२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सलहले खोस्यो गाँस

भेरीगंगा–१३ मा ५६३ घरको ३५०० सय रोपनीमा लगाइएको मकैबालीमा पूर्ण क्षति
किसान भन्छन्, ‘मकैबारीमा जाँदा उराठ लाग्छ, चिन्ताले सताउँछ ।’
कलेन्द्र सेजुवाल

(रामघाट, सुर्खेत) — भेरीगंगा नगरपालिका–१३, रामघाटकी मनकली सुनारले दुई रोपनी जग्गामा मकै लगाएकी थिइन् । राम्ररी फलेको भए उनको ६ जनाको परिवारलाई जेनतेन दुई महिना खान पुग्थ्यो । तर साउन पहिलो साता आएको सलहले त्यही गाँस पनि खोसिदियो ।

सलहले खोस्यो गाँस

‘घोगा लाग्ने बेला सलह आएर बारीभरि छपक्कै बसे, भर्खर टुसाएका कोसा पनि खाइदिए,’ उनले भनिन्, ‘मकैका बोटजति काटेर घाँस बनायौं, अब के खाएर बाँच्ने हो थाहा छैन ।’

साउन ३ र ४ गते आएको सलहको ठूलो हूलले मनकली जस्तै भेरीगंगा–१३ का रामघाट, सीतापुर, करेली, बेलचौर र रामपुर गाउँका थुप्रै किसानको गाँस खोसेको छ । ५ सय ६३ घरको करिब ३ हजार ५ सय रोपनीमा लगाइएको मकैबाली पूर्णरूपमा क्षति गरेको वडा कार्यालयको भनाइ छ । टोल विकास संस्थाबाट १ हजार ९ सय ८२ क्विन्टल मकै क्षति भएको विवरण प्राप्त भएको वडाध्यक्ष टीकाराम सुवेदीले बताए । ‘यहाँका मान्छेको बाँच्ने आधार भनेकै मकै हो, त्यही पनि खाइदिएपछि ठूलो चिन्ता थपिएको छ,’ उनले भने, ‘हामीले संकलन गरेको विवरण नगरपालिका र प्रदेश सरकारलाई दिने सोच त बनाएका छौं । तर राहत पाइने/नपाइने थाहा छैन ।’

भेरीगंगा–१३ मा सिँचाइ सुविधा छैन । मकै यहाँको प्रमुख अन्नबाली हो । त्यही बाली पनि सलहले नष्ट गर्दा स्थानीय चिन्तित छन् । सीतापुरका दुर्गबहादुर डाँगीले आफ्नो ५ रोपनीमा लगाएको मकैमा एउटै घोगा पनि सद्दे नरहेको बताए । उनका अनुसार सलहले मकैको धानेबाल र चमरा खाइदिएपछि घोगामा दाना भरिएका छैनन् । मुस्किलले लागेका दाना पनि चाउरिएका छन् । ‘हेर्दाहेर्दै सलह आएर मकैबारीमा ढपक्कै भए, थाल जति ठटाए पनि गएनन्,’ उनले भने, ‘दुई दिनसम्म बारीमा बसेका सलहलाई टुलुटुलु हेरिरह्यौं, अहिले आएर मकैको यस्तो बिजोग देख्नुपर्‍यो ।’

सोही गाउँकी धनसरा भण्डारीले मकैबारीमा पस्दा उराठ लाग्ने गरेको बताइन् । उनका अनुसार पोहोर साल यतिबेला मकैका बोटमा ठुल्ठूला घोगा लाग्थे, गाउँलेहरू घोगा भाँचेर पोलेर खान्थे । अहिले पोल्नलाई पनि घोगा नरहेका उनले दुःखेसो पोखिन् । ‘बारीभित्र पस्यो भने मकैका बोट देखेर चिन्ता लाग्छ, पहिलोपटक बेसाहा गर्नुपर्ने भयो भन्ने कुराले मन कुँडिन्छ,’ उनले भनिन्, ‘मेरो बारीका मकैमा त पात पनि बाँकी रहेनन्, कम्तीमा पात भए गाईभैंसीलाई घाँस दिन त हुन्थ्यो ।’

कर्णाली प्रदेश सरकारको प्रदेश कृषि विकास निर्देशनालयका अनुसार साउन पहिलो साता कर्णालीमा भित्रिएको सलहको ठूलो समूहले सबैभन्दा बढी क्षति भेरीगंगा–१३ को रामघाट क्षेत्रमा पुर्‍याएको छ । धेरै बोटमा घोगा नलागेका र लागेका घोगा पनि चाउरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले जानकारी दिए । ‘मुस्किलले लागेको घोगामा पनि गेडा थोते छन्, मकैको वृद्धि–विकास हुने बेला सहलले पात र धानचमरा खाँदा यति ठूलो क्षति भएको हो,’ उनले भने, ‘क्षतिको असर अहिले आएर घोगामा देखिएको छ ।’ रामघाटका साथै मटेला, दशरथपुर, लेकबेंसीमा पनि सलहले ठूलो क्षति पुर्‍याएको उनले बताए ।

वडा कार्यालयका अनुसार यहाँको कुल खेतीयोग्य जमिनमध्ये करिब २० हजार ५ सय रोपनीमा मकै र २ सय ७० रोपनीमा धान लगाइएको छ । केही जग्गामा कोदो पनि लगाइएको छ । सलहले धानमा खासै क्षति नगरे पनि कोदोलाई मकैजत्तिकै क्षति पुर्‍याएको छ । बेलचौरकी उमा मल्लले आफ्नो १२ रोपनीमा लगाएको मकै र रहरले लगाएको कोदो खाएको बताइन् । ‘पहिले त घरलाई खान पुगेर बेच्ने पनि गर्थ्यौं,’ उनले भनिन्, ‘अहिले बेसाहा गर्नुपर्ने भयो, यस्तो दुःख त कहिले पनि हुन्थेन ।’

कर्णालीमा सलह प्रवेश गर्ने बित्तिकै निर्देशक रोकाया कृषि प्राविधिकसहित रामघाट गएर किसानलाई सलह भगाउने उपाय सिकाएका थिए । त्यसको केही दिनपछि प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी पनि रामघाट पुगेकी थिइन् । मन्त्री र कर्मचारीले आफ्ना पीडा सुने पनि राहतबारे ठोस जवाफ नपाएको किसान बताउँछन् । ‘हामीलाई राहत नगरपालिकाले दिन्छ कि सरकारले दिन्छ थाहा छैन, जताबाट भए पनि व्यवस्था गरिदिए हुन्थ्यो,’ दुर्गबहादुरले भने, ‘कोरोनाले काम गर्न नदिएर रोजीरोटी खोसेको बेला सलहले मकै सखाप पारेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ ।’ कृषिमन्त्री केसीले ‘राहतको व्यवस्था गरौंला’ भनेर आश्वासन दिए पनि अहिलेसम्म सरकारले चासो नदिएको उनले गुनासो गरे ।

जग्गा कम भएका विपन्न किसानलाई यसको मार अझ बढी परेको छ । उनीहरूका लागि कोरोनाभन्दा सलह काल बनेर आएको छ । परिवारका ६ जना सदस्यका अभिभावक बेलचौरका गोपीलाल सुनार बर्सेनि कामको लागि भारत जान्छन् । यसपटक कोरोना कहरले भारत जाने बाटो बन्द गर्‍यो । घरमा लगाइएको मकै पनि सलहले खाइदियो । उनले १ रोपनी ऐलानी र १ रोपनी नम्बरी जग्गामा मकै लगाएका थिए । ‘गरिबलाई दुःखमाथि दुःख हुँदो रहेछ, यस्तो बेला पनि के–कस्तो छ भनेर सोधखोज गर्न कोही आउँदैनन्,’ उनले भने, ‘दुःख परेको बेला सहयोग नगर्ने सरकार हाम्रा लागि कहिले काम लाग्ला ?’ वडा नम्बर १३ को पूरै क्षेत्र र वडा नम्बर ११ को गोठेरीमा सलहले क्षति पुर्‍याएको भेरीगंगा नगरपालिकाका नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले जानकारी दिए । वडाबाट क्षतिको विवरण आएपछि राहतबारे निर्णय गर्ने उनको भनाइ छ ।

प्रदेश र संघीय सरकारलाई समेत आवश्यक राहत सहयोग गर्न उनले आग्रह गरे । कसरी भयो क्षति ? प्रदेश कृषि विकास निर्देशक रोकायाका अनुसार सलहले मकैको पात, धानेबाल (भाले फूल) र चमरा (पोथी फूल) मा क्षति पुर्‍याएको छ । सलहले पात खाइदिँदा प्रकाश संश्लेषण प्रक्रियामा असर पुगी मकैको वृद्धि–विकासमा असर परेको उनको भनाइ छ । ‘यसले गर्दा मकैको बोट सुक्ने, लागेका घोगा पनि विकास नहुने भएको छ,’ उनले भने, ‘बिरुवाको पातै नभएपछि खाना बन्ने प्रक्रिया अवरुद्ध हुन्छ, सलहको प्रकोपबाट सबैभन्दा बढी क्षति यही तरिकाबाट भएको छ ।’ सलहले मकैको धानेबाल र चमरा खाइदिँदा परागसेचन प्रक्रियामा असर परेको छ । धानेबालमा रहेको पराग झरेर चमरामा पुगेपछि बल्ल घोगा बन्छ । सलहले यी दुवै खाइदिएपछि घोगा बन्ने प्रक्रिया रोकिएको उनले जानकारी दिए । ‘अधिकांश मकैका डाँठ (बिरुवा) मा घोगा छैनन्,’ उनले भने, ‘लागेको घोगा पनि सुकेका छन् ।’ परिपक्व भइनसकेको सलहका कारण पनि धेरै क्षति हुन पुगेको उनको भनाइ छ । परिपक्व हुनुभन्दा अगाडिको ‘स्टेज’ को सलहलाई प्रोटिन (खाना) को मात्रा धेरै चाहिने भएकाले किसानले जति धपाउँदा पनि बालीबाट नउठेको रोकायाले बताए ।

प्रकाशित : श्रावण २१, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?