२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मेलम्ची आयोजना : जसको दोष, उसैलाई जिम्मेवारी

ऋषिराम पौड्याल

काठमाडौँ — पानी पठाएर परीक्षण गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका असार ३० गते भत्कियो । पानीले चार कर्मचारी बगाएकामा एक इन्जिनियरको मृत्यु भयो । एक कर्मचारी अझै बेपत्ता छन् । घटना छानबिनका लागि खानेपानी मन्त्रालयले समिति बनायो ।

मेलम्ची आयोजना : जसको दोष, उसैलाई जिम्मेवारी

छानबिनमा निर्माण व्यवसायी, परामर्शदाता र आयोजनाको लापरबाही भएको निष्कर्ष निकालियो । सुरुङमा ढोका नै उल्टो जडान गरेको निष्कर्ष छानबिन प्रतिवेदनले तयार पारेको छ । घटनामा न कोही दोषी भेटिए, न त कोही कारबाहीका भागीदार । बरु दोषीमाथि कारबाही गर्नुको साटो जसले सुरुङको ढोका नै उल्टो जडान गर्‍यो, उसैले अहिले ‘रि–डिजाइन’ गरेर निर्माण तालिका बनाउन सुरु गरेको छ । निर्माण कम्पनीले लकडाउनका कारण प्राविधिक ल्याउन नसक्दा दुर्घटना भएको प्रस्टीकरण दिएको छ ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार भारतीय निर्माण कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडले काम सुरु गरिसकेको हो । यही कम्पनीले उल्टो ढोका जडान गर्दा दुर्घटना भएको हो । छानबिन प्रतिवेदनमा ढोकाको जडान उल्टो गरेको र प्राविधिक परामर्शबिना नै प्रेसिजन इन्फ्राटेकको लापरबाहीले नट–बोल्ट खुस्किएको प्रस्ट रूपमा उल्लेख छ । ‘अहिले कारबाहीभन्दा पनि काम गर्ने कुरा हो । निर्माण व्यवसायी र परामर्शदातालाई ‘डि–मोटिभेट’ गर्नु पनि भएन,’ खत्रीले भने, ‘उनीहरूले गल्ती भएको स्वीकार गरिसकेका छन् ।’

भौतिक र मानवीय क्षतिभन्दा आयोजनाको निर्माण महत्त्वपूर्ण रहेको ठहर गर्दै घटनाका दोषीलाई उन्मुक्ति पाउने निश्चित भएको स्रोतको दाबी छ । प्रतिवेदनमा लापरबाही गरेको उल्लेख भए पनि कारबाहीको कुनै प्रक्रिया सुरु नगरी ढोकाको डिजाइन र जडानका लागि सोही कम्पनीलाई जिम्मेवारी दिनुले घटनालाई सामान्यीकरण गर्न खोजिएको अनुमान आयोजना क्षेत्रबाट निर्वाचित सांसद शेरबहादुर तामाङले गरे । ‘घटनालगत्तै निष्पक्ष छानबिन र कसै न कसैले जिम्मेवारी लिनुपर्ने सुझाव दिएका हौं,’ उनले भने, ‘यस्ता हरेक घटनामा दोषी कोही नहुने हो भने भोलिका दिनमा लापरबाही बढ्ने खतरा छ ।’

आयोजनाको परामर्शदाताका रूपमा स्पेनको इप्टिसा बेट्स जेभी कम्पनी रहेको छ । आयोजनाको डिजाइन, जडान, अनुगमनलगायतका प्राविधिक विषयको ‘सुपरभिजन’ को जिम्मेवारी परामर्शदाताको हो । निर्माण कम्पनी प्रेसिजन इन्फ्राटेकले लकडाउनका कारण प्राविधिक रूपमा पर्याप्त सुपरभिजन नपुगेको स्पष्टीकरण सरकारलाई दिएको छ । राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरूले घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका थिए । मन्त्रालयका प्रवक्ता तथा सहसचिव रितेशकुमार शाक्यले सबै कामको जिम्मेवारी आयोजनालाई नै दिएको जानकारी दिए । ‘मन्त्रालयले अनुगमन मात्र गर्ने हो,’ उनले भने, ‘कार्यान्वयनको काम आयोजनाकै हो ।’

प्रतिवेदनमा सिन्धुपाल्चोकको हेलम्बु मुहानबाट ५० मिटर उचाइको पानीको प्रेसर थेग्न सक्ने डिजाइन गरिएकामा पानीको उचाइ १६ मिटरमा नै ढोका खुलेपछि गम्भीर त्रुटि भएको उल्लेख गरिएको छ । सहसचिव रमाकान्त दुवाडीको संयोजनमा हाइड्रोमेकानिक क्षेत्रका विज्ञहरूसमेत समावेश गरेर छानबिन समिति बनाइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन र आयोजनाका अन्य कामको सम्बन्धमा छानबिन सुरु गरेको छ । घटनालगत्तै आयोगमा आयोजनाका सबै संरचनाको गुणस्तर जाँच गर्नुपर्ने मागसहितको उजुरी परेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीले छानबिन सुरु भएको जानकारी दिए ।

हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्मको सुरुङ निर्माण १२ वर्षअघि सुरु भएको हो भने आयोजनाका लागि करिब २९ अर्ब खर्च भइसकेको छ । पहिलो चरणमा मेलम्ची खोलाबाट १७ करोड र दोस्रो चरणमा स्थानीय याङ्ग्री र लार्के खोलाबाट क्रमशः १७/१७ करोड गरी दैनिक ५१ करोड लिटर पानी राजधानी ल्याउने योजना रहेको छ । दोस्रो चरणको निर्माणको डिजाइन तयार भइसकेको छ ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?