कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुन तोलाको एक लाखनजिक, बजारमा ‘डेडलक’ हुने चिन्ता !

राजु चौधरी, राजु चौधरी

काठमाडौँ — पहेंलो धातुका रूपमा चिनिने सुनको मूल्य १ लाख रुपैयाँनजिक पुगेको छ । कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमै असर पुगेपछि सुनको मूल्य दैनिक उकालो लागेको छ । कोभिडकै कारण सुन उत्पादन गर्ने खानीमा श्रमिक अभाव हुँदा मूल्य बढ्नमा मद्दत पुगेको व्यवसायी बताउँछन् ।

सुन तोलाको एक लाखनजिक, बजारमा ‘डेडलक’ हुने चिन्ता !

‘लगानी सुरक्षित गर्न सबै लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । कोभिडका कारण कामदार खानी गएनन्, जाने अवस्था पनि भएन,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘माग बढ्दो क्रममा छ । कोभिडकै कारण २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा अहिले घटेर ३ हजार ५ सय टन मात्रै भएको छ ।’ महासंघले शुक्रबार प्रतितोला सुनको भाउ ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

सुनचाँदी व्यवसायीहरूकै अर्को संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले प्रतितोला ९९ हजार ५ सय रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य थप बढ्ने क्रममा रहेकाले भाउ आइतबार/सोमबारमै १ लाख रुपैयाँ नाघ्ने सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले जानकारी दिए । ‘एक साताको अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ७० अमेरिकी डलरले सुनको मूल्य बढेको छ,’ उनले भने, ‘यही क्रममा बढे एक साताभित्र प्रतितोला १ लाख रुपैयाँ नाघ्छ ।’

मूल्य दिनहुँ बढ्नुको एउटा कारण अमेरिका र चीन विवाद हो । लामो समयदेखि चलिरहेको व्यापारिक युद्ध अहिले थप बल्झिएको छ । यसका अतिरिक्त अन्तर्राष्ट्रिय बजारमा बैंकहरूले ब्याजदर घटाएका छन । केहीले शून्यमा समेत झारिसकेको महर्जनले बताए । ‘घरजग्गा र सेयर लगानीकर्ताले बैंकबाट लगानी झिकेर सुनतर्फ लगानी गरेको देखिन्छ,’ उनले भने, ‘कोभिडको भ्याक्सिन अझै बजारमा आइनसकेकाले पनि सुनको मूल्य बढेको हो ।’ व्यवसायीका अनुसार साउन १ गते अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भएको थियो । साउन १६ सम्म आइपुग्दा भाउ बढेर १९ सय ७१ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा पनि सोहीअनुसार बढेको छ । १६ दिनमा सुन प्रतितोला ६ हजार ६ सय रुपैयाँ बढेको छ ।

‘साउन १ मा प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन क्रमशः बढेर ९९ हजार ३ सय रुपैयाँ पुगेको छ,’ महासंघका पूर्वअध्यक्ष शाक्यले भने, ‘अन्तर्राष्ट्रिय बजारमा मूल्य शुक्रबार पनि तलमाथि भइरहेको छ । आइतबार पुनः बढ्ने सम्भावना देखिन्छ ।’

एक सातामा प्रतितोला ३ हजार ५ सय रुपैयाँ मूल्य बढेको व्यवसायी बताउँछन् । पछिल्लो चरणमा मूल्य बढ्नुको कारण हङकङमा देखिएको तनाव पनि हो । त्यहाँ हडताललगायत गतिविधि भइरहेका छन् । यसले पनि लगानीकर्ता सुनतर्फ आकर्षित देखिएका हुन् ।

‘अमेरिकी अर्थशास्त्रीहरूले कोभिडको भ्याक्सिन नआए पनि बीचमा एकपटक सुनको भाउ घट्ने संकेत पनि गरेका छन,’ शाक्यले भने, ‘प्रतिऔंस २ हजार पुगेपछि नयाँ टार्गेट आउन सक्छ । मूल्य एक पटक ‘पुल ब्याक’ हुन्छ । त्यो भनेको अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १७ सयसम्म पुग्ने आकलन गरिएको छ, त्यसपछि समयले परिवर्तन गर्छ ।’ मूल्य ‘पुल ब्याक’ भए नेपाली बजारमा प्रतितोला ८० देखि ९० हजार रुपैयाँसम्ममा झर्ने उनले बताए ।

‘डेडलक’ को चिन्ता

सुनको भाउमा दिनदिनै नयाँ रेकर्ड बनेपछि बजारमा ‘डेडलक’ हुने चिन्ता भएको व्यवसायी बताउँछन् । डेडलक बजार चल्न नसक्ने अवस्था हो । ‘यस्तो अवस्थामा सुन खरिदबिक्री गर्न सक्ने अवस्था हुँदैन,’ शाक्यले भने, ‘त्यस्तो अवस्था नआओस् ।’ मूल्य बढेपछि बजारमा सुनसान छ । अत्यावश्यक भएका ग्राहकले छिटफुट रूपमा पुरानो सुन बिक्री गर्न आएका छन् । गहना पसलबाट भने सुन बिक्री नभएको व्यवसायी बताउँछन् ।

सबै ग्राहक एकै पटक सुन बिक्री गर्न आए समस्या हुने आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको भनाइ छ । ‘पुराना गहना बिक्री गर्न आउने चाप बिस्तारै बढ्दै छ । भाउ एक लाख नाघेपछि थप बढ्न सक्छ,’ उनले भने, ‘एकोहोरो रूपमा मात्र आए समस्या हुन्छ ।’

प्रकाशित : श्रावण १७, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?