चिनियाँ प्राविधिक नफर्किंदा विद्युत् उत्पादन रोकियो
पोखरा — कास्कीको मादी गाउँपालिका–२ सेतीखोलामा १२ मेगावाट क्षमताको नामार्जुङ–मादी जलविद्युत् आयोजनाको काम सकिएको चार महिना भयो । तर आयोजनाले उत्पादन सुरु गर्न पाएको छैन । चिनियाँ प्राविधिक नेपाल आउन नपाउँदा विद्युत् उत्पादन गर्न नपाइएको हो ।
आयोजनाबाट उत्पादित बिजुली साढे ४ किलोमिटर तल अपरमादी जलविद्युत् आयोजनाको स्विचयार्डमा जोडेर १३२ केभीए प्रसारण (केन्द्रीय) लाइनमा जोड्ने काम लकडाउनका कारण रोकिएको हो । आयोजनाको सबै निर्माण सकिएर ट्रान्समिसन लाइन परीक्षणसमेत भइसकेको छ । चिनियाँ प्राविधिक आएर सफ्टवेयर मिलाउने काम मात्र बाँकी छ । ‘चिनियाँ प्राविधिक आएर दुई/तीन दिन काम गरेपछि विद्युत् उत्पादन सुरु भइहाल्छ,’ आयोजनाका इन्जिनियर अमित पन्तले भने ।
नयाँ वर्ष मनाउन चीन गएका प्राविधिक कोरोनाका कारण आउन पाएनन् । यसले चैतबाटै उत्पादन गर्ने लक्ष्य लिएको आयोजना यत्तिकै छ । १२ सय ४५ मिटर लामो नहरबाट मादी नदीको पानी ल्याएर ३ सय मिटर पेनस्टक पाइपमार्फत सेतीखोलास्थित विद्युत् गृहमा पानी खसालिएको छ । हिमालयन हाइड्रोपावर लिमिटेडअन्तर्गत ५ सय ९९ संस्थापक सेयरबाट २ अर्ब २७ करोड लागतमा आयोजना बनेको हो । यसको लागत बढ्न सक्ने लेखा अधिकृत जयराम न्यौपानेले बताए ।
ग्लोबल आईएमई बैंकको संयोजकत्वमा विभिन्न पाँच बैंकबाट १ अर्ब ४७ करोड रुपैयाँ ऋण लिइएको छ । व्यावसायिक रूपमा विद्युत् उत्पादन भएपछि पब्लिक सेयर खुलाउने तयारी पनि भइरहेको न्यौपानेले जानकारी दिए । आयोजनाले ०६७ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो ।
प्रकाशित : श्रावण १९, २०७७ ०७:२५