१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बैंकको ध्यान सेयर कर्जामा

बजारमा तरलता धेरै भएका बेला बैंकहरुले कर्जा प्रवाह हुने सम्भावित क्षेत्र खोजिरहेका छन्
यज्ञ बञ्जाडे

काठमाडौँ — गत साता एक वाणिज्य बैंकका शाखा प्रबन्धकले एक सेयर ब्रोकरलाई फोन गरेर सेयर धितोमा कर्जा लिने लगानीकर्ता पठाइदिन अनुरोध गरे । ती ब्रोकरको सिफारिसमा आएका मानिसलाई बैंकले ८.६० प्रतिशत ब्याजदरमा सेयर कर्जा प्रदान गर्ने उनले बताएका थिए ।

बैंकको ध्यान सेयर कर्जामा

पहिलो फोन आएको एक घण्टाभित्रै ती ब्रोकरलाई सोही बैंकको अर्को शाखा प्रबन्धकले फोन गरेर ८.५० प्रतिशतमा कर्जा दिने वाचा गरे । दोस्रो फोन आएको एक/डेढ घण्टापछि फेरि सोही बैंकको अर्को शाखा प्रमुखले टेलिफोन गरी सेवा शुल्कसहित ९ प्रतिशतमा कर्जा उपलब्ध गराउने बताए ।

यो त, एकै दिन एक बैंकका फरकफरक शाखा प्रबन्धकसँग भएको टेलिफोनको विवरण मात्र हो । अचेल सेयर ब्रोकर र लगानीकर्तालाई हरेक दिनजसो बैंक तथा वित्तीय संस्थाबाट यस्तो फोन आउने गरेको छ । एकातिर अर्थतन्त्रका अन्य क्षेत्रमा लगानीको अवसर नभएको र अर्कोतिर बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएकाले बैंकहरूको ध्यान सेयर कर्जातिर गएको जानकारहरू बताउँछन् ।

बजारमा तरलता धेरै भएका बेला कर्जा प्रवाह हुन सक्ने सम्भावित क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले प्रयास गर्नु स्वाभाविकै हो । तर एउटै व्यक्तिलाई कर्जा प्रवाह गर्न एकै बैंकका शाखा प्रबन्धकबीच चलेको यो प्रतिस्पर्धाले बैंकहरू लगानी गर्न कति आतुर छन् भन्ने पुष्टि हुन्छ । ‘बैंकमा पैसा थुप्रिएको छ, नयाँ कर्जाको माग छैन, अनि के गर्नु त,’ एक बैंकका शाखा प्रबन्धकले भने, ‘अब त कम मार्जिनमा भए पनि कर्जा प्रवाह गरे नै जितिन्छ ।’ त्यसैले बैंकहरूबीच प्रतिस्पर्धा तीव्र भएको उनले बताए । ‘आफ्नै बैंक भनेर भएन, हरेक शाखाको टार्गेट हुन्छ, जसरी पनि पुर्‍याउनैपर्‍यो,’ उनले भने ।

अहिले सेयर कर्जाको ब्याजदर पाँच वर्षयताकै कम भएको बैंकरहरू बताउँछन् । यसअघि ०७२ सालको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीपछि सेयर कर्जाको ब्याजदर एकल अंकमा झरेको थियो । अहिले पुनः त्यही अवस्था आएको उनीहरूको दाबी छ । तुलनात्मक रूपमा सेयर कर्जाको जोखिम भार बढी भए पनि नउठ्ने सम्भावना न्यून हुन्छ । बजार धेरै घटेपछि फोन गरेर पैसा थप्न लगाउने (मार्जिन कल) गर्न पाइने, परिपक्वको अवधि कम हुन्छ । यसकारण पनि असुली नहुने सम्भावना कम हुने बैंकहरू बताउँछन् ।

पछिल्लो एक/डेढ महिनायता बैंकहरूको ध्यान सेयर बजारमा गएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले पनि स्विकारे । ‘सिस्टममा पर्याप्त तरलता छ, लगानीको नयाँ क्षेत्र छैन, यसकारण केही सम्भावना देखिएको सेयर कर्जातिर बैंक लागेका हुन्,’ उनले भने, ‘लकडाउनपछि खुलेको बजार केही बढेकाले पनि उक्त क्षेत्रमा सम्भावना देखिएको हो ।’ बैंकहरूले एकल अंकको ब्याजदरमा सेयर धितोमा कर्जा प्रवाह गर्न थालेको पनि उनले बताए ।

एक/दुई महिनायता सेयर धितोमा कर्जाको ब्याजदर औसतमा ३० देखि ३५ प्रतिशत घटेको लगानीकर्ता बताउँछन् । ‘यसअघि सेयर धितोमा लगानी नगर्ने ठूला वाणिज्य बैंक पनि सेयर कर्जाकै लागि छुट्टै प्रडक्ट बनाएर बजार आएका छन्,’ नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिका पौडेलले भने, ‘एक/दुई दिनमा ८ देखि ९ प्रतिशत ब्याजदरमै ऋण पाइन्छ ।’

लकडाउन हुनुअघिसम्म १३/१४ प्रतिशत ब्याजदरमा सेयर धितोमा कर्जा पाइन्थ्यो । अहिले ८ देखि ९ प्रतिशतसम्ममा झरेको छ । ब्याजदर कम भएकै कारण लकडाउनपछि खुलेको नेप्से करिब ११ सय हाराहारीबाट बढेर १४ सय पुगेको पौडेलको दाबी छ । ‘अहिले ब्याजदर कम भए पनि कोरोना जोखिम बढ्दै गएको र फेरि लकडाउनको आशंकाले लगानीकर्ताले ठूलो आँट गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘परिस्थिति सहज हुनासाथ बजार बढेर धेरै माथि जाने निश्चित जस्तै छ ।

सेयर धितोमा प्रवाह गरिने कर्जाको ब्याज घटेर पाँच वर्षअघिकै अवस्थामा पुगेको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए । ‘बैंकले आधार ब्याजदर (बेस रेट) मै कर्जा दिन्छु भन्दै छन्,’ उनले भने, ‘विकास बैंकले समेत एकल अंकमा सेयर कर्जा दिन थालेका छन् ।’ कम ब्याजदरमा कर्जा उपलब्ध भएकै कारण सेयर बजारमा दैनिक कारोबार रकम बढेको उनले जानकारी दिए । ‘ब्याजदरको अवस्था यस्तै रहे कोरोना जोखिम सकिएलगत्तै सेयर बजार उच्च अंकले बढ्छ,’ उनले भने ।

गत जेठसम्म सेयर धितो कर्जामा बैंक तथा वित्तीय संस्थाले ४७ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवको सोही अवधिको तुलनामा गत आवको ११ महिनासम्म यस्तो कर्जा करिब ५ प्रतिशत बढेको हो । ०७६ जेठसम्म सेयर धितोमा ४५ अर्ब ४१ करोड रुपैयाँ लगानी भएको थियो । यो सेयर धितो शीर्षकमै प्रवाह भएको कर्जा हो । यसबाहेक पनि ओभरड्राफ्टमार्फत कर्जा लिएर पनि सेयरमा लगानी गर्छन् । त्यसको तथ्यांक भने राष्ट्र बैंकसँग पनि छैन । जेठभन्दा पछि सेयर कर्जामा बैंकले धेरै लगानी गरेका छन् । यस्तो कर्जाको तथ्यांक पनि उपलब्ध छैन ।

चालु आवको मौद्रिक नीतिमार्फत राष्ट्र सेयर धितो कर्जाको सीमा पनि बढाएको छ । नयाँ व्यवस्थाअनुसार सेयर धितो राखी प्रवाह हुने कर्जामा वित्तीय संस्थाले धितोको ७० प्रतिशतसम्म प्रदान गर्न पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यस्तै सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्यांकन गर्दा विद्यमान १ सय ८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ, त्यसैका आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १ सय २० दिन बनाइएको छ । यो व्यवस्थाले पनि लगानीकर्ताले एउटै धितोमा पनि पहिलेभन्दा धेरै कर्जा लिन पाउँछन् । सोमबारसम्म वित्तीय प्रणालीमा झन्डै सवा २ खर्ब रुपैयाँ अधिक तरलता छ । नयाँ कर्जा माग नभएपछि वित्तीय प्रणालीमा अधिक तरलता थुप्रिँदै गएको हो ।

प्रकाशित : श्रावण २१, २०७७ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?