कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जनै बनाउँछन् महिला

३ लाखबाट सुरु भएको उद्योगमा २५ लाख रुपैयाँ लगानी पुगेको छ ।
सन्जु पौडेल

तिलोत्तमा — बुटवल उपमहानगरपालिका–४ राम मन्दिर लाइनमा श्रीमतीका नाममा उद्योग सञ्चालन गरेका बुद्धिप्रसाद शर्मा पाण्डेयले रोजगारीका लागि महिलालाई अवसर दिएका छन् । उनको धागो उद्योगमा रक्षाबन्धनको धागो बनाउने, लक्ष्यबत्ती कात्ने, प्याकिङ गर्ने सबै काम महिलाले गर्छन् ।

जनै बनाउँछन् महिला

‘घरको काम सकेर फुर्सदमा काम गर्न चाहने ब्राह्मण महिलालाई आम्दानी होस् भन्ने हिसाबले रोजगारी दिएको हुँ,’ सञ्चालक पाण्डेयले भने, ‘उद्योगमै आएर काम गर्ने ७ जना छन् भने घरमै बसी काम गर्नेको संख्या १ सयभन्दा बढी छ ।’ उनीहरूलाई दैनिक ज्यालादारीमा पिसको हिसाबले पारिश्रमिक दिने गरेको उनले बताए । कामदारमध्ये एक जनाले मासिक १२ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनले सुनाए ।

राधा धागो उद्योगको विशेषता नै नक्कली जनैदेखि सावधान भन्ने ट्यागसहित विधिपूर्वक जनै तयार पार्ने रहेको उनले बताए । जनै शास्त्रअनुसारको विधिसम्मत हुन्छ । ३ सरा र त्यसलाई तेब्य्राइ ९ सरा बनाउँदा अलग–अलग बाटिएको हुन्छ । प्रत्येक जनैमा पाँच शिखा हुन्छन् । जनै मन्त्रँदा सप्तऋषिलाई तर्पण दिई प्रत्येक डोरामा हुने नौ सराका तन्तु देवता र शिखामा ब्रह्मा, विष्णु, महेश र जगत् जननीको पूजा गरी गायत्री मन्त्रद्वारा पूजा गरिन्छ । ‘शास्त्रअनुसार ती देवता र पाँच शिखाको बन्धनले जनै लगाउनेको रक्षा हुने भनिएकाले यहाँ उत्पादित जनै त्यसैअनुसार उत्पादन गरिएको छ,’ उनले भने । उद्योगमा उत्पादित जनैलाई विधिवत् पूजा गरी बिक्रीका लागि पठाउने गरेको पाण्डेयले बताए । ०५८ सालमा उनले राधा धागो उद्योग खोलेका थिए । त्यसको उद्देश्य ‘शास्त्रीय विधिअनुसार बत्ती कात्ने धागो र जनै उत्पादन गर्ने’ थियो । अध्यापन पेसाबाट अवकाश पाएपछि संस्कार जोगाइराख्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उनले बताए । ‘भारतबाट आउने जनै, धागो र रक्षाबन्धन विधिपूर्वक बनाइएका कमै हुन्छन्,’ उनले भने, ‘धर्म, संस्कृतिअनुसार विधि नपुगेका जनै लगाउनुले अर्थ राख्दैन ।’

१९ वर्षअघि स्थापना भएको आफ्नो धागो उद्योगले नेपाली बजारको ७० प्रतिशत स्थान ओगटेको उनले बताए । यहाँ उत्पादित जनै सबैभन्दा पहिले सेना र प्रहरीका पण्डितले प्रयोग गरेका थिए । क्रमैसँग जनै, धागो र रक्षाबन्धन पूर्वको झापा, पश्चिमको धनगढीसँगै काठमाडौं, पोखरा, गुल्मी, अर्घाखाँची, दाङ, नेपालगन्जसम्म पुग्ने गरेको छ । सिधै विदेश नपठाए पनि आफ्नो उद्योगको ट्याग भएका जनै र धागो व्यापारीमार्फत जर्मनी, बेलायत, थाइल्यान्ड, बर्मासम्म पुग्ने गरेको उनले बताए ।

३ लाख रुपैयाँबाट सुरु भएको उनको उद्योगमा पहिले वार्षिक ३ हजार पिस जनै उत्पादन हुन्थ्यो । अहिले बढेर ६ लाखसम्म उत्पादन हुन्छ । लगानी बढेर २५ लाख रुपैयाँ नाघेको छ । सुरुमा हाते मेसिनबाट काम हुने भए पनि अहिले प्रविधियुक्त मेसिन प्रयोग गरी धेरै संख्यामा उत्पादन गर्न सकेको पाण्डेयले बताए । पछिल्लो समय बजारमा विधिविपरीत जनै तथा धागो उत्पादन गर्ने बढेको उनले गुनासो गरे । शुद्ध जनै र रक्षाबन्धन सुती धागोबाट बनेको ९ सरा हुनुपर्नेमा बजारमा नाफा कमाउने उद्देश्यले ७५ प्रतिशत पोलिस्टर मिसाइएको ३ सराको मात्रै बनाउने गरिएको उनले बताए ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?