कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नवलपरासीका उखु किसान आन्दोलित

नवीन पौडेल

परासी — तीन वर्षअगाडिको बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसान आन्दोलित भएका छन् । चिनी उद्योग सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गर्ने र सडक संघर्षमा जाने किसानको चेतावनी छ ।

नवलपरासीका उखु किसान आन्दोलित

जिल्लामा रहेका तीनवटा चिनी उद्योग सञ्चालक, किसान र प्रशासनबीच किसानलाई ०७६ माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भए पनि किसानले अहिलेसम्म भुक्तानी पाएका छैनन् । ०७४/७५ मा बेचेको उखुको भुक्तानी अहिलेसम्म नपाउँदा किसान मर्कामा छन् ।

लुम्बिनी चिनी उद्योग सुनवलले १० करोड र इन्दिरा सुगर एन्ड एग्रो इन्ड्रस्टिजले ८ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक किसान समिति नवलपरासीका अध्यक्ष यमेश यादवले बताए । पटक–पटक प्रशासनको रोहबरमा बक्यौता रकम दिने सहमति गर्ने तर किसानको रकम वर्षौंसम्म नदिने प्रवृत्ति उद्योगीले देखाएको उनको दाबी छ । ‘प्रशासन र किसानलाई पटक–पटक ढाँट्ने काम भएकाले ठगी मुद्दा दायर गर्दै छौं,’ यादवले भने, ‘उधारोमा उखु किन्ने, चिनी बेच्ने तर किसानको रकम दिन आनाकानी गर्नेविरुद्ध सडक संघर्ष र कानुनी उपचार खोज्दै छौं ।’

जिल्ला प्रशासन कार्यालयमा बक्यौता रकम भुक्तानी दिलाइदिन भन्दै किसानले प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसमक्ष ज्ञापनपत्र बुझाएका छन् । तत्काल भुक्तानी नगर्ने भए लुम्बिनी र इन्दिरा सुगर मिलका सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता गर्न किसानको माग छ । जिल्ला सरकारी वकिल कार्यालयसँग कानुनी पक्षबारे छलफल गरेर मात्र थप प्रक्रियामा जाने प्रमुख जिल्ला अधिकारी पाठकले बताए । ‘प्रहरी कार्यालयमार्फत ठगी मुद्दा दर्ता गर्न सकिन्छ । तर त्यसका लागि आवश्यक प्रमाण जुटाउन आवश्यक छ,’ उनले भने ।

प्रकाशित : श्रावण १८, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?