२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

साहसिक पर्यटनमा २० करोड लगानी

बागलुङ/पर्वत — बागलुङ नगरपालिका–१४ को नेपाने भीरमा लामो समयदेखि खेतीपाती हुन छाडेको थियो । बाँदर लागेकाले किसानले मकै पनि रोप्दैनथे । गाईगोरु चराउने र वर्षायामा घाँस काट्ने काममा मात्र यहाँको सयौं रोपनी जमिन थियो । यहाँका स्थानीय खेतबारी बेचेर सहर पसेका थिए ।

साहसिक पर्यटनमा २० करोड लगानी

पाँच वर्षअघि सिन्धुपाल्चोकका राजु कार्की र उनकी श्रीमती फ्लोरेनस आएर यहाँ साहसिक खेल र व्यवसायमा लगाउने तयारी गरे । स्थानीय व्यवसायीले साथ दिएपछि अहिले बागलुङतर्फ एक सय जनासम्म पाहुना राख्ने गरी रेस्टुरेन्ट, होटल, साहसिक साइकल यात्रा, गुलेली पिङलगायत सञ्चालनमा ल्याइएको छ ।

एसियाकै अग्लो दाबी गरिएको बन्जीजम्पको छेउमा अन्य सहायक र साहसिक खेल तथा पर्यटकीय होटल सञ्चालनमा आएको हो । स्थानीय व्यवसायीसँग मिलेर बनाइएको ‘दि क्लिफ’ कम्पनीमार्फत २३ रोपनी जग्गामा व्यवसाय सञ्चालन गरेका हुन् । लकडाउनअघि परीक्षण गरिएको बञ्जी तत्काल व्यावसायिक सञ्चालन गर्न ढिलाइ भएपछि सहायक व्यवसायको थालनी गरिएको हो । ‘अझै कोरोना संक्रमणको डर रहेकाले आन्तरिक र बाहिरी पर्यटक भित्र्याउन सकिएको छैन । तर पूर्वाधार भने अधिकांश तयार भएको छ,’ कार्कीले भने, ‘५० जनालाई रोजगारी दिने र स्वास्थ्य मनोरञ्जन एवं साहसिक खेलका लागि विदेश जाने प्रवृत्ति रोक्न खोजेका हौं ।’ कम्पनीमा कार्की दम्पतीसहित स्थानीय ८ जना व्यवसायी सहभागी छन् । उनीहरूले यहाँ २० करोड लगानी गरिसकेका छन् ।

बागलुङको बलेवादेखि पर्वत सदरमुकाम कुश्मा जोड्ने बन्जीजम्पसँगै भीरमा डोरी टाँगेर गरिने साइक्लिङ र स्विङ (पुलबाटै दुई जनाले एकै पटक खेलिने अग्लो पिङ) र एकल पिङ बनाइएको हो । पानीको सतहदेखि २ सय २८ मिटर अग्लो र ५ सय मिटर लामो पुल छेउका सहायक खेल पनि २ सय ५० मिटरसम्म उचाइमा छन् । ५ सय मिटर माथिसम्म भीरमा डोरीमा साइकल कुदाउने खेल आकर्षक छ । बिहेपछि केही समय फ्रान्समै बसेका कार्की दम्पतीले नेपाल फर्केर ७ वर्षसम्म भोटेकोसीको बन्जीजम्पमा काम गरेका थिए । त्यहाँ काम गर्ने क्रममा नेपालीको संख्या बढ्दै गएपछि नेपालीबाटै साहसिक खेल चल्ने निष्कर्ष निकालेर यहाँ लगानी गरेको कार्कीले बताए । ‘अहिले २० प्रतिशत मात्रै विदेशी र ८० प्रतिशत नेपालीले बन्जी गर्छन्,’ उनले भने, ‘कोरोना कहरबाट उम्किएपछि आन्तरिक पर्यटकबाटै नेपालको अर्थतन्त्र चलायमान बनाउन सकिन्छ ।’ मुक्तिनाथ जाने विदेशी र भारतीयको पनि आकर्षणको केन्द्र बनाउने उनले योजना सुनाए ।


‘कुस्मामा प्रवेशद्वार बनाएर अधिकांश संरचना बागलुङको कैयातर्फ केन्द्रित रहेको कम्पनीका निर्देशक नेत्र पराजुलीले जानकारी दिए । कोरोना कहरका कारण अहिले बन्जी सञ्चालनमा ल्याउन नसके पनि केही समयमा व्यवसाय लयमा फर्कने उनले विश्वास गरे । खेलको छेवैमा धौलागिरि प्राविधिक शिक्षालय, बलेवा विमानस्थल र कालीगण्डकी करिडोर छन् । ती सबै संरचनाले पूर्णता पाइसक्दा दैनिक सयौं पर्यटकको गन्तव्य बन्ने निश्चित भइसकेको पराजुलीले बताए ।

यहाँका सबै साहसिक खेल खेल्दा पर्यटकले कम्तीमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म खर्चने उनीहरूको अनुमान छ । पोखरा र काठमाडौंबाट एक दिनदेखि ५ दिनसम्मका प्याकेज लिएर आउने व्यवस्थापनका तयारी गरिएको छ । पोखरामा कार्यालयसमेत खोलेर सम्पर्क बढाइएको छ । यसबाट बर्सेनि २० हजारभन्दा बढी साहसिक खेल खेल्ने पर्यटक थपिने पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदार शर्माको अनुमान छ ।

प्रकाशित : श्रावण १९, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?