कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दूधमा फ्याट कम, दहीमा कोलिफर्म भेटियो

डीडीसीकै दूध र दही पनि न्यून गुणस्तरका
राजु चौधरी

काठमाडौँ — सर्वसाधारणले दैनिक प्रयोग गर्ने दुग्ध पदार्थमा व्यापक खेलबाड भएको पाइएको छ । दुग्ध पदार्थ प्रशोधन र सरसफाइमा पर्याप्त ध्यान नदिँदा दहीमा कोलिफर्म र दूधमा हुनुपर्ने गुणस्तर कम देखिएको हो ।

दूधमा फ्याट कम, दहीमा कोलिफर्म भेटियो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ५/६ महिनाअघि विभिन्न डेरीबाट संकलन गरेको दूध र दहीको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । दुग्ध पदार्थमा कोलिफर्म भेटिएको र गुणस्तर पनि भनेअनुसार नपाइएपछि उद्योगीसँग बयान लिन र मुद्दा चलाउन गत असार १५ मा निरीक्षक अधिकृतसमेत तोकिएको छ ।

परीक्षणका क्रममा निजी डेरीसँगै सरकारी दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादनमा पनि कैफियत भेटिएको विभागको प्रतिवेदनमा उल्लेख छ । विभाग स्रोतका अनुसार डीडीसीको बालाजु प्लान्टबाट दहीको नमुना संकलन गरिएको थियो । नमुना परीक्षण गर्दा दहीमा कोलिफर्म भेटिएको हो । कोलिफर्म शून्य नै हुनुपर्छ । तर प्रायः नमुनामा कैफियत देखिएको विभागका एक अधिकारीले बताए । बालाजु प्लान्टबाट दूधको पनि नमुना संकलन गरिएको थियो । दूधमा पनि कम फ्याट देखिएको ती अधिकारीले जनाए । ‘दूधमा फ्याटको मात्रा ३ हुनुपर्नेमा २.९ मात्रै देखियो । संकलित नमुनाको ठोस पदार्थ ८ हुनुपर्नेमा ७.७ मात्रै छ,’ उनले भने । विभागले डीडीसीकै फुल क्रिम मिल्क (हरियो प्याकेट) दूधको पनि नमुना लिएको थियो । त्यसमा पनि फ्याटको मात्रा कम देखिएको छ । ‘हरियो प्याकेटको दूधको फ्याटको मात्रा ५ प्रतिशत हुनुपर्नेमा ४.७ प्रतिशत मात्रै भेटियो,’ ती अधिकारीले भने ।

डीडीसीकै लैनचौर कार्यालयबाट पनि दहीको नमुना संकलन गरिएको थियो । उक्त नमुनामा पनि कोलिफर्म देखिएको विभागको प्रतिवेदनमा उल्लेख छ । ‘दहीमा कोलिफर्म शून्य हुनुपर्नेमा प्रतिग्राम दहीमा १३ हजार सीएफयूसम्म भेटियो,’ विभागका ती अधिकारीले भने ।

कच्चा पदार्थ र प्रशोधनपछि पनि त्यस्तो समस्या हुन सक्ने डीडीसीका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले स्विकारे । ‘त्यसका विभिन्न स्रोत छन् । हावाबाट पनि हुन सक्छ । ठाउँ, परिस्थिति र उपकरणहरूका कारण पनि समस्या हुन सक्छ,’ उनले भने, ‘दूधको नमुना लिँदा पनि फरक पर्न सक्छ ।’ ती कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको स्रोतको दाबी छ । विभागले सीताराम गोकुल मिल्कबाट पनि दूधको नमुना संकलन गरेको थियो । उक्त उद्योगले उत्पादन गरेको दूधमा पनि ठोस पदार्थ कम भेटिएको थियो । ‘ठोस पदार्थ ८ हुनुपर्नेमा ७.८ मात्रै भेटियो,’ विभागका अधिकारीले भने । सीताराम गोकुल मिल्कका सञ्चालक सुमित केडिया हुन् । उनी डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष हुन् । विभागले नेपाल डेरीबाट पनि दहीको नमुना संकलन गरेको थियो । उक्त नमुनामा पनि कोलिफर्म देखिएको विभागले जनाएको छ । नेपाल डेरीका सञ्चालक अरनिको राजभण्डारी हुन् । उनी डेरी उद्योग संघका निवर्तमान अध्यक्ष हुन् । पाटनमा रहेको राजधानी डेरीको दहीको नमुना परीक्षण गर्दा पनि कोलिफर्म भेटिएको विभागको दाबी छ । ‘त्यहाँका नमुनामा प्रतिग्राम ३८ सय कोलिफर्म देखियो,’ विभागका ती अधिकारीले भने । राजधानी डेरीका सञ्चालक राजकुमार दाहाल हुन् । उनी डेरी उद्योग संघका अध्यक्ष हुन् ।

कोलिफर्म ई–कोलाई र नन ई–कोलाई गरी दुई प्रकारका हुने डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले बताए । अन्तर्राष्ट्रिय मान्यताअनुसार विदेशमा ५ देखि १० सम्मलाई खानयुक्त मानिएको उनको दाबी छ । यद्यपि नेपालको हकमा शून्य नै हुनुपर्ने उनको भनाइ छ । विभागका अनुसार बालाजुमा रहेको पुष्प डेरीबाट संकलित दहीमा पनि कोलिफर्म थियो । उक्त नमुनामा प्रतिग्राम ५१ सय सीएफयूसम्म भेटिएको विभागको दाबी छ । भद्रकाली डेरी फर्मबाट संकलित नमुनामा पनि कोलिफर्म, चपलीमा रहेको हाम्रो डेरी उद्योग (एचडी डेरी) बाट संकलित दहीको नमुनामा प्रतिग्राम ६८ हजार सीएफयूसम्म कोलिफर्म रहेका जनाएको छ ।

दुग्ध पदार्थमा कोलिफर्म भेटिनुमा मुख्य कारण सरसफाइकै अभाव रहेको विभागका निरीक्षक अधिकृत ईश्वर सुवेदी बताउँछन् । यसले झाडापखाला, पेट दुख्नेलगायत समस्या हुन्छ । ‘कैफियत भेटिएको छ,’ सुवेदीले भने, ‘बयानका लागि पत्र पठाइसकेका छौं । त्यसपछि मुद्दा चलाउँछौं ।’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले पनि ढिलाचाँडो त्यस्ता कैफियत भेटिएका डेरीलाई कारबाही हुने बताए ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?