरा २० रुपैयाँसम्म बनाएका छौं ।’

अहिले सिमेन्टको माग कम छ । जसले गर्दा धेरै उत्पादन हुन सकेको छैन । उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता ५० हजार टन छ । ‘माग पनि कम छ, उद्योग पनि कुल क्षमताको २० प्रतिशत मात्र चलेका छन्,’ थापाले भने, ‘अघिपछि यो बेला ४० प्रतिशतमा चल्थे । देशभर ६१ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये चुनढुंगामा आधारित उद्योग २१ वटा छन् । ‘उद्योगहरूको लगानी डुब्ने अवस्था छ, बजारमा एकदमै मन्दी छ । १० प्रतिशत मात्र बिक्री छ,’ थापाले भने । अब सिमेन्टको सम्पूर्ण बिक्री कारोबार नगदमा गर्नुपर्नेछ । निर्माण कम्पनी र कर्पोरेट ग्राहकलाई कम्पनीले उधारो दिनुपर्ने भए अनिवार्य बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ,’ उद्योगीहरूले बनाएको सर्तमा भनिएको छ, ‘उधारोको अधिकतम समय ६० दिनसम्मको मात्र हुनुपर्नेछ ।

त्यस्तै वार्षिक स्किम, मासिक स्किम, बोनस जुनसुकै नाममा स्किम, बोनस कमिसन दिए पनि त्यसको अधिकतम सीमा २० रुपैयाँ प्रतिबोरामा ननाघ्ने गरी हुनुपर्नेछ । सो रकम भुक्तानी गर्दा अनिवार्य रूपले कर कट्टी गर्नुपर्नेछ । यसबाहेक सुनचाँदी, हीरामोती, विदेश टुर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम डिलर तथा उपभोक्ताका लागि राख्न पाइने छैन ।’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सिमेन्ट नगदमा मात्र बिक्री गर्ने गरी निर्णय गरिएको बताए । उक्त निर्णय साउनबाट लागू भएकाले बजारमा राम्रै प्रभाव पर्न थालेको उनको भनाइ छ ।

समग्रमा डन्डीको मूल्य घटेको छ । डन्डीको मूल्य घटबढ भइरहेको ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ‘समग्रमा फलामको मूल्य बढ्ने, घट्ने क्रम जारी छ,’ उनले भने, ‘सरकारी निकायबाट प्रभावकारी अनुगमन नहुँदा भने समस्या भएको छ ।’ मूल्यमा एकरूपता नभएको उनको भनाइ छ । ‘आफूखुसी मूल्य बढाउने गरिएको छ,’ उनले भने । बजारमा डन्डीको माग २५ प्रतिशत पनि छैन । कोरोना र लकडाउनले गर्दा समस्या भएको छ । घर निर्माण कम छ । आयोजना, सार्वजनिक भवन निर्माणको काम भइरहेकाले ती ठाउँमा बढी माग छ । मुरारका भने बजारमा डन्डीको मूल्य घटेको बताउँछन् । जेठपछि किलोमा ३ देखि ४ रुपैयाँ घटेको छ ।

प्रकाशित : श्रावण २२, २०७७ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?