१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

क्षतिग्रस्त सडक बनाउन दुई अर्ब चाहिने

विमल खतिवडा

काठमाडौँ — साँफेबगर अछामका डिभिजन सडक प्रमुख ललित खनाल केही दिनयता काठमाडौंमा छन् । उनी कहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय त कहिले सडक विभाग धाउन व्यस्त छन् । अविरल वर्षासँगै झरेको पहिरोका कारण साँफेबगर–मार्तडी सडक अवरुद्ध भएको तीन साता हुन लाग्यो । सडक खुलाउने विकल्प नभेटेपछि उनी समस्या बोकेर राजधानी आएका हुन् ।

क्षतिग्रस्त सडक बनाउन दुई अर्ब चाहिने

‘पानी पर्न रोकिएको छैन, पहिरोसँगै खसेका ठूला ढुंगाका कारण सडक बन्द छ,’ उनले भने, ‘पहिरो पन्छाउने मेसिन भए पनि त्यसबाट काम सक्ने अवस्था छैन ।’ यो सडक असार २८ देखि बन्द छ । उनका अनुसार बाजुरा सदरमुकाम मार्तडी जोड्ने यो सडक बन्द भएपछि यातायात ठप्प छ ।

‘सबैभन्दा अप्ठ्यारो ताप्रिसेरा–अम्कोट–द्वारी खण्डमा छ,’ खनालले भने, ‘भित्ता कोतरेर खोल्न मिल्ने भए उहिल्यै खोलिसक्थ्यौं, भित्तातिर ठूलाठूला ढुंगा थुप्रिएर बसेका छन् ।’ अन्यत्र पहिरो सफा गरेर सडक सञ्चालन गर्न सके पनि यो खण्ड खोल्न नसकिएको उनले गुनासो गरे । यो सडक साँफेबगरबाट बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक हो । अहिले सदरमुकाम आउजाउ टुटेको छ । उनका अनुसार अहिले ‘जियो टेक्निकल’ स्टडी गर्ने विषय उठेको छ । ‘मार्तडी जोड्ने यही एउटा सडक हो,’ उनले भने, ‘त्यसैले यसको दीर्घकालीन समाधान निकाल्नुपर्छ भनेर काठमाडौं आएको हुँ ।’

समस्या साँफेबगर–मार्तडी सडकमा मात्र होइन, बाढीपहिरोले क्षति पुर्‍याएका दुई दर्जन सडक खण्ड अवरुद्ध छन् । कतै पुल त कतै सडक नै बगाएका कारण तिनमा यातायात सञ्चालन हुन सकेको छैन । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत गलेश्वरदेखि मुस्ताङसम्मका विभिन्न खण्डमा पहिरो जाँदा सडक अवरुद्ध छ । असार २५ देखि यो खण्डमा सवारी चल्न सकेका छैनन् । म्याग्दीको गलेश्वर राहुघाटको बेलिब्रिज बगाएपछि अहिले बेलिब्रिज निर्माणको काम भइरहेको बेनी–जोमसोम कोरला सडक आयोजनाका इन्जिनियर अश्विनीकुमार यादवले जानकारी दिए । यो पुल बनाउन अझै एक साता लाग्छ ।

त्यसैले गलेश्वरदेखि मुस्ताङसम्म यातायात बन्द छ । उक्त सडक खण्डको रुप्से झरनामा पर्ने पुल पनि बाढीले बगाएको छ । काभ्रेभीरमा करिब ३० मिटर सडक बगाएको उनले सुनाए । यही सडकमा पर्ने खहरे खोलामा निर्माणाधीन पुलसमेत बगाएको छ । ‘यो खण्डका आधा दर्जनभन्दा बढी ठाउँमा पहिरो खसेर सडक अवरुद्ध छ, कतै पुल बगाएकाले समस्या भएको छ,’ यादवले भने, ‘सबैतिर सडक पुनः सञ्चालन हुन करिब तीन साता लाग्छ ।’ घासादेखि लेतेसम्म ठाउँठाउँमा सडक अवरुद्ध छ । सडक विभागले पनि अहिले देशभरका विभिन्न सडक खण्डका करिब दुई दर्जन स्थानमा पहिरो गएको बताएको छ । बाढीपहिरोले अहिलेसम्म विभिन्न सडक खण्डका १ सय ५४ स्थानमा क्षति पुर्‍याएको थियो ।

बढी क्षति र समस्या अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–तातोपानी, बेंसीसहर–चामे, बेनी–जोमसोम र साँफेबगर–मार्तडी सडकमा भएको विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । ‘बेंसीसहर–चामे सडकका धेरै खण्ड अझै अवरुद्ध छन् । हाम्रा कर्मचारी पनि जान सकेका छैनन्,’ उनले भने, ‘केही ठाउँमा पुलसमेत बगाएकाले यातायात सञ्चालनमा समस्या भएको छ ।’ बाजुरा जाने बाटोमा पर्ने साँफेबगर–मार्तडी खण्डस्थित ताप्रिसेरामा घट्टेखोलाको पक्की पुल पनि बाढीले बगाएको छ ।

‘बाढीपहिरोले बिगारेका सडकको वास्तविक क्षति आइसकेको छैन,’ सापकोटाले भने, ‘केही दिनअघि गरेको प्रारम्भिक अनुमानअनुसार पुनः मर्मत गर्न २ अर्बभन्दा बढी लाग्ने देखिएको छ ।’ अहिले अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउने काम भइरहेको उनले जानकारी दिए । ‘पानी पर्ने क्रम रोकिएको छैन, जसले गर्दा पहिरो र बाढीले गर्दा सडकमा क्षति पुगेको छ,’ उनले भने, ‘पानी पर्न रोकिएपछि कहाँकहाँ कति क्षति भयो भन्ने यकिन गर्छौं ।’

प्रकाशित : श्रावण १७, २०७७ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?